मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
२०७८ बैशाख १५ बुधबार ०७:१४:००
Read Time : > 1 मिनेट
पालिका अपडेट प्रिन्ट संस्करण

पार्कमै अन्तिम संस्कार हुन थाल्यो दिल्लीमा

Read Time : > 1 मिनेट
२०७८ बैशाख १५ बुधबार ०७:१४:००

भारतको राजधानी नयाँदिल्लीमा जुन अनुपातमा संक्रमित संख्या बढिरहेको छ, त्यहीअनुरूप संक्रमितको निधनसमेत अकासिएको छ । यसैकारण नयाँदिल्लीमा अहिले अन्त्येष्टि गर्ने स्थल (घाट र शवदाह गृह) नै अपुग भएको छ । शवदाह गृह तथा घाटमा दाहसंस्कार गर्न स्थान पर्याप्त नभएपछि नयाँदिल्लीका विभिन्न पार्कमा अस्थायी घाट निर्माण भइरहेको छ । निर्माणाधीन अस्थायी घाटमै अन्त्येष्टिको काम भइरहेको भारतीय एजेन्सीहरूले जनाएका छन् । नयाँदिल्लीमा कोरोनाको दोस्रो लहर सुनामीको अवस्थाजस्तै छ । सोमबार मात्र यहाँ तीन सय ८० संक्रमितको निधन भयो । 

यो एक सातामा दिल्लीमा एक हजार एक सय ५० जना संक्रमितको निधन भएको छ । मृतकका आफन्त घन्टौँसम्म कुर्दा पनि पालो आउँदैन । हुन त राजधानी नयाँदिल्लीमा मात्र यस्तो समस्या होइन । भारतका विभिन्न सहर र राज्यमा पनि संक्रमित मृतकको अन्तिम संस्कार गर्न कठिनाइ भइरहेको छ । त्यस्ता स्थानमा शवदाह गृह तथा घाट पर्याप्त नभएका कारण नै अन्त्येष्टि गर्न पनि समस्या आइपरेको हो । शवदाह गर्ने स्थानमा मृतकका परिवारले नै सहयोग गरिरहेका दृश्यहरू सामाजिक सञ्जालमा भाइरल भइरहेका छन् । उनीहरूले अन्तिम संस्कारका लागि आवश्यक पर्ने सामग्री संकलन गर्ने तथा दाउरासमेत मिलाउने काम गरिरहेका छन् ।

समयमै त्यस्ता अतिआवश्यक सामग्री उपलब्ध हुँदा आफ्नो पालो छिटो आउने विश्वास उनीहरूको छ । दिल्लीमा केही पार्कलाई अन्त्येष्टिस्थल बनाउन तीव्र गतिमा काम भइरहेको छ । घन्टौँ लाइनमा बस्नुपर्ने बाध्यताबाट मुक्ति पाउन मृतकका आफन्तले दिल्लीमा रहेका ठूला पार्क, पार्किङस्थल तथा खेलमैदानलाई तत्काल अस्थायी घाटका रूपमा प्रयोग गर्नुपर्ने माग राखेका छन् । दिल्लीकै सरायकाले खान शवदाहस्थलनजिकै २७ नयाँ प्लेटफर्म बनाइएको छ । नयाँदिल्ली नगर निगम यमुना नदीको किनारमा अस्थायी अन्त्येष्टि स्थान बनाउने तयारीमा छ । यसका लागि निगम उपयुक्त स्थानको खोजीमा छ । सरायकाले खान शवदाहमा २७ नयाँ प्लेटफर्म बनाउन कर्मचारीहरू रातदिन खटिरहेका छन् । 

यसैगरी, गाजीपुर शवदाहस्थलमा रहेको पार्किङस्थल प्रयोगमा ल्याउने भएको छ । यहाँ २० नयाँ प्लेटफर्म बनाइनेछ । गाजीपुर शवदाहमा कार्यरत एक कर्मचारीले अन्तिम संस्कार पूरा हुन कम्तीमा ६ घन्टा लाग्ने गरेको बताए । यसैकारण अरूको पालो आउन घन्टौँ लाग्ने गरेको उनको भनाइ छ । कोरोना महामारीविरुद्ध लागिरहेको गैरसरकारी संस्था सेन्टर फर होलिस्टिकका प्रमुख सुनीलकुमार अलेदियाले दिल्लीमा तत्काल घाटहरू निर्माण गर्नुपर्ने बताएका छन् । सोमबार २४ घन्टाभित्र भारतमा तीन लाख ५२ हजार नौ सय ९१ र मंगलबार तीन लाख २३ हजार एक सय ३३ जना थप नयाँ संक्रमित भएका छन् । भारतमा अहिलेसम्म एक लाख ९२ हजार संक्रमितले ज्यान गुमाएका छन् ।