मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्तामल्टिमिडियाखेलकुदविश्वप्रवासकोरोना अपडेटकर्नर किकसम्पादकीयस्वास्थ्य र जीवनशैली१३औँ वार्षिकोत्सव विशेषांकफिचरलाेकसेवा१४औँ वार्षिकोत्सव विशेषांकप्रेरक प्रसंग१२औँ वार्षिकोत्सव विशेषांकसप्तरंगटर्निङ प्वाइन्ट्स-२०१९टर्निङ प्वाइन्ट्स-२०२०प्रदेशब्लगEnglishटर्निङ प्वाइन्ट्स-२०२१
  • वि.सं २०७८ बैशाख २७ सोमबार
  • Monday, 10 May, 2021
कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्मा र उनकी छोरी स्वीकृति शर्मा । तस्बिर : संजित परियार/नयाँ पत्रिका
नवीन प्यासी काठमाडाैं
२०७८ बैशाख १५ बुधबार ०६:५९:००
Read Time : > 3 मिनेट
फिचर प्रिन्ट संस्करण

बाबु–छोरीको सांगीतिक जोडी 

Read Time : > 3 मिनेट
नवीन प्यासी, काठमाडाैं
२०७८ बैशाख १५ बुधबार ०६:५९:००

कांग्रेस नेता विश्वप्रकाश शर्मा छोरी स्वीकृति गीतसंगीतमै लागून् भन्ने चाहन्छन् । उनी भन्छन्– स्वीकृतिले लिने निर्णय र छनोटमाथि निःसर्त स्वीकृति हुनेछ । तर, एउटा सर्त छ । छोरीले जे गरून्, नेपालमै गरून् ।

‘वरिष्ठ गायक दीप श्रेष्ठको ‘साइलेन्सनेस’सहितको आवाज खुब मन पर्छ । ‘साइलेन्ट किलर’जस्तो लाग्छ, उहाँको आवाज । उहाँले एउटै गीत दशपटक गाउनुभयो भने दशैवटा प्रस्तुतिमा नयाँपन हुन्छ,’ गायिका स्वीकृति शर्मा बीचबीचमा अंग्रेजी शब्द घुसाउँदै बोल्छिन् । यसपटक एसइई दिन लागेकी स्वीकृतिले पनि भर्खरै, ‘मिसले सोध्नुभो...’ बोलको नयाँ गीत बजारमा ल्याएकी छिन् ।  

पहिलो अफिसियल गीतको शब्द उनकै हो, आवाज उनकै हो । तर, संगीत भने उनका पिता तथा कांग्रेस नेता विश्वप्रकाश शर्माको छ । छोरीसँगै बसिरहेका विश्वप्रकाश बोल्छन्, ‘छोरीले गीत लेखेपछि परिवारसँग हुँदा गुनगुनाउँथेँ, धुन निस्कियो र संगीतको रूप लियो ।’ गुनगुनाउँदै जाँदा लय निस्कियो । लय निस्किएपछि छोरीलाई रियाज गर्न लगाएको उनको भनाइ छ । त्यसपछि गीत तयार भयो र रेकर्ड गराएको उनी बताउँछन् । 

सानैदेखि गीत गाउने स्वीकृतिको यो गीत गत वर्ष नै तयार भएको थियो । तर, बितेको एक वर्षमा स्वीकृतिको स्वर पनि बदलियो र पुनः रेकर्ड गराउनुपर्‍यो । गीत तयार भयो । स्वीकृतिका लागि पहिलो अफिसियल रूपमा रेकर्ड भएको गीत र शब्द हो, यो । विश्वप्रकाशले भने निकै गीतमा संगीत भरिसकेका छन् । गीतको एल्बमै पनि ल्याएका छन् । उनले लकडाउनमा ‘ब्रेक द चेन’ बोलको गीत ल्याए, आफ्नै शब्द र संगीतमा । अब अर्को नयाँ गीत ल्याउने तयारीमा पनि छन् । 

