१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
कांग्रेस सभापति देउवानिवासमा छलफल गर्दै प्रधानमन्त्री ओलीसहितका नेताहरू । तस्बिर : प्रधानमन्त्रीको सचिवालय
२०७८ बैशाख २३ बिहीबार ०६:०९:००
Read Time : > 2 मिनेट
फ्रन्ट पेज प्रिन्ट संस्करण

बुढानीलकण्ठमा ओली–देउवा भेटवार्ता : सहकार्य गरौँ, चाँडै चुनावमा जाऔँ : ओली, सहकार्य हुँदैन, विश्वासको मत दिन्नौँ : देउवा

Read Time : > 2 मिनेट
२०७८ बैशाख २३ बिहीबार ०६:०९:००

प्रधानमन्त्री केपी ओलीले मुलुकलाई चाँडो निर्वाचनमा लैजान र त्यसका लागि सहकार्य गर्न कांग्रेससँग प्रस्ताव गरेका छन् । बुधबार पार्टी नेतासहित बुढानीलकण्ठ पुगेर विपक्षी दलका नेता शेरबहादुर देउवासँग संवाद गरेका प्रधानमन्त्री ओलीले विश्वासको मत दिन आग्रह गर्दै सत्तासाझेदारीसहित चाँडो चुनावको प्रस्ताव गरेका हुन् । 

संसद्मा विशेष अधिवेशनमार्फत २७ वैशाखमा विश्वासको मत लिने निर्णय लिएका ओलीले सहकार्यको प्रस्ताव गरे पनि कांग्रेस नेताहरूले विश्वासको मत दिन नसकिने स्पष्ट पारेका छन् । अन्य प्रस्तावमा भने प्रधानमन्त्री ओलीले लोकतान्त्रिक चरित्र देखाए ‘सोच्न’ सकिने कांग्रेस नेताको आश्वासन थियो । एमालेभित्रै खनाल–नेपाल समूहको असहयोगले ओली विश्वास मत हासिल नहुने भयमा छन् । 

कांग्रेसका एक नेताका अनुसार ओलीले देउवालाई एक्ला–एक्लै भेटको प्रस्ताव गरेका थिए । तर, देउवाले अस्वीकार गरेपछि दुवै पक्षबीच सामूहिक भेटवार्ता भएको थियो । भेटवार्ताको सुरुमै प्रधानमन्त्री ओलीले ‘लोकतान्त्रिक शक्तिहरूबीच सहकार्य’को प्रस्ताव गरेका थिए । ओलीले सहकार्यको आधार चाँडो चुनावलाई बनाएको कांग्रेसका एक नेताले बताए । संसद्मा विश्वास पाउन नसके देशलाई चुनावतिर लैजाने ओलीको रणनीति छ । 

‘लोकतान्त्रिक मूल्य–मान्यतालाई स्थापित गर्न हामी सँगसँगै लडेर आएका हौँ, हामी मिलेरै संविधान पनि जारी गरेका हौँ । संविधानको कार्यान्वयन र लोकतान्त्रिक मूल्य–मान्यताप्रति म प्रतिबद्ध छु, लोकतान्त्रिक शक्तिहरू अझै सहकार्य गरौँ,’ ओलीको भनाइ उद्धृत गर्दै वार्तामा सहभागी एक नेताले भने, ‘अब मिलेर चुनावमा जाऔँ, चाँडै चुनाव गरौँ । तपाईंहरूको प्रस्ताव के छ, भन्नुस्, बरु म पूरा गर्छु ।’ 

तर, जवाफमा कांग्रेस सभापति देउवाले कांग्रेसले विश्वास मतमा असफल बनाउने निर्णय गरिसकेको जानकारी दिएका थिए । ‘हामीले संविधान एक भएरै बनाएका हौँ, तर तपाईं संविधानको मर्म र भावनाअनुसार अघि बढ्नुभएन, बरु त्यही संविधान र लोकतन्त्रमाथि आक्रमण गर्नुभयो । सत्ताका विषयमा तपाईंसँग सहकार्य हुँदैन । विश्वासको मतमा तपाईंलाई असफल बनाउने निर्णय गरिसकेका छौँ,’ देउवाको भनाइ उद्धृत गर्दै वार्तामा सहभागी अर्का नेताले भने, ‘अहिलेको कोरोना संकटको रोकथाम, नियन्त्रण र उपचारमा तपाईं डटेर लाग्नुस्, जनताको जिउधन बचाउनुपर्नेछ, यसमा कांग्रेसले सहकार्य र सहयोग गर्छ ।’ 

जवाफमा देउवा छोटो बोलेपछि कांग्रेस नेताहरूले बोलेका थिए । वरिष्ठ नेता रामचन्द्र पौडेलले ओलीका गतिविधिको आलोचना गरे । ‘तपाईं संविधानको भावनाअनुसार चल्न सक्नुभएन । संविधान, लोकतन्त्र र लोकतान्त्रिक मूल्य–मान्यताको खिलाफमा काम गरिरहनुभएको छ । संविधान नमान्ने, सर्वोच्च अदालतलाई नमान्ने, संवैधानिक परिषद्लाई पंगु बनाउने, लोकतान्त्रिक संस्थालाई भत्काउने काम गर्नुभयो । अब हामीले तपाईंलाई के आधारमा विश्वास गर्ने ?’ छलफलमा पौडेलको ओलीलाई प्रश्न थियो । 

