१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ १ मंगलबार
  • Tuesday, 14 May, 2024
अजित अधिकारी काठमाडौं
२o८१ जेठ १ मंगलबार १o:२४:oo
Read Time : > 3 मिनेट
ad
ad
अर्थ प्रिन्ट संस्करण

चुहावट नियन्त्रण गर्न ‘इआरपी  सफ्टवेयर’ लागू गर्दै आयल निगम

Read Time : > 3 मिनेट
अजित अधिकारी, काठमाडौं
नयाँ पत्रिका
२o८१ जेठ १ मंगलबार १o:२४:oo

सफ्टवेयर लागू भएपछि व्यवसायीले डिपोमा धाएर तेल माग्ने र पैसा बुझाउने झन्झट गर्नु नपर्ने, दैनिक रूपमा ट्यांकरबाट आयात गर्ने इन्धन, बिक्री परिमाण, मौज्दात इन्धनसम्बन्धी अपडेट राख्न सकिने

नेपाल आयल निगमले बिहीबारबाट वित्तीय अनुशासन कायम राख्ने र इन्धन कारोबारको पारदर्शी विवरण राख्ने इन्टरप्राइजेज रिसोर्स प्लानिङ (इआरपी) सफ्टवेयर देशभरका कार्यालयमा एकसाथ लागू गर्दै छ । यो सफ्टवेयर लागू भएपछि निगमले दैनिक रूपमा ट्यांकरबाट आयात गर्ने इन्धन, बिक्री परिमाण, मौज्दात इन्धन, लेखा, प्रशाशन, आयोजना व्यवस्थापन, जोखिम व्यवस्थापनलगायत आपूर्तिसँग जोडिएका सबै काम एउटै सफ्टवेयरमार्फत सञ्चालन गरी पारदर्शिता कायम हुने निगमले जनाएको छ ।

इआरपी सफ्टवेयर आएपछि इन्धन ढुवानी, वितरण र लेखा प्रणालीलाई सुधार गरी चुहावट नियन्त्रणमा सघाउ पुग्ने निगमको अपेक्षा छ । निगमका कार्यकारी निर्देशक सुरेन्द्र पौडेलले पारदर्शी कारोबार र चुहावट नियन्त्रणका लागि इआरपी सफ्टवेयर निगमका लागि निकै लाभदायी हुने बताए । ‘पम्प व्यवसायीले डिपोमा धाएर तेल माग्ने र पैसा बुझाउने झन्झट अबका दिनमा गर्नुपर्दैन’ पौडेलले भने, ‘घरमै बसेर तेलको माग गर्ने र विद्युतीय प्रणालीबाट रकम भुक्तानी गरे पुग्छ ।’ 

देशभरका डिपोमा रहेको तेलको मौज्दात, बाटोमा ढुवानी हुँदै गरेको तेलको परिमाण, इन्डियन आयल कर्पोरेसन (आइओसी)ले दिएको तेलको परिमाणलगायत सबै तथ्यांक सफ्टवेयरमार्फत सजिलै जानकारी पाउन सकिन्छ । यस्तो सफ्टवेर केन्द्रीय कार्यालयबाट नियमन हुने र सबै डिपोमा तोकिएका कर्मचारीको पहुँचमा हुने भएकाले कुन डिपोको कार्य प्रगति कस्तो छ भनेर सबैले हेर्नसमेत मिल्नेछ ।

पम्प व्यवसायीले सफ्टवेयरमार्फत नै तेलको माग गर्ने हुँदा कुन ठाउँमा तेल कम वा बढी गएको छ भन्ने सजिलैसँग हेरेर माग र आपूर्तिको तालमेल मिलाउन सकिने कार्यकारी निर्देशक पौडेलले बताए । ‘अबका दिनमा निगमकै कारणले पम्पमा तेल नगएर उपभोक्ताले आपूर्तिमा असहजता भोग्नुपर्ने हुँदैन । कुन डिपोले कुन पम्पलाई तेल दिएको छैन भन्ने केन्द्रीय कार्यालयबाटै हेरेर निर्देशन दिन सकिन्छ’ पौडेलले भने, ‘कुनै पम्पमा आवश्यकता बढी तेल गएर तस्करी हुन खोजेको छ भने पनि नियन्त्रण गर्न सघाउ पुग्छ ।’

