Skip This
ad
भारतबाट ढिलाइ भएपछि चीन, रुस र अमेरिकाबाट खोप खरिदको प्रयास 
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २६ बुधबार
  • Wednesday, 08 May, 2024
२o८१ बैशाख २६ बुधबार o६:३८:oo
Read Time : > 3 मिनेट
ad
ad
फ्रन्ट पेज प्रिन्ट संस्करण

भारतबाट ढिलाइ भएपछि चीन, रुस र अमेरिकाबाट खोप खरिदको प्रयास 

Read Time : > 3 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २६ बुधबार o६:३८:oo

तीन मुलुकबाट अनुदान तथा खरिद दुवै मोडालिटीमा खोप ल्याउनेबारे छलफल

अग्रिम भुक्तानी गरिसकेको कोभिड– १९ विरुद्धको खोप भारतबाट आउन ढिलाइ भएपछि सरकारले चीन, रुस र अमेरिकाबाट खोप खरिदका लागि कूटनीतिक प्रयास तीव्र पारेको छ । प्रधानमन्त्री केपी ओलीले सोमबार देशवासीका नाममा गरेको सम्बोधनमा सरकारले आफैँ आवश्यक मात्रामा खोप खरिद प्रक्रिया सुरु गरिसकेको बताएका छन् । 

चीन, रुसलगायत खोप उत्पादक राष्ट्र तथा कोभ्याक्ससँग निरन्तर सम्पर्क र समन्वय गरी छिटोभन्दा छिटो पर्याप्त मात्रामा खोप ल्याइसक्न सरकार प्रयत्नशील रहेको प्रधानमान्त्री ओलीको भनाइ थियो । खोप खरिदका लागि बेइजिङ र वासिङ्टनडिसीस्थित नेपाली राजदूतलाई सरकारले सक्रिय हुन निर्देशन दिएको छ । तीनै देशका काठमाडौंस्थित राजदूतसँग पनि सरकारले खोपका लागि सहजीकरण गरिदिन अनुरोध गरेको छ । यीमध्ये सबैभन्दा पहिले चीनबाट खोप आउने सरकारको विश्वास छ ।

‘भारतबाट खरिद भएको खोप आउन विभिन्न कारणले समय लाग्ने भएको छ । भारत आफैँ पनि अप्ठ्यारोमा परेको स्थितिमा हामीले चीन, रुस र अमेरिकासँग खोपका लागि कुराकानी गरिरहेका छौँ,’ प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार डा. राजन भट्टराईले नयाँ पत्रिकासँग भने, ‘कूटनीतिक च्यानलमार्फत र प्रत्यक्ष संवादबाट कुराकानी अघि बढाएका छौँ, चाँडै नै नतिजाको पर्खाइमा छौँ ।’ 

चीनमा राजदूत महेन्द्रबहादुर पाण्डे र अमेरिकामा राजदूत डा. युवराज खतिवडा सक्रिय छन् । रुसमा नेपाली राजदूत रिक्त भएका कारण नेपालस्थित राजदूतमार्फत सरकारले खोप ल्याउन पहल थालेको छ । प्रधानमन्त्री ओलीले गत साता नेपालस्थित रुसी राजदूत अलेक्सेई नोभिकोभलाई बालुवाटार बोलाएर यसबारे छलफल गरेका थिए । प्रधानमन्त्री ओली र परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीको तहबाट नेपालका लागि चिनियाँ राजदूत होउ यान्छी र अमेरिकी राजदूत ¥यान्डी बेरीसँग पनि खोपबारे छलफल भएको परराष्ट्रका एक अधिकारीले बताए । अमेरिकाका लागि नेपाली राजदूत खतिवडाले खोप उत्पादक कम्पनीका अधिकारीसँग खरिदबारे छलफल गरेका छन् ।

