मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Saturday, 12 July, 2025
अन्नपूर्ण हिमाल आरोहण गर्दै आरोही पूर्णिमा श्रेष्ठ । तस्बिर सौजन्य : पेम्बा शेर्पा
कमल खत्री
Invalid date format o९:५८:oo
Read Time : > 2 मिनेट
फिचर प्रिन्ट संस्करण

अन्नपूर्णको चुचुरोमा नेपाली महिलाको पहिलो पाइला

Read Time : > 2 मिनेट
कमल खत्री
नयाँ पत्रिका
Invalid date format o९:५८:oo

फ्रान्सेली नागरिक मौरिस हर्जोग र लुइस लचेनले ७० वर्षअघि अन्नपूर्ण प्रथममा पहिलो मानव पाइला टेकेका थिए, त्यसयता धेरै आरोही चुचुरोमा पुगे पनि नेपाली महिलाले भने आरोहण गर्न सकेका थिएनन् 

गोरखाकी ३० वर्षीया पूर्णिमा श्रेष्ठ (फोटो पत्रकार) ले अन्नपूर्ण हिमाल आरोहण गरेकी छिन् । संसारको दशौँ अग्लो (८०९१ मिटर) अन्नपूर्ण प्रथम हिमालको आरोहण गरेर श्रेष्ठले आफ्नो सपना मात्रै पूरा गरेकी छैनन् यो हिमालमा पाइला राख्ने पहिलो नेपाली महिलाको कीर्तिमान पनि बनाएकी छिन् । 

म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङस्थित अन्नपूर्ण (प्रथम) हिमालको चुचुरोमा श्रेष्ठसहित ६ जना नेपाली महिलाले ३ वैशाखमा पहिलो पाइला टेकेर कीर्तिमान बनाएका हुन् । उक्त दिन दिउँसो सवा १ बजेदेखि साढे १ बजेसम्मको अवधिमा उनीहरू सबै चुचुरोमा पुगेका थिए । अन्नपूर्ण आरोहणलाई निकै जोखिमयुक्त मानिन्छ । तर, पूर्णिमा श्रेष्ठसहित दावा याङ्जुम शेर्पा, पासाङल्हामु शेर्पा, माया शेर्पा, शर्मिला स्याङ्तान र डाबुटी शेर्पाले आरोहण यात्रालाई सफल बनाएका छन् । ‘दुई वर्षदेखिको दृढ संकल्प पूरा भएको छ, अन्नपूर्ण र धौलागिरिमा नेपाली महिलाको आरोहण सफल भएको थिएन, यसपटक हामी ६ जनाले एकैसाथ अन्नपूर्णको चुचुरोमा पाइला राख्न सफल भयौँ,’ आरोहणपछि बेनी आइपुगेकी श्रेष्ठले भनिन् । काठमाडाैँबाट यात्रा सुरु गरेको एक महिनामा टोली आरोहण सकेर बेनी आइपुगेको हो । 

अन्नपूर्ण हिमाल अर्थात् डेथ जोन
हुन त हिमाल आरोहण सबैका लागि अप्ठ्यारो, जोखिम र चुनौतीपूर्ण हुन्छ । यसमाथि पनि अन्नपूर्ण आरोहण गर्न दुईवटा हिमाल चढ्नुजत्तिकै खर्च लाग्ने श्रेष्ठले बताइन् । ‘अन्नपूर्ण प्रथम आरोहणलाई डेन्जर मात्रै होइन डेथ जोनका रूपमा लिने गरिन्छ । अधिकांश आरोही अन्य सबै हिमाल आरोहण गरिसकेपछि मात्रै अन्नपूर्णमा जाने गर्छन्, आधार शिविर पुगेपछि मैले पनि प्राण किन धरापमा राखेको होला जस्तो लागेको थियो ? तर, हिम्मत, साहस र संकल्पसँगै टिमवर्कका कारण आरोहण सफल भयो,’ श्रेष्ठले अनुभूति सुनाइन् ।