विश्वप्रकाश दिनभर राजनीतिक धपेडीमा हुन्छन् । कांग्रेस प्रवक्ताको हैसियतमा उनको व्यस्तता बिहानदेखि बेलुकासम्मै हुन्छ । घरभित्र छिर्दा पनि फोन कलहरूले छाडेको हुँदैन । तर, घरभित्र छिरेपछि जम्माजम्मी श्रीमान्, पिताको भूमिकामा हुने उनी सुनाउँछन् । ‘घरबाहिर म के हुँ, को हुँ, त्यो छँदै छ । घरभित्र छिरेपछि मात्रै परिवारको हुँ,’ उनी सुनाउँछन्, ‘घरबाहिर राजनीति कस्तो हुने, के हुनेबारे छलफल गरुँला, घरभित्र छिरेपछि परिवार कस्तो हुने, संगीत कस्तो हुनेबारे मात्रै छलफल हुन्छ ।’ 

परिवारमा त्यही संगीतबारे छलफल हुँदा गीत जन्मियो, ‘मिसले सोध्नु भो...’ । विश्वप्रकाश स्वयं पनि छोरी गीतसंगीतमै लागून् भन्ने चाहन्छन् । तर, आफ्नो जिन्दगी कस्तो बनाउने भनेर स्वीकृतिले लिने निर्णय र छनोटमाथि विश्वप्रकाशको निःसर्त स्वीकृति छ । छोरीले रोजेको गोरेटोमा उनको सधैँ समर्थन छ । तर, एउटा सर्त छ । उनको सर्त यस्तो छ, ‘छोरीले जे गरून्, नेपालमै गरून् । कानुन व्यवसाय, पत्रकारिता वा संगीत जे गरे पनि भयो, हाम्रो समाजमा सबै क्षेत्रको उत्तिकै महत्व छ । तर, विदेशचाहिँ नजाओस्, भोलि बुढेसकालमा फोनबाट ‘ह्याप्पी फादर्स डे’ अथवा ‘ह्याप्पी मदर्स डे’ नभनून् ।’ 

कानुन र संगीत सँगै पढ्ने स्वीकृतिको योजना
स्वीकृति पनि एसइईपछि कानुन र संगीत सँगै पढ्ने योजनामा छिन् । तर, संगीतमा भने विनाबहाना लागिपर्ने योजनामा छिन् । रियालिटी सोहरू हेर्छिन् । त्यहाँ देखिएका प्रतिभा देख्दा लोभिन्छिन् । ‘भाग लिन जाऊँ जाऊँ’ जस्तो पनि लाग्छ, उनलाई । तर, फेरि उनलाई लाग्छ, ‘मेरो वेला भएको छैन । साधना अझै बाँकी छ । पहिला सिकूँ, सक्षम बनूँ ।’ अनि कहिले जाने वेला होला त ? यस प्रश्नको उत्तरमा भन्छिन्, ‘नजान पनि सक्छु । के थाहा, एकैपटक स्टेज चढ्न पनि सक्छु कि ! त्यो भोलिले बताउँछ ।’ 

छोरीको जवाफ सुनेर विश्वप्रकाश मुसुमुसु हाँस्छन् । अनि छोरीसँग जिस्कँदै बोल्छन्, ‘लौ, राम्रो पो बोल्दिरहिछिन् त ! मलाई नै थाहा थिएन ।’ पितासँग स्वीकृतिको यो दोस्रो मिडिया–भेट हो । यसअघि सात वर्षको हुँदा पितासँगै बसेर मिडियासँग कुराकानी गरेकी थिइन् । किनभने त्यसवेला स्वीकृतिले रेडियोमा बाल कार्यक्रम चलाउँथिन् । ‘बालमञ्च’ कार्यक्रममा स्वीकृति र साथीहरू मिलेर आफ्नो प्रतिभा, अरू आफूजस्तैको प्रतिभा प्रस्तुत गर्थे । त्यसैवेलादेखि गीत पनि गाउने गरेकी थिइन् । यसबारे स्वीकृतिकी आमा कविता शर्मा भन्छिन्, ‘सानैदेखि गाउँथिन् । कार्यक्रम पनि चलाउँथिन् । अहिले त ठूली भइसकिन्, अफिसियल गीत ल्याउने बनिसकिन् ।’ आमाले बोलेलगत्तै स्वीकृति आमातिर हेर्दै बोल्छिन्, ‘मलाई गाउन नै तपाईंले सिकाउनुभएको त हो नि !’ 