आयल निगमले ९ महिनाअघिबाट इआरपी सफ्टवेयर लागू गर्न आवश्यक गृहकार्य गरेको थियो । सफ्टवेयर लागू गर्न सबै कर्मचारी तथा व्यवसायीलाई तालिम दिइसकिएको छ । पम्प तथा इन्धन ओसार्ने ट्यांकरधनी र चालक तथा सहचालकलाई पनि नियमित तालिम दिएर सफ्टवेयरबारे बुझाउँदै लगिने निगमका प्रवक्ता विनितमणि उपाध्यायले बताए ।

‘व्यववसायीले घर बसेरै तेलको डिमान्ड गर्न सक्ने र पैसा तिर्न सक्नेछन् । ढुवानी व्यवसायीले पनि घरमै बसेर इन्धन ओसारेबापतको भाडा पाउनुहुनेछ’ उपाध्यायले भने । उनका अनुसार बिहीबारबाट सबै डिपोमा इआरपी लागू गर्न केन्द्रीय कार्यालयबाट उच्चस्तरका कर्मचारीको नेतृत्वमा टिम परिचालन गरिएको छ ।

नयाँ बिलिङ सिस्टमबाट बिहीबारदेखि इआरपी लागू गर्नका लागि निगमले बुधबार र बिहीबार पम्पलाई इन्धन वितरण बन्द गरेको छ । एक सातादेखि पम्पहरूलाई यस विषयमा जानकारी दिएर पर्याप्त तेल दिइरहेकाले दुई दिन वितरण बन्द गर्दा बजारमा असहज नहुने प्रवक्ता उपाध्यायले बताए ।

देशभरको डिपोबाट एकैसाथ इआरपी सफ्टवेयर देशभरका डिपोबाट एकैसाथ कार्यान्वयन गर्ने गरी केन्द्रबाट टिम परिचालन गरिएको छ । १ नम्बर प्रादेशिक कार्यालय, विराटनगरमा निमित्त नायब कार्यकारी निर्देशक नागेन्द्र साहको नेतृत्वमा कर्मचारी पठाइएको छ । डिपो प्रमुख नकुल भण्डारीका अनुसार बिहीबार सफ्टवेयरबाट काम गर्नका लागि द्रुत गतिमा गृहकार्य अघि बढाइएको छ । ‘हामी अन्तिम तयारीमा लागेका छौँ, कुनै समस्या नभई कार्यान्वयन गर्नेछौँ’ भण्डारीले भने ।

बाराको अमलेखगन्जस्थित २ नम्बर प्रादेशिक कार्यालयमा वितरण विभाग प्रमुख दीपक बरालको नेतृत्वमा टिम परिचालन भएको छ । अमलेखगन्ज डिपो प्रमुख प्रदीप यादवका अनुसार सफ्टवेयर सञ्चालनका लागि कर्मचारीलाई तयारी अवस्थामा राखिएको छ । ‘बिहीबारबाट पम्पलाई दिइने तेलको बिलिङ र इन्धन ओसार्ने ट्यांकरलाई भाडाबापत दिनुपर्ने भुक्तानी रकम सफ्टवेयरमार्फत नै गर्नेछौँ’ उनले भने । सफ्टवेयर सञ्चालनका लागि बुधबार र बिहीबार तेल वितरण बन्द गर्ने भएपछि मंगलबार दोब्बरभन्दा बढी तेल पेट्रोलपम्पमा पठाएको यादवले बताए । थानकोटस्थित बागमती प्रादेशिक कार्यालयमा नायब कार्यकारी निर्देशक सुशील भट्टराईको नेतृत्वमा टिम परिचालन भएको छ । डिपो प्रमुख अभिषेक ठाकुरका अनुसार सफ्टवेयरमा पुरानो डाटा राख्ने र युसर ट्रेन्ड गर्ने काम भइरहेको छ । थानकोटको लेखा शाखाका कर्मचारीले एक हप्तादेखि साँझ ७ बजेसम्म काम गरिरहेको उनले बताए । 