एभरेष्ट म्याराथनको तस्बिर खिच्ने क्रममा पहिलोपटक सगरमाथाको आधारशिविर पुगेकी श्रेष्ठले हिमाली क्षेत्रको महत्वलाई प्रचार गर्न हिमाल आरोहण गर्ने अठोट गरेकी थिइन् । श्रेष्ठले सन् २०१७ मा मनास्लु, २०१८ मा सगरमाथा र २०१९ मा अमादब्लम हिमाल आरोहण गरिसकेकी छिन् । हिमाल आरोहणका क्रममा खिचेका तस्बिर र भिडियोमार्फत यस क्षेत्रको पर्यटन विकासमा सघाउने आरोहणको पहिलो उद्देश्य भएको श्रेष्ठको भनाइ छ । 

एकैदिन दुई कीर्तिमान 
आरोहणको हिसाबले जेठो हिमाल अन्नपूर्णमा ३ वैशाखमा दुई कीर्तिमान कायम भएको छ । पहिलोपटक एकैदिन ६ नेपाली महिलाले आरोहण गरेकै दिन अहिलेसम्मकै धेरैजनाले आरोहण गरेर कीर्तिमान राखेका छन् । सो दिन ६ नेपाली महिलासहित ६७ जनाले अन्नपूर्ण आरोहण गरेको सेभेन समिट ट्रेकका पथप्रदर्शक पेम्बा शेर्पाले जानकारी दिए । उक्त ट्रेकबाट गएका १७ जनामध्ये १५ जनाले आरोहण गरेको उनको भनाइ छ । म्याग्दीको अन्नपूर्ण गाउँपालिकाको नारच्याङदेखि पदयात्रा गरी आधार शिविर पुगेका आरोहीहरूले शिविरबाट आरोहणका बन्दोबस्तका सामान जुटाएर हिमाल उक्लिएका हुन् ।

आरोही टोलीलाई सम्मान
अन्नपूर्ण हिमाल सफल आरोहण गरेर कीर्तिमान कायम गरेका पत्रकार पूर्णिमा श्रेष्ठको टोलीलाई म्याग्दीमा सम्मान गरिएको छ । टोलीलाई नेपाल पत्रकार महासंघ म्याग्दीले बेनीमा स्वागत तथा सम्मान गरेको हो । यसैबीच महिला आरोहीको टोलीलाई अन्नपूर्ण गाउँपालिका, नारच्याङका युवा क्लब, आमासमूह, विद्यालय र स्थानीयवासीले समेत सम्मान गरेका थिए ।

अन्नपूर्ण पदमार्गले चर्चा बटुल्दै 
फ्रान्सेली नागरिक मौरिस हर्जोग र लुइस लचेनले ७० वर्षपहिले अन्नपूर्ण प्रथममा पहिलो मानव पाइला टेकेका थिए । उनीहरूले ३ जुन १९५० अर्थात् २१ जेठ २००७ सालमा अन्नपूर्णको सफल आरोहण गरेका थिए । हर्जोगको नेतृत्वमा पहिलोपटक अन्नपूर्ण आरोहणको सम्झनामा अन्नपूर्ण गाउँपालिकाले नारच्याङ हुँदै आधार शिविर पुग्ने पदमार्गलाई ‘मौरिस हर्जोग ट्रेल’ नामाकरण गरेको छ ।

अन्नपूर्ण प्रथम आरोहणको तीन वर्षपछि सगरमाथामा मानव पाइला परेकाले अन्नपूर्णलाई जेठो हिमाल भनिन्छ । अन्नपूर्ण पदयात्रामा हिमाल आरोहण मात्र नभएर झरना, ताल, हिमाल, वन्यजन्तु, वनस्पति पदमार्गका आकर्षणका रूपमा रहेका छन् ।