बैठकपछि नयाँ पत्रिकासँग कुरा गर्दै नेता पौडेलले ओलीले चाँडै चुनाव गरौँ भन्ने विषयलाई आधार बनाएर सहकार्यको प्रस्ताव गरेको बताए । ‘प्रधानमन्त्री दलबलसहित भोट माग्न आएँ भन्दै आउनुभयो, उहाँले नै धेरै बोल्नुभयो । तर, उहाँको अनुहारमा विश्वासको मत पाउँछु भन्ने कुनै आत्मविश्वास थिएन,’ नेता पौडेलले भने, ‘ओलीजीले सहकार्य गरौँ, मिलेर चुनावमा जाऔँ, चाँडै चुनाव गरौँ । तपाईंहरूको प्रस्ताव के हो, बरु त्यो म पूरा गर्छु भन्नुभयो, हामीले अस्वीकार गर्‍यौँ ।’

छलफलका क्रममा एमाले दलका उपनेता सुवास नेम्वाङले छोटो बोले पनि अरू नेता मौन बसेका थिए । एमाले संसदीय दलका उपनेता नेम्वाङले भेटमा लोकतान्त्रिक शक्तिहरूबीच सहकार्यबारे कुराकानी भएको बताए । ‘लोकतान्त्रिक शक्तिबीच सहकार्य अहिलेको आवश्यकता हो र संविधानको रक्षा र प्राप्त उपलब्धि सबैले मिलेर जोगाउनेबारे कुराकानी भयो,’ बैठकपछि नेम्वाङले सञ्चारकर्मीसँग भने । 

तर, कांग्रेस सहमहामन्त्री डा. प्रकाशशरण महतले भेटमा औपचारिक कुराकानी मात्रै भएको जिकिर गरे । ‘प्रधानमन्त्रीजीले मैले विश्वासको मत लिँदै छु, मलाई विश्वासको मत दिनुहोस् भन्नुभयो । तर, हामीले कांग्रेस विपक्षी पार्टी हो, अहिले सहयोग गर्ने अवस्था छैन भनेर स्पष्ट राख्यौँ,’ डा. महतले भने, ‘तपाईंको बोली र व्यवहार भिन्न–भिन्न छन् । तपाईं लोकतन्त्र र लोकतान्त्रिक संस्थालाई कमजोर बनाउने गलत बाटोमा लाग्नुभएको छ । अब यसलाई रोक्नुहोस् भन्यौँ ।’ ओलीले भेट मागेको भन्दै देउवाले पार्टीका शीर्ष नेताहरूलाई आफ्नो निवासमा बोलाएका थिए । सामूहिक भेट्ने भनेपछि ओली पनि उपप्रधानमन्त्री ईश्वर पोखरेल, गृहमन्त्री रामबहादुर थापा, अर्थमन्त्री विष्णु पौडेल र संसदीय दलका उपनेता सुवास नेम्वाङसहित कांग्रेस नेतासँग छलफल गर्न बुढानीलकण्ठ पुगेका थिए । भेटमा कांग्रेसका तर्फबाट सभापति देउवा, वरिष्ठ नेता पौडेल, नेता कृष्णप्रसाद सिटौला, उपसभापति विमलेन्द्र निधि, महामन्त्री डा. शशांक कोइरालालगायत सहभागी थिए । साढे ४ बजेबाट सुरु भएको छलफल करिब दुई घन्टासम्म चलेको थियो । प्रधानमन्त्री आउने भनेपछि देउवानिवासमा कांग्रेस नेताहरू अगावै जम्मा भएर बसेका थिए । 

प्रधानमन्त्री ओलीले विश्वासको मत लिने भनेपछि २७ वैशाखमा संसद्को विशेष अधिवेशन बोलाइएको छ । मंगलबार मात्रै कांग्रेसका शीर्ष नेताको बैठकले ओलीलाई विश्वासको मत नदिने, विश्वासको मत असफल बनाउन अन्य राजनीतिक दलसँग छलफल गर्ने र आफ्नै नेतृत्वमा वैकल्पिक सरकार निर्माणका लागि पहल गर्ने निर्णय गरेको थियो । 

अविश्वासको प्रस्ताव दर्ता गर्ने विषयमा संसद्मा अंकगणितको सुनिश्चितता खोजेका कांग्रेस सभापति देउवा अहिले वैकल्पिक सरकार गठन गर्ने विषयमा भने सकारात्मक देखिएका छन् । उनीनिकट एक नेताका अनुसार चाँडो चुनाव गर्ने ओलीको आश्वासनमा पर्दा व्यवस्थामाथि नै खतरा आउन सक्ने र ओलीकै पछिल्लो राजनीतिक गतिविधिका कारण पनि देउवा ओलीसँग विश्वस्त छैनन् । अहिले देउवालाई पार्टीभित्र पनि ओलीकै नेतृत्वमा चुनावमा जान नसकिने भन्दै वैकल्पिक सरकारको नेतृत्व गर्न दबाब छ । मंगलबारको शीर्ष नेताहरूको बैठकपछि देउवाले वैकल्पिक सरकार गठनका विषयमा छलफल अघि बढाउन नेताहरूलाई निर्देशन दिएका छन् ।