१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १५ शनिबार
  • Saturday, 27 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७८ बैशाख १९ आइतबार ०७:१५:००
Read Time : > 2 मिनेट
अर्थ प्रिन्ट संस्करण

कम्तीमा दुई महिनालाई पुग्ने खाद्यान्न मौज्दात, उपभोक्तालाई नआत्तिन आग्रह

Read Time : > 2 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७८ बैशाख १९ आइतबार ०७:१५:००

कोरोना भाइरस नियन्त्रणका लागि सरकारले १६ वैशाखबाट दुई साताका लागि निषेधाज्ञा गरेपछि उपभोक्ताहरू दैनिक उपभोग्य खाद्यवस्तुको मौज्दात बढाउन थालेका छन् । व्यवसायी र सरकारी निकायले भने मागअनुसार खाद्यान्न आपूर्ति गर्न कुनै समस्या नरहेकाले अनावश्यक मौज्दात नबढाउन उपभोक्तालाई आग्रह गरेका छन् ।

अनुगमनकारी निकाय वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका महानिर्देशक प्रकाश पौडेलले व्यवसायीसँग गरेको विभिन्न छलफल र नियमित अनुगमनले बजारमा खाद्यवस्तुको पर्याप्त उपलब्धता रहेको बताए । ‘अहिले खुद्रा किराना पसलमा मात्रै एक महिनालाई र थोक व्यवसायीसँग कम्तीमा दुई महिनालाई पुग्ने खाद्यवस्तुको मौज्दात रहेको देखिन्छ,’ महानिर्देशक पौडेलले भने, ‘त्यसैले उपभोक्ताले चाहिनेजति मात्रै खाद्यवस्तु खरिद गरे हुन्छ । पसलमा अनावश्यक भिड गरेर धेरै सामान किन्नुपर्दैन ।’

सरकारले निषेधाज्ञा गर्ने निर्णय गरेपछि विभागले सम्बन्धित व्यवसायीसँग छलफल गरेको थियो । त्यसक्रममा पनि व्यवसायीले खाद्यान्नको अभाव नहुने बताएका थिए । सरकारले निषेधाज्ञाको समयमा बिहान ७ देखि १० बजे र साँझ ५ देखि ७ बजेसम्म खाद्यान्न किराना पसल खुला गर्न दिएको छ । यो समयमा उपभोक्ताले धेरै सामान किन्न खोज्दा भिड बढिरहेको छ  ।

वाणिज्य विभागले बिहान र बेलुका खाद्यान्न पसलमा अनुगमन गरी अनावश्यक मौज्दातका लागि खाद्य सामग्री खरिद नगर्न उपभोक्तालाई सचेत गराइरहेको महानिर्देशक पौडेलले बताए । ‘हामीले अनुगमनका क्रममा उपभोक्तालाई बढी सामान नकिन्न आग्रह गरिरहेका छौँ । त्यस्तै दैनिक मूल्यसूचीसमेत संकलन भइरहेको छ,’ उनले भने । थोक खाद्यान्न व्यवसायीको संस्था खाद्य किराना व्यवसायी संघका अध्यक्ष देवेन्द्रभक्त प्रधानले पनि बजारमा खाद्यान्न आपूर्तिमा कुनै समस्या नरहेको बताए ।

‘चामल, दाल, तेललगायत धेरै खाद्यवस्तु नेपालमै उत्पादन भइरहेको छ । यी वस्तुको आपूर्तिमा समस्या हुने कुरै भएन,’ उनले भने, ‘थोक बजारमा अहिले पनि कम्तीमा दुई महिनालाई पुग्ने खाद्यवस्तु मौज्दात छ । आवश्यकता परे थप आपूर्ति गरेर उपभोक्ताको मागअनुसार वितरण गर्न सकिन्छ ।’ उनले अनावश्यक सञ्चय हुँदा बजारमा भइरहेको आपूर्ति प्रणालीमा असर पर्न सक्ने बताए ।

‘सबै प्रकारका खाद्यवस्तु जति चाहिने हो, त्यति मात्रै किनेर उपभोग गरे हुन्छ । अहिले नै अत्तालिनुपर्ने कुनै कारण छैन,’ प्रधानले भने । किराना पसलहरूको संस्था खुद्रा व्यापार संघका अध्यक्ष राजकुमार श्रेष्ठले पनि खाद्यान्न आपूर्तिमा समस्या नरहेको बताए । ‘उपभोक्ताहरू धेरै सामान किन्न खोजिरहेका छन् । हामीकहाँ किन्न आउनेलाई धेरै नलैजाउ भन्न पनि मिलेन,’ उनले भने, ‘तर, पछि नपाइएला कि भन्ने चिन्ता लिनुपर्दैन ।’ उनले केही खाद्यवस्तुमा मूल्यवृद्धि हुन थालेकाले नियमनकारी निकाय जागरुक हुनुपर्ने बताए । ‘अहिले चिनी र दालको मूल्यमा केही वृद्धि हुन थालेको छ । यसको कुनै कारण छैन । त्यसैले नियमनकारी निकाय सक्रिय भएर कृत्रिम मूल्यवृद्धि रोक्न पहल गर्नुपर्छ,’ अध्यक्ष श्रेष्ठले भने । उनका अनुसार चिनीको मूल्य प्रतिकिलो ५ रुपैयाँ बढेर ९० रुपैयाँसम्म पुगेको छ । त्यस्तै, दालको मूल्य प्रतिकिलो ५ देखि १० रुपैयाँसम्म बढेर आएको छ ।

खाद्यान्न आपूर्ति गरिरहेको सरकारी निकाय खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले पनि उपत्यकाको थापाथली, नख्खु, रामशाहपथ, सूर्यविनायकको बिक्री केन्द्र बिहान ७ देखि १० बजेसम्म खुलेर चामल, कर्णालीको सिमी, जुम्ली मार्सी, खाने तेल, घिउलगायत बिक्री गरिहेको सूचना अधिकारी शर्मिला न्यौपाने जानकारी दिइन् ।

आइतबारबाट ठूला थोक विक्रेताकहाँ अनुगमन
अनुगमनकारी निकाय वाणिज्य आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागले आइतबारबाट ठूला थोक खाद्यान्न विक्रेता लक्षित अनुगमन गर्ने जनाएको छ । साउन महिनादेखिको बिक्री परिमाण, बिक्री मूल्य, खरिद मूल्यलगायतका तथ्यांक लिने गरी अनुगमन हुन लागेको महानिर्देशक पौडेलले बताए । ‘केही वस्तुमा मूल्य बढेको भनेर पनि गुनासो आएका छन् । हामी सबै कुरालाई सम्बोधन गर्नेगरी थोक विक्रेताकहाँ अनुगमन गरी तथ्यांक लिन्छौँ र मूल्य तथा परिमाण नियमन गर्नेछौँ ।’ विभागले हाल खाद्य पसल खोल्ने समय बिहान र साँझ अनुगमन गरिरहेको उनले बताए । उपभोक्तालाई कुनै गुनासो भए ११३७ नम्बरमा फोन गर्न विभागले आग्रह गरेको छ ।