सल्लाहकार भट्टराईका अनुसार तीन मुलुकबाट अनुदान तथा खरिद दुवै मोडालिटीमा खोप ल्याउनेबारे छलफल भएको छ । विश्व स्वास्थ्य संगठनबाट मान्यताप्राप्त कम्पनीबाट खोप खरिदका लागि प्रयास भएको उनको भनाइ छ । कोभ्याक्सअन्तर्गतको खोप ल्याउन पनि प्रयास भइरहेको भट्टराईले बताए । ‘सरकारले खोप ल्याउनका लागि सबै प्रयासलाई अत्यन्तै तीव्रताका साथ जारी राखेको छ,’ उनले भने । परराष्ट्र मन्त्रालयकी प्रवक्ता सेवा लम्सालले कूटनीतिक संयन्त्र खोपका लागि सक्रिय रहेको बताइन् । ‘खोप ल्याउने मिसनमा सम्पूर्ण प्रयास जारी छ, बाहिर रहनुभएका हाम्रा राजदूत र यहाँका कूटनीतिक नियोगसँग हाम्रो छलफल भइरहेको छ,’ प्रवक्ता लम्सालले भनिन्, ‘स्वास्थ्य मन्त्रालयसँगको समन्वयमा काम गरिरहेका छौँ ।’ 

प्रधानमन्त्रीको सम्बोधन : छिटो खोप ल्याउन सरकार प्रयत्नशील

मित्रराष्ट्रहरूबाट सहायताका रूपमा प्राप्त खोपका अतिरिक्त नेपाल सरकारले आफैँ आवश्यक मात्रामा खोप खरिद प्रक्रिया सुरु गरिसकेको छ । चीन, रुसलगायत खोप उत्पादक राष्ट्र तथा कोभ्याक्ससँग निरन्तर सम्पर्क र समन्वय गरी छिटोभन्दा छिटो पर्याप्त मात्रामा खोप ल्याइसक्न नेपाल सरकार प्रयत्नशील छ ।

कोभिड संक्रमण दर बढ्दै गएपछि सरकारले निषेधाज्ञामा थप कडाइ गर्ने नीति लिएको छ । राष्ट्रका नाममा सोमबार सम्बोधन गर्दै प्रधानमन्त्री केपी ओलीले संक्रमण दर बढ्दै गएकाले निषेधाज्ञामा थप कडाइ गर्ने घोषणा गर्दै सबैसँग सहयोगको अपेक्षा गरे । 

प्रधानमन्त्री ओलीले बेड लुकाउने अस्पताल र अक्सिजन कालोबजारी गर्नेमाथि कारबाही गर्ने पनि बताए । ‘संक्रमणको साङ्लो चुँडाउन अस्पताल वा आइसोलेसन केन्द्रको व्यवस्था गरेर मात्रै पुग्दैन, एकहदसम्म लकडाउन आवश्यक हुन्छ भन्ने विज्ञहरूको सल्लाहअनुसार केही अवधिका लागि निषेधाज्ञा जारी गरिएको छ,’ प्रधानमन्त्रीले सम्बोधनमा भने, ‘यसलाई थप कडाइ गरिँदै छ र प्रभावकारी ढंगले लागू गर्न पहिलेझैँ सबैबाट सहयोग हुने अपेक्षा सरकारले राखेको छ ।’ त्यस्तै, अत्यावश्यकबाहेक अन्य कार्यालय, संघ–संस्था वैशाख मसान्तसम्म बन्द रहने पनि उनले जानकारी गराए ।

प्रधानमन्त्री ओलीले गत वर्षको तुलनामा परीक्षणको दायरा विस्तार गरेर सरकारी र निजीस्तरका ८७ स्थानमा पिसिआर परीक्षणको काम भइरहेको तथा सबैजसो अस्पताललाई कोभिडको उपचार गर्न सक्ने स्थितिमा पुर्‍याइएको भन्दै स्वास्थ्य संरचनामा उल्लेखनीय सुधार गरिएको दाबी पनि गरे । 

कोभिडको उपचार क्षमता विस्तारका क्रममा नेपाली सेनालाई प्रदेश तथा राजधानीमा शीघ्र एक हजार शय्याको अस्थायी अस्पताल निर्माण गर्न निर्देशन दिइएको प्रधानमन्त्री ओलीको भनाइ छ । उनले वीर अस्पतालको नयाँ भवन र नेपाली सेनाको त्रिचन्द्र मिलिटरी अस्पताल, काठमाडौं उपत्यकाका धेरै शय्या भएका मेडिकल कलेज र ठूला सरकारी तथा निजी अस्पताललाई कोभिड अस्पतालका रूपमा सञ्चालन गरिने पनि बताए । त्यस्तै, प्रदेश सरकारले पनि प्रदेशमा रहेका मेडिकल कलेज तथा ठूला अस्पताललाई कोभिड अस्पतालका रूपमा र साना अस्पताललाई ननकोभिड अस्पतालका

