मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत ६ मंगलबार
  • Tuesday, 19 March, 2024
तस्बिर : दिपेन्द्र ढुंगाना
नयाँ पत्रिका काठमाडाैं
२०७८ बैशाख ११ शनिबार ११:०४:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

प्रधानमन्त्रीले गरे २२ तले धरहराको उद्घाटन

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०७८ बैशाख ११ शनिबार ११:०४:००

प्रधानमन्त्री केपी शर्मा ओलीले शनिबार धरहराको उद्घाटन गरेका छन् । धरहरा बनाइएको स्थान सुन्धारामा शनिबार एक कार्यक्रमको आयोजना गरी प्रधानमन्त्री ओलीले २२ तले धरहराको उद्घाटन गरेका हुन् ।

उद्घाटनपश्चात् प्रधानमन्त्री ओली धरहरा चढेका छन् । उनले धरहराको बालकोनीबाट पुष्पवृष्टि गरी वरपरकाे दृश्यावलोकनसमेत गरेका छन् । 

१२ वैशाख २०७२ को भूकम्पले नौतले धरहरा ध्वस्त भएको  थियाे । पुरानो धरहराको भग्नावशेषलाई त्यहीँ राखेर नजिकै २२ तले नयाँ धरहरा पुनर्निर्माण गरिएकाे छ ।

पुनर्निर्माण सम्पन्न भएको धरहरामा ३३० किलोको गजुर राखिएको छ । मंगलधुन र स्वस्तिकवाचनसहित गत बुधबार बिहान ८ बजेको साइतमा राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका कार्यकारी अधिकृत सुशील ज्ञवालीसहितको सहभागितामा गजुर राखिएको हो ।

गजुर तामाबाट बनेको र बाहिरी आवरण सुनले लेपन गरिएको राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका सम्पदाविज्ञ राजुमान मानन्धरले जानकारी दिए । ‘धरहराको टुप्पामा ३३० किलोको सुनको जलप लगाएको गजुर राखिएको छ, त्यसमा ९५ तोला तीन लाल सुन छ,’ उनले भने ।  

१८८२ सालमा तत्कालीन प्रधानमन्त्री भीमसेन थापाले धरहरा निर्माण गरेका थिए । उनले महारानी त्रिपुरासुन्दरीदेवीको सम्झनास्वरूप यो स्मारक निर्माण गरेको भनाइ छ । त्यतिवेला ११ तलाको धरहरा १९९० सालको भुइँचालोमा भत्केको थियो । त्यसपछि नौ तला पुनर्निर्माण गरिएको थियाे । १२ वैशाख २०७२ को भूकम्पले नौतले धरहरा पनि ध्वस्त भएकाे थियाे ।