१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ४ शुक्रबार
  • Friday, 17 May, 2024
२o८१ जेठ ४ शुक्रबार १o:१५:oo
Read Time : > 1 मिनेट
ad
ad
प्रदेश प्रिन्ट संस्करण

रोल्पामा क्वारेन्टिन र आइसोलेसन नहुँदा सक्रिय संक्रमित घरमै

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८१ जेठ ४ शुक्रबार १o:१५:oo

कोरोनाको दोस्रो लहर नियन्त्रण गर्न रोल्पामा अहिलेसम्म कुनै पूर्वतयारी गरिएको छैन । केन्द्र सरकारले जारी गरेको सुरक्षा मापदण्डसमेत कडाइका साथ लागू गरिएको छैन ।

जिल्ला कोभिड– १९ संकट व्यवस्थापन केन्द्रले स्थानीय तहलाई आ–आफ्नो हिसाबले आइसोलेसन बनाउन निर्देशन गरे पनि अहिलेसम्म आइसोलेसन युनिट बनाइएको छैन । भारत तथा तेस्रो मुलुकका साथै नेपालकै कोरोना जोखिम क्षेत्रबाट आउनेलाई सामान्य सोधपुछ तथा ज्वरो जाँचको समेत व्यवस्था गरिएको छैन । स्थानीय तहहरूले स्वाब संकलन गर्न कुनै तयारी गरेका छैनन् । जिल्लामा १५ शड्ढयाको एक सरकारी अस्पताल छ । अस्पताल अन्य बिरामीले भरिएको छ । कोभिडका संक्रमितको उपचारका लागि कुनै व्यवस्था गरिएको छैन । 

तर, प्रमुख जिल्ला अधिकारी नवराज सापकोटाले जोखिम रोक्न आवश्यक गृहकार्य भइरहेको दाबी गरे । तर, त्यस्तो गृहकार्य कहिले पूरा हुन्छ यसै भन्न नसक्ने बताए । ‘कोरोना रोकथाम तथा नियन्त्रण गर्न स्थानीय तहले नै पहलकदमी लिने हो,’ प्रजिअ सापकोटाले भने, ‘हामीले आवश्यक निर्देशन जारी गरिसकेका छौँ । अन्य व्यवस्थापनका काम स्थानीय तहले गर्ने हो ।’ 

यसअघि निर्माण गरिएका कुनै पनि क्वारेन्टिन वा आइसोलेसन अहिले छैनन् । जिल्लामै नमुना भन्दै लिबाङको जलजला क्याम्पसमा बनाइएको आइसोलेसन गुरुङगाउँको बहुउद्देश्यीय भवनमा सारिएपछि पुनः सञ्चालन हुन सकेन । त्यस क्रममा संकलन गरिएका जोखिम रोकावट सामग्रीको समेत लेखाजोखा छैन । कतिपय सामान गुरुङगाउँको बहुउद्देश्यीय भवनमा सारिएको भनिए पनि ती कस्तो अवस्थामा छन् कसैले वास्ता नगरेको गुरुङगाउँका जनप्रतिनिधि हरिजंग गुरुङले बताए । सरकारले हरेक स्थानीय तहमा १५ बेडको कोभिड अस्पताल बनाउने भने पनि रोल्पाका केही स्थानीय तहले अस्थायी अस्पताल भनेर घोषणा गरे पनि विभिन्न कारण देखाउँदै प्रयोगमा आउन नसकेको स्वास्थ्य कार्यालय रोल्पाका प्रमुख नोखराज पोख्रेलले बताए । 

सक्रिय संक्रमित घरमै
सुनील स्मृति गाउँपालिका खुंग्रीका एकाघरका दुईजनामा कोरोना संक्रमण पुष्टि भयो । उनीहरू उपचारका लागि बुटवल गएका वेला स्वाब परीक्षण गर्दा संक्रमण पुष्टि भएको थियो । तर, ती सक्रिय संक्रमित अहिले घरमै बसिरहेका छन् । गाउँलेहरू संक्रमण फैलिन सक्ने त्रासमा भए पनि उनीहरूलाई डाक्टरको निगरानीमा सुरक्षित स्थानमा राख्नेतर्फ कसैले चासो दिएका छैनन् । 

‘रोल्पामा अहिलेसम्म आइसोलेसन नभएकाले होम आइसोलेसनमै बस्न भनिएको छ,’ स्वास्थ्य कार्यालय रोल्पाका प्रमुख नोखराज पोख्रेलले नयाँ पत्रिकासँग भने, ‘कोरोनाको सक्रिय लक्षण नदेखिएकाले पनि घरमै सुरक्षित बस्न भनिएको हो ।’ रोल्पा छिर्ने मुख्य नाका सुलिचौर, होलेरीमा कोभिड चेकजाँचको व्यवस्था गर्ने भनिए पनि अहिलेसम्म सुरु गरिएको छैन । सवारीसाधनमा यात्रा गर्नेहरू निर्वाध रूपमा जिल्ला प्रवेश गरिरहेका छन् । 

रोल्पा अस्पतालबाहेक अन्यत्र छैन अक्सिजन
कोरोना सतर्कता शून्य रहेको अवस्थामा संक्रमण बढे थेग्न गाह्रो हुने रोल्पा अस्पताल व्यवस्थापन समितिका अध्यक्ष फबिन्द्र आचार्यले बताए । रोल्पा अस्पतालबाहेक अन्य कुनै पनि स्वास्थ्य संस्थामा अक्सिजन छैन । सक्रिय संक्रमितको संख्या बढे ठूलो समस्या खेप्नुपर्ने अवस्था आउन सक्ने आचार्यले जिकिर गरे । 

जिल्लामा अहिलेसम्म स्वाब संकलन नगरिएकाले पनि संक्रमित न्यून देखिएको रोल्पा अस्पतालका सूचना अधिकारी कुलबहादुर डाँगीले बताए । रोल्पामा पिसिआर जाँच नहुने भएकाले यसअघि स्वाब संकलन गरी दाङ, नेपालगन्ज वा बुटवल पठाउने गरिन्थ्यो । यसअघि स्थानीय तहहरूले कोरोना व्यवस्थापनका लागि भन्दै करोडौँ खर्चिएका थिए । अनावश्यक खर्च देखाएको भन्दै सर्वत्र आलोचनासमेत गरिएको थियो । तर, यसपटक आवश्यक तयारीमा कसैको ध्यान गएको छैन ।

ad
ad