रूपमा सञ्चालन गर्ने, सबै प्रकारका सार्वजनिक एवं सामुदायिक स्थल, रंगशाला, सभाहल, पार्टी प्यालेस, होटेल, कारखाना, गोदामघरलगायतका संरचना प्रयोग गरी सुविधायुक्त क्वारेन्टिन, आइसोलेसन केन्द्र र आवश्यक होल्डिङ सेन्टरको प्रबन्ध गर्न लगाइएको पनि प्रधानमन्त्रीले सम्बोधनमार्फत जानकारी गराए ।

सबै सरकारी तथा निजी अस्पतालले आफूकहाँ उपलब्ध शय्या र तीमध्ये प्रयोग भएका वा नभएका शय्याको दैनिक विवरण अद्यावधिक गरेर तत्काल स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा विवरण पठाउनुपर्ने व्यवस्था गरिएको प्रधानमन्त्रीले बताए । उनले कुनै अस्पतालले विवरण पूरा नपठाई शय्या लुकाएको भेटिएमा कारबाही हुने पनि प्रस्ट्याए ।

अग्रिम भुक्तानी दिएर भारतबाट किनेको १० लाख डोज खोप अझै अनिश्चित

नेपाल सरकारले दिल्लीस्थित सेरम इन्स्टिच्युट इन्डियालाई २० लाख डोज खोपका लागि सुरुमै ८० प्रतिशत रकम अग्रिम भुक्तानी दिएकोमा अहिलेसम्म नेपालले १० लाख डोज खोप ल्याइसकेको छ । सेरमबाट १० लाख डोज सरकारले प्राप्त गर्न बाँकी छ । सरकारले सेरमलाई झन्डै एक अर्ब भुक्तानी गरिसकेको छ । तर, अमेरिकाबाट कच्चा पदार्थ नआएका कारण खोप उत्पादन बन्द भएको भन्दै सेरमले नेपाल, बंगलादेशलगायतका देशलाई खोप दिन सकेको छैन । 

खोप नआएपछि परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले २७ चैतमा भारतीय विदेशमन्त्री डा. एस जयशंकरसँग टेलिफोन संवाद गरेर दोस्रो चरणको खोपका लागि सहजीकरण र सहयोग गरिदिन आग्रह गरेका थिए । भारतबाट खरिद भएको खोप नआए दोस्रो चरणको खोप कार्यक्रम नै प्रभावित हुने र नेपाललाई अत्यन्त अप्ठ्यारो पर्ने भन्दै सहजीकरणका लागि आग्रह गरेका थिए । भारतीय विदेशमन्त्री जयशंकरले नेपाललाई खोप उपलब्ध गराइदिने आश्वासन दिएका थिए । त्यसपछि वैशाख १५ सम्म खोप आउने अपेक्षा नेपालको थियो । तर, सेरमबाट खोप आउने अझै निश्चित नभएको सरकारी अधिकारीहरू बताउछँन् । 

भारतले नेपाललाई ८ माघमा अनुदानका रूपमा दिएको १० लाख डोज कोभिसिल्ड खोप अग्रमोर्चामा खटिएकाहरूलाई लगाएको थियो । त्यसपछि सरकारले खरिद गरेर १० लाख डोज खोप ल्याएको थियो । भारतीय सेनाका तर्फबाट नेपाली सेनालाई एक लाख डोज खोप पनि हस्तान्तरण भइसकेको छ । भारतबाट नेपालले अहिलेसम्म जम्मा ११ लाख डोज खोप अनुदानमा पाएको छ । चीनले अनुदानमा दिएको ८ लाख डोज खोप नेपाल आइसकेको छ । खोपको अभावमा खोप अभियान नै प्रभावित भएको छ ।

ad
ad