मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्तामल्टिमिडियाखेलकुदविश्वप्रवासकोरोना अपडेटकर्नर किकसम्पादकीयस्वास्थ्य र जीवनशैली१३औँ वार्षिकोत्सव विशेषांकफिचरलाेकसेवा१४औँ वार्षिकोत्सव विशेषांकप्रेरक प्रसंग१२औँ वार्षिकोत्सव विशेषांकसप्तरंगटर्निङ प्वाइन्ट्स-२०१९टर्निङ प्वाइन्ट्स-२०२०प्रदेशब्लगEnglishटर्निङ प्वाइन्ट्स-२०२१
  • वि.सं २०७८ बैशाख २७ सोमबार
  • Monday, 10 May, 2021
 मेची भन्सार कार्यालय काँकडभिट्टा, झापा । तस्बिर  /नयाँ पत्रिका
२०७८ बैशाख २१ मंगलबार ०८:४८:००
Read Time : > 2 मिनेट
अर्थ प्रिन्ट संस्करण

कोरोना महामारीले अलैँचीको निर्यात शून्य

Read Time : > 2 मिनेट
२०७८ बैशाख २१ मंगलबार ०८:४८:००

 भारतमा कोरोना महामारी तीव्र रूपमा फैलिएसँगै अलैँची निर्यात रोकिएको छ । माग हुने समयमा महामारी फैलिएर भारतका विभिन्न राज्यमा लकडाउन हुँदा अलैँची निर्यातमा कमी आएको नेपाल अलैँची व्यवसायी महासंघले जनाएको छ ।

विदेशी बजारमा निर्यात हुनेमध्ये ठूलो हिस्सा ओगट्ने अलैँचीको निकासी १५ दिनयता ठप्पझैँ भएको महासंघले जनाएको हो । महासंघका अध्यक्ष राजकुमार कार्कीका अनुसार यो वेला सबैभन्दा धेरै अलैँची निर्यात हुने समय हो । तर, भारतमा संक्रमण तीव्र रूपमा फैलँदा निर्यात नै रोकिएको उनले बताए ।

‘भारतमा जानका लागि त कुनै समस्या हैन । तर, निर्यात नै रोकिएको छ । यतिवेला चाहिँ अलैँची बिक्ने वेला थियो,’ उनले भने, ‘यतिवेला अगाडि हामीले निर्यात गरेको अलैँची पनि सकिएको छ । माग आउन थालेको थियो । मुस्लिम समुदायको इद पनि सुरु हुने वेला भएको थियो । यो सिजन अलैँचीको धेरै माग हुने समय हो ।’ भारतकै माध्यमबाट विगतमा तेस्रो मुलुक निर्यात हुँदा पनि अलैँचीको माग उच्च थियो । तर, महामारी बढेसँगै भारतमा समेत निर्यात हुन छाडेको उनले बताए ।

भारतको दिल्लीमा सबैभन्दा धेरै अलैँची जाने गरेको उनले बताए । तर, यो समयमा महामारीका कारण भारतका अधिकांश राज्य लकडाउन छ । जसका कारण १५ दिनयता निर्यात शून्य भएको छ । महासंघका अनुसार गत चैतसम्म ५ अर्ब बढीको अलैँची निर्यात भइसकेको छ । अझै अढाई अर्ब बराबरको अलैँची निर्यात हुन बाँकी रहेको महासंघ अध्यक्ष कार्कीले बताए । बाँकी रहेको मध्ये आधा अलैँची बिर्तामोडमा रहेको अलैँची व्यवसायी महासंघका पूर्वअध्यक्ष निर्मल भट्टराईले जानकारी दिए ।

नेपालको ४३ जिल्लामा विस्तार भएको अलैंची खेती सबैभन्दा बढी पूर्वको ताप्लेजुङमा फल्छ । गुणस्तरको हिसाबले संखुवासभा पहिलो रहेको महासंघले जनाएको छ । अलैंचीको कारोबार हुने हिसाबले झापाको बिर्तामोड नेपालकै प्रमुख व्यापारिक केन्द्र हो । अलैँची मुख्यतः मेची भन्सार कार्यालय काँकडभिट्टा हुँदै निर्यात हुने गरेको छ । कोरोना संक्रमण फैलिएपछि भारतबाट माग नआउँदा अलैँची गोदाममा थन्किएका छन् ।

