१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ बैशाख २ बिहीबार
  • Sunday, 06 July, 2025
नयाँ पत्रिका काठमाडौं
२o७८ बैशाख २ बिहीबार १९:४o:oo
Read Time : > 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

संक्रमण अति प्रभावित १४ जिल्लाका विद्यालय नजान स्वास्थ्य मन्त्रालयको अपिल

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७८ बैशाख २ बिहीबार १९:४o:oo

सरकारले कोभिड– १९ को संक्रमण बढ्दै गएकाले अति प्रभावित १४ जिल्लाका विद्यालयलगायत भिडभाड हुने ठाउँमा नजान आग्रह गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले बिहीबार अपिल जारी गर्दै पछिल्ला दिनमा संक्रमण बढ्दै गएकाले काठमाडौं, ललितपुर, कास्की, रूपन्देही, चितवन, बाँके, पर्सा, भक्तपुर, कैलाली, मोरङ, दाङ, सुर्खेत, बारा र बाग्लुङका विद्यालयलगायत भिड हुने ठाउँमा नजान आग्रह गरेका छन् ।

‘ती जिल्लाका बढी भिडभाड हुने सबै क्षेत्र तथा सेवा अविलम्ब बन्द गर्नुपर्ने अवस्था भए पनि विद्यालय, रात्रि व्यवसाय, ७ बजेपछि सबै रेस्टुरेन्ट तथा क्लब, खेलकुद, जिम, सार्वजनिक पूजाआजा तथा जात्रा, सभा, सम्मेलन, बैठक तथा भेला, सिनेमा हल, सपिङ मल, नाचघर, पार्टी प्यालेस, हेल्थ क्लब, स्विमिङ पुल आदि स्थलमा सहभागी नभइदिन हुन अनुरोध छ,’ अपिलमा भनिएको छ ।

उनले अबका दिन संक्रमण प्रभावका हिसाबले निकै नै चुनौतीपूर्ण हुन सक्ने भएकाले सबै नागरिक तथा सरोकारवाला निकाय सचेत हुँदै संवेदनशील रूपमा जिम्मेवार बन्न पनि आग्रह गरे । अपिलमा जनस्वास्थ्यका मापदण्डको कडाइका साथ पालना गर्न अनुरोध गरिएको छ । उनले सबैलाई संक्रमणबाट जोगिन संवेदनशील भइदिन र ‘मेरो स्वास्थ्य मेरो जिम्मेवारी’ भन्ने बुझेर जिम्मेवार बनिदिन अनुरोध गरेका छन् । अपिलमा सबै अस्पतालले अनिवार्य रूपमा ज्वरो (फिवर) क्लिनिक सञ्चालन गर्न भनिएको छ । 

अधिकारीले विदेशी नागरिकलाई पिसिअर नेगेटिभ आएपछि मात्र होटेलमा राख्न अनुरोध गरेका छन् । मन्त्रालयले नियमित रूपमा अस्पतालमा सेवा लिन आइरहेका सेवाग्राहीलाई कोभिड– १९ संमक्रण पुष्टि भएका आधारमै मात्र अन्य अस्पतालमा पठाउने गरेर अनावश्यक दुःख हुने काम नगराउन आग्रह गरेको छ ।

अधिकारीले सबै सरकारी अस्पतालले कम्तीमा ५० प्रतिशत शय्या कोभिड– १९ संक्रमितलाई व्यवस्थापन गर्न र तोकिएअनुसार निःशुल्क सेवा दिन पनि अपिल गरेका छन् । मन्त्रालयले बालबालिका, गर्भवती, सुत्केरी महिला, अपांगता भएका व्यक्ति, ज्येष्ठ नागरिकलाई कोभिड– १९ को परीक्षण तथा उपचारमा उच्च प्राथमिकतामा राख्न अनुरोध गरेको छ ।