मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्तामल्टिमिडियाखेलकुदविश्वप्रवासकोरोना अपडेटकर्नर किकसम्पादकीयस्वास्थ्य र जीवनशैली१३औँ वार्षिकोत्सव विशेषांकफिचरलाेकसेवा१४औँ वार्षिकोत्सव विशेषांकप्रेरक प्रसंग१२औँ वार्षिकोत्सव विशेषांकसप्तरंगटर्निङ प्वाइन्ट्स-२०१९टर्निङ प्वाइन्ट्स-२०२०प्रदेशब्लगEnglishटर्निङ प्वाइन्ट्स-२०२१
  • वि.सं २०७८ जेठ ३० आइतबार
  • Sunday, 13 June, 2021
नयाँ पत्रिका काठमाडाैं
२०७८ बैशाख १९ आइतबार ०८:३०:००
Read Time : > 1 मिनेट
सम्पादकीय प्रिन्ट संस्करण

अनिश्चितताबीच अर्थतन्त्रको प्रक्षेपण

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०७८ बैशाख १९ आइतबार ०८:३०:००

काठमाडौं उपत्यकासहित देशका विभिन्न जिल्लामा निषेधाज्ञालगायत प्रतिबन्धात्मक आदेश जारी भएकै समयमा केन्द्रीय तथ्यांक विभागले चालू आर्थिक वर्षको आर्थिक वृद्धिदर चार प्रतिशत रहने प्रक्षेपण सार्वजनिक गर्‍यो । गत वर्ष दुई दशमलव १२ प्रतिशतले ऋणात्मक रहेको गार्हस्थ उत्पादनको वृद्धि अभिलिखित इतिहासकै सबैभन्दा कम थियो । गतवर्ष चैतको आधाआधीबाट आरम्भ भएर असारसम्मै तन्किएको बन्दाबन्दीले आर्थिक सार्वजनिक तथा निजी लगानी दुवै क्षेत्रमा पारेको प्रभाव, उत्पादनमूलक उद्योगको खस्किँदो उत्पादन दर, यातायात, पर्यटन र मनोरञ्जनलगायत सेवाक्षेत्रमा पारेको प्रभावले धेरैले रोजगारी गुमाएका थिए । सबैको परिणामले आर्थिक वृद्धिदरलाई थला पारेको छ । साउनदेखि क्रमशः आर्थिक गतिविधि उकासिँदै थियो । पर्यटन र त्यससँग जोडिएका क्षेत्रहरूको प्रगति धिमा भए पनि अघि बढिरहेको थियो । उच्च हिमशिखर आरोहण गर्ने आन्तरिक र बाह्य टोलीहरूको घुइँचोले पनि सकारात्मक अर्थ राख्थ्यो । अर्थतन्त्रले लय समात्न थालेको थियो । 

अल्पविकसित देशबाट विकासोन्मुख देशमा स्तरोन्नति हुन लागेको नेपालका लागि आर्थिक गति अवरुद्ध हुनुका धेरै प्रभाव हुन्छन्, रोजगारी घट्नु, उत्पादकत्व र उत्पादन दुवै घट्नु, प्रतिव्यक्ति आय घट्नु र गरिबीको दर बढ्नु ।

ठीक यही समयमा कोरोना महामारीको दोस्रो लहर सुरु भयो । यस वर्षको आर्थिक वृद्धिदरको लक्ष्य सात प्रतिशत हाराहारी हुने तत्कालीन अर्थमन्त्रीको दाबी आफैँमा गलत भए पनि तथ्यांक विभाग र राष्ट्रिय योजना आयोगको पछिल्लो प्रक्षेपणलाई व्यावहारिक र हासिल गर्न सकिने लक्ष्य मान्न सकिने आधार तयार भएका थिए । ठीक यही वेला कोरोना महामारी सुरु भएको छ । शुक्रबार मात्रै पाँच हजार सात सयभन्दा बढीमा कोरोना पुष्टि भएको छ । परीक्षण गरिएकामध्ये ३० प्रतिशतभन्दा बढीमा कोरोना देखिन थालेको धेरै दिन भइसकेको छ । भारतमा कोरोना महामारीले विश्वलाई नै हैरान पार्दै नयाँ रेकर्ड कायम गरेको छ । नेपाल त्यसको पछि–पछि छ । शुक्रबार मात्रै स्वास्थ्य मन्त्रालयले एक प्रकारको श्वेतपत्र जारी गर्दै बढ्दो संक्रमणका कारण आगामी दिनमा अस्पतालमा भर्ना हुनुपर्ने र गम्भीर प्रकारका बिरामीले समेत उपचार नपाउने हुन सक्छ भन्दै सबैलाई सतर्क गराएको छ । 

निषेधाज्ञा सुरु हुनुअघि पाँच लाखले काठमाडौं छाडेको अनुमान गरिएको छ । यसको अर्थ कोरोनाका कारण आर्थिक गतिविधिका विभिन्न क्षेत्रमा फेरि नकारात्मक प्रभाव पार्छ भन्ने नै हो । स्वास्थ्य मन्त्रालयका अधिकारीहरू र विज्ञहरू आउने दुई महिना यस्तो प्रभाव रहिरहने अनुमान गरिरहेका छन् । त्यसो हुनु भनेको योजना आयोग र तथ्यांक विभागले प्रक्षेपण गरेका आर्थिक अनुमान मेल खानेछैनन् भन्ने नै हो । अल्पविकसित देशबाट विकासोन्मुख देशमा स्तरोन्नति हुन लागेको नेपालका लागि आर्थिक गति अवरुद्ध हुनुका धेरै प्रभाव हुन्छन्, रोजगारी घट्नु, उत्पादकत्व र उत्पादन दुवै घट्नु, प्रतिव्यक्ति आय घट्नु र गरिबीको दर बढ्नु । कोरोना संक्रमणको सम्भावित चित्र पहिले नै पहिल्याएर सतर्कता अपनाउन सकेको भए अहिले यति जटिल स्थिति आउने थिएन । 

तर, अब अवस्था धेरै अघि बढिसकेको छ । त्यसैले यस वर्षको आर्थिक वृद्धिका प्रक्षेपित लक्ष्य हासिल नहुने हुन् कि भन्ने आशंकालाई नै यसले बल पु¥याउँछ । राज्य र नागरिकस्तरमा पनि गर्न सकिने भनेको आर्थिक गतिविधि कमजोर हुँदा सीधा मार पर्ने रोजगारी गुमाउने परिवारका लागि प्रत्यक्ष सहयोग गर्ने, उनीहरूलाई गरिने मौद्रिक सहयोगका माध्यमबाट बजारमा मागको उचित दबाब कायम राख्ने र उद्योगहरूलाई चलायमान बनाइरहन आवश्यक भरथेग गर्ने नै हो । अर्थतन्त्रको गतिशीलता कायम राख्न पनि यसो गर्नु जरुरी छ ।