महामारीका कारण व्यवसायी र अलैँची कृषकले त्यसको मार खेप्नुपरेको अध्यक्ष कार्कीले बताए । ‘गत वर्ष लामो समय निर्यात नै हुन पाएन । त्यसको घाटा बल्ल पूर्ति हुँदै थियो,’ उनी भन्छन्, ‘अब त लयमा आउँछ होला भन्ने लागेको थियो । फेरि महामारी सुरु भयो ।’

वर्षमा दुइपटक अलैँची भारतमा धेरै निर्यात हुने गरेको अध्यक्ष कार्की बताउँछन् । ‘असोज कार्तिकमा नेपालमा जस्तै भारतमा पनि चाडपर्व भइरहेको हुन्छ । यो समयमा माग धेरै हुन्छ । अलैँची त १२ महिनै भए पनि दुई लट चाहिँ धेरै बिक्री हुन्छ’ उनले भने, ‘दोस्रो लट चैतदेखि सुरु हुन्छ । यो समयमा पनि धेरै नै माग हुन्छ । यो पटक सबैबेच्न पाएको भए पोहोरको जस्तो स्टक रहँदैनज थियो । क्लियर हुन्थ्यो । र असोजदेखि त नयाँ उत्पादन सुरु हरन्थ्यो । अब त यसै भन्न सकिने अवस्था पनि रहेन ।’

विगतमा कारोबार गर्दैै आएका भारतीय व्यवसायीसमेत महामारीका कारण आउन छाडेको उनले बताए । बिक्री भएका अलैँची पनि ‘होल्ड’ गराएको महासंघका पूर्वअध्यक्ष भट्टराईले बताए । ‘खरिद भएको अलैँची पनि अरिद गर्दाले तत्काल नपठाउनु अलिक सहज भएपछि पठाउनु भन्ने गर्नुभएको छ,’ उनले भने, ‘पछिल्लो चरण माल जान पाएको छैन । अब नेपाल भरिमा करिब दुई हजार मेट्रिक्टर अलैँची बाँकी हुनुपर्छ । परिस्थिति सामान्य नभएसम्म निर्यात र मूल्यमा समस्या रहन्छन् ।’

मेची भन्सारको निर्यातमा ५४ प्रतिशत अलैँची

अलैँची निर्यातका लागि मुख्य नाका पूर्वी नाका काँकडभिट्टा नै हो । ठूलो परिणाममा यही नाका भएर अलैँची भारततर्फ निर्यात हुने गरेको छ । मेची भन्सार कार्यालयबाट निर्यात हुने सामग्रीको ५४ प्रतिशत यहीँ अलैँचीले धानेको छ ।

मेची भन्सार कार्यालय काँकडभिट्टाका प्रमुख ध्रुव विश्वकर्माका अनुसार चालु आर्थिक वर्षको चैत मसान्तसम्म अर्थात् नौ महिनामा ६९ लाख २५ हजार किलो अलैँची भारत निकासी भएको छ । जसको मूल्य पाँच अर्ब ५७ करोड ९२ लाख बराबर रहेको उनले बताए । जुन चालु आर्थिक वर्षमा निर्यात भएको सामग्रीमध्ये ५४ प्रतिशत हुन आउँछ ।

गत वर्ष यही अवधिमा ४१ लाख ५१ हजार किलो अलैँची निर्यात भएको भन्सार प्रमुख विश्वकर्माले बताए । जसको मूल्य तीन अर्ब ३३ करोड ७० लाख रुपैयाँ भएको उनले बताए । मेची भन्सारबाट चालु आर्थिक वर्षको नौ महिनामा १० अर्ब २९ करोड ४६ लाखको सामग्री निर्यात भएको भन्सार कार्यालयले जनाएको छ ।

अघिल्लो आर्थिक वर्षमा यही अवधिमा ७ अर्ब ३४ करोड ७८ लाखको सामान निर्यात भएको थियो । पूर्वी नाकाबाट सबै भन्दा धेरै अलैँची र त्यसपछि चियाको हरियो पत्ती निर्यात हुने गरेको छ । यस वर्ष २८ प्रतिशत हरियो चियापत्ती निर्यात भएको विश्वकर्माले बताए । बाँकी अधुवा, अम्रिसो जस्ता नगदे बाली रहेको उनले बताए ।