सरकारले निषेधाज्ञालाई कडा बनाउँदै अन्तर्राष्ट्रिय उडान रोक्ने भएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा विदेश जानेको लाइन लागेको छ । मन्त्रिपरिषद्को सोमबारको बैठकले २३ वैशाखदेखि अन्तर्राष्ट्रिय उडानमा रोक लगाउने निर्णय गरेसँगै भिड बढेको हो ।
कोरोना संक्रमणको चेन ब्रेक गर्न काठमाडौं उपत्यकामा १६ वैशाखदेखि निषेधाज्ञा गरे पनि हवाई उडान सुचारु थियो । आन्तरिकतर्फको सम्पूर्ण उडान मंगलबारबाटै बन्द गरिएको छ भने अन्तर्राष्ट्रिय उडान आगामी २३ वैशाखबाट रोकिँदै छ । अन्तर्राष्ट्रिय उडान रोकिने भएपछि नेपाल छोडेर जानेको भिड विमानस्थलमा बढेको छ । आगामी २३ वैशाखपछि उडान–तालिका भएका विमान कम्पनीहरूले पनि तालिका संशोधन गरेर अगाडि नै यात्रु उडाउन लागेका छन् ।
कोरोना संक्रमण झन् बढ्दै गएपछि सरकारले आवागमनको सम्पूर्ण गतिविधि रोक्ने तयारी गरेको छ । १६ वैशाखदेखि एक साताका लागि जारी भएको काठमाडौंको निषेधाज्ञा पुनः एक साता थप्ने तयारी सरकारको छ । गृह मन्त्रालयका अनुसार निषेधाज्ञा जारी हुने जिल्लाको संख्या ४५ पुगेको छ ।