कविता पनि गीत गाउँछिन् । विश्वप्रकाशकै गीति एल्बम ‘स्वीकृति’मा उनको पनि एउटा गीत छ । गएको लकडाउनमा ‘फूलबुट्टे सारी...’को कभर गीत पनि ल्याए, आमाछोरीले । युट्युबमा सार्वजनिक भएको कभर–गीतको प्रसंग निकालेर विश्वप्रकाश हाँस्दै भन्छन्, ‘त्यो गीतको क्यामेराम्यानचाहिँ म । आमाछोरीले क्यामेराम्यान बनाएका छन् ।’ स्वीकृतिका अनुसार उनीहरूको प्रायः भिडियो विश्वप्रकाशले नै खिचिदिन्छन् । राजनीतिक दौडधुपबाट केही समय मिलाएर परिवारसँग रहँदा कहिले गीत जन्मनु, कहिले संगीत जन्मनु, कहिले भिडियो निर्माण हुनु परिवारबीच घटिरहने घटना भएको विश्वप्रकाशको स्वीकारोक्ति छ । 

विश्वप्रकाशले खिचेको भिडियोको फुटेजहरूलाई इडिट गर्ने काम स्वीकृतिको हो । उनले युट्युब हेरेरै सिकिन्, भिडियो सम्पादन । प्रायः स्वीकृतिको युट्युब च्यानलमा आउने भिडियोहरू उनी स्वयं इडिट गर्छिन् । शनिबार संगीतको कक्षा लिन्छिन्, गुरु प्रभुराज ढकालकहाँ । बिहीबार अनलाइन क्लास लिन्छिन् । बाँकी समय रियाज गर्छिन् । गीतलाई सुरमा गाउन त सुरुमा उनलाई आमा कविताले सिकाइन् । कविताको भने अध्यात्म र संगीततिर निकै रुचि छ । स्वीकृतिका अनुसार अहिले पनि दिनको सात, आठ घन्टा रियाज गरिबस्छिन् । त्यसैको प्रभावले पनि आफूलाई संगीतको मोह जागेको स्वीकृति स्विकार्छिन् । 

स्वीकृतिले बुझेको कुरा हो, राम्रो गायिका बन्न पहिला साधना चाहिन्छ । स्वरलाई रियाज चाहिन्छ । स्वरमा सुर चाहिन्छ । संगीत, ताल, शब्द र गायकीको मीठो मिश्रण हुनुपर्छ, राम्रो गीत बन्न । र त उनी भन्छिन्, ‘बाटोमा कसैले हाहा गरिरहँदा पनि सातमध्ये एक सुर लागेको हुन्छ । तर, त्यो सुर मीठो सुनिन्न । रियाज गरेको सुरमा भने एक प्रकारको मीठो आनन्द भेटिन्छ । जब राम्रो रियाज गरेर सुर लगाउन सकिन्छ, तब मीठो गीत बन्छ ।’ 

उनले गीत रेकर्ड गराइन्, स्टुडियोमा । रेकर्डका क्रममा कहिले सुर लाग्दैनथ्यो, कहिले नोट पुग्दैनथ्यो । संगीतकार विश्वप्रकाशले ‘फेरि ट्राई गर्नु’ भनेर भनिरहन्थे । अनि रेकर्ड दोहोर्‍याइरहन्थिन्, स्वीकृति । तर, जब रेकर्ड पूरा भयो, बाबुछोरी दुवै सन्तुष्ट रहे । राजनीतिमै धेरै समय बिताउने विश्वप्रकाश शर्मा भन्छन्, ‘म छोरीको संगीतप्रतिको रुचिमा किन खुसी छु भने मलाई थाहा छ, कला, साहित्यको क्षमता । जहिल्यै एकातिर संगीन हुन्छ र एकातिर संगीत । संगिनले टुक्र्याउँछ, संगीतले सधैँ जोड्छ । कलाको शक्ति र फैलावट पनि त्यही हो ।’