पोखरास्थित गण्डकी प्रादेशिक कार्यालयमा निर्देशक वीरेन्द्र गोइतको समूह खटिएको छ । भैरहवास्थित लुम्बिनी प्रादेशिक कार्यालयमा निर्देशक पूर्णप्रसाद रिजाल पुगेका छन् । डिपो प्रमुख प्रलयंकर आचार्यका अनुसार तेल वितरण तथा ढुवानी बिलिङलगायतका सबै काम बन्द गरेर सफ्टवेयर सञ्चालनमा ध्यान दिइएको छ । ‘डिपोबाट हुने गतिविधि इआरपीमार्फत सफल सञ्चालन गर्न हामी लागेका छौँ’ आचार्यले भने ।

सुर्खेतस्थित कर्णाली प्रादेशिक कार्यालयमा निर्देशक नेत्र काफ्ले र धनगढीस्थित सुदूरपश्चिम प्रादेशिक कार्यालयमा निर्देशक अशोक साहको नेतृत्वमा इआरपी कार्यान्वयन हुँदैन ।

पम्प व्यवसायीको असहमति

निगमले सफ्टवयरमार्फत कारोबार गर्ने जनाए पनि पेट्रोलपम्प व्यवसायीले भने असहमति राखेको छ । पेट्रोलियम व्यवसायीको छाता संगठन पेट्रोलियम डिलर्स राष्ट्रिय एसोसिएसनले विज्ञप्ति जारी गर्दै इआरपीबाट इन्धनको माग गर्ने र रकम भुक्तानी गर्ने प्रणालीबार अनभिज्ञ रहेकाले तत्काल कार्यान्वयन नगर्न आग्रह गरेको हो । एसोसिएसनका अध्यक्ष लिलेन्द्र प्रधानले इआरपी सफ्टवेयरमा रहेका कमजोरी सुधार गर्न यसअघिेका आग्रहलाई समेत निगमले बेवास्ता गरेका बताए ।

‘सफ्टवेयरमार्फत तेल माग्ने र पैसा बुझाउने प्रणालीबारे सहरी क्षेत्रका केही व्यवसायीले जान्लान् । दूरदराजका पम्प व्यवसायी त अप्ठ्यारोमा पर्ने भए भनेर हामीले ध्यानाकर्षण गराएको हौँ’ उनले भने, ‘निगमले ३ वैशाखबाट इआरपी लागू गर्ने भए त्यसमा हाम्रो कुनै गुनासो छैन । तर, पुरानो सिस्टमलाई पनि निरन्तरता दिऔँ र सबै पम्प व्यवसायी इआरपीबारे जानकार भएपछि १ साउनबाट पूर्ण रूपले कार्यान्वयन गर्न हामीले सुझाब दिएका छौँ ।’

पेट्रोलियम व्यवसायीलाई नियमन गर्न निगमले बनाएको विक्रेता विनियमावलीलाई समेत संशोधन गरी इआरपी सफ्टवेयर लागू गर्न व्यवसायीले आग्रह गरेका छन् । निगमका प्रवक्ता विनितमणि उपाध्यायले व्यवसायीको विरोधपछि छलफल गरी समस्या समाधानका लागि पहल गर्न अघि बढिसकेकाले इआरपी कार्यान्वयनमा सघाउन निर्देशन दिएको बताए ।

ad
ad