मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत ६ मंगलबार
  • Tuesday, 19 March, 2024
२०७८ बैशाख २ बिहीबार ०७:०९:००
Read Time : > 1 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

प्युठानमा जिप दुर्घटना हुँदा गुल्मीका पाँचको मृत्यु

गम्भीर घाइते ६ जनालाई सेनाको हेलिकोप्टरमार्फत काठमाडौं लगियो

Read Time : > 1 मिनेट
२०७८ बैशाख २ बिहीबार ०७:०९:००

नयाँ वर्षको दिन सार्वजनिक बिदा भएकाले जिल्ला प्रशासन कार्यालय गुल्मीका प्रशासकीय अधिकृत श्याम न्यौपानेसहितका १६ जना कर्मचारी पूजाअर्चनाका लागि प्युठानको स्वर्गद्वारी हिँडे । तर, उनीहरू स्वर्गद्वारी पुग्न पाएनन् । उनीहरू सवार लु.१ज १६५५ नम्बरको जिप बुधबार बिहान साढे ११ बजे प्युठान स्वर्गद्वारी नगरपालिका–२ रुमालेमा दुर्घटना भयो । दुर्घटनामा पाँचको मृत्यु भएको छ । १२ जना घाइते भएका छन् ।

जिप दुर्घटनामा जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत श्याम न्यौपाने, कम्प्युटर अपरेटर सूर्यप्रसाद पन्थी, खरिदार ईश्वरी भण्डारी, यमलाल पन्थी र सवारीचालक मुसिकोट नगरपालिका– ३ का केशव कार्कीले ज्यान गुमाए । न्यौपाने स्याङ्जाबाट गुल्मी मालपोत कार्यालय हुँदै जिल्ला प्रशासन आएका थिए । 

दुर्घटनामा मृत्यु हुने सूर्यप्रसाद पन्थी र गम्भीर घाइते कमला ज्ञवाली दिदीभाइ हुन् । कमलाले भाइ गुमाइन्, आफू र छोरा सार्थक ज्ञवाली गम्भीर घाइते छन् । अहिले सूर्य र कमलाको परिवार शोकमा डुबेको छ । दुर्घटनामा प्रशासन कार्यालयका सुनिता कँडेल, तारा भण्डारी, दिलबहादुर थापा, गीता बोहरा मुखिया र छोरा अनिश मुखिया घाइते भएका छन् । जिपमै सवार वसन्ती पौडेल र उनका चार वर्षीया छोरी निकिता पौडेल, ६ वर्षीय आशिष भण्डारी पनि घाइते भएका छन् ।

प्युठान दुर्घटनामा गम्भीर घाइते कमला ज्ञवाली र छोरा सार्थक ज्ञवाली, गीता मुखिया र छोरा अनिश मुखिया, सन्दीप परियार र मुना पाण्डेलाई थप उपचारका लागि नेपाली सेनाको हेलिकोप्टरमार्फत काठमाडौं लगिएको जिल्ला प्रहरी कार्यालय प्युठानका सूचना अधिकारी प्रहरी निरीक्षक देवीप्रसाद गैरेले जानकारी दिए । बाँकी पाँच घाइतेको प्युठानकै बिजुवार र भिंग्री प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार भइरहेको छ । 

नयाँ वर्षका दिन लगातार दु:खद घटना

गत वर्ष पनि नयाँ वर्षकै दिन बडीगाडको पक्की पुल ढल्यो । कालिगण्डकी गाउँपालिकामा दुई वृद्धाले एउटै डोरीमा पासो लगाएर आत्महत्या गरे । अहिले पनि गुल्मीमा दुई दुर्घटना भए । जिल्लाले ठूलो मानवीय क्षति व्यहोर्नुपर्‍यो । जिल्ला प्रशासन कार्यालयको सेवा प्रवाह नै अवरुद्ध हुने स्थिति छ । मृतक श्याम न्यौपाने प्रशासकीय अधिकृत हुन् । उनले प्रशासनको नागरिकता फाँटको महत्वपूर्ण काम गरिरहेका थिए । सूर्य पन्थी पनि नागरिकता शाखाकै कम्प्युटर अपरेटर हुन् । उनले नागरिकतासम्बन्धी विवरण संकलन तथा प्रिन्ट गर्ने काम गर्थे । यमलाल पन्थीले नागरिकताकै प्रतिलिपि शाखामा काम गर्दै आएका थिए । 

ईश्वरी भण्डारीले मुद्दा शाखामा काम गरिरहेका थिए । अन्य शाखाका कर्मचारी र कार्यालय सहयोगीसमेत घाइते भएका छन् । जसका कारण सेवा प्रवाहमा समस्या उत्पन्न हुने अवस्था आएको प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले बताइन् । ‘प्रशासनका महत्वपूर्ण फाँटकै कर्मचारीहरूको दुर्घटनाले स्तब्ध बनायो,’ उनले भनिन्, ‘शोकलाई शक्तिमा बदलेर सेवा प्रवाह व्यवस्थापन गर्छौँ ।’ 

यस्तै, बुधबार दिउँसो गुल्मीको सत्यवती गाउँपालिका– ३ स्थित क्वाङखोलामा टेम्पो दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । दुर्घटनामा सत्यवती गाउँपालिका–३ ठूलो लुम्पेककी तारा राहादीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका सूचना अधिकारी पुरुषोत्तमप्रसाद पाण्डेयले जानकारी दिए । 

लुम्पेकबाट सत्यवती मन्दिर दर्शनका लागि हिँडेको लु.२स ००९९ टेम्पो क्वाङखोलामा दुर्घटना परेको थियो । घाइते हुनेमा संगीता राहादी, मीना राहादी, इन्द्रा तरामु र ज्ञानबहादुर तरामु छन् । घाइतेको अवस्था गम्भीर भएकाले थप उपचारका लागि पाल्पा पठाइएको सत्यवती गाउँपालिकाका अध्यक्ष पारिश्वर ढकालले जानकारी दिए । टेम्पो सडकदेखि दुई सय मिटर तल खोलामा खसेको छ । टेम्पोचालक भने फरार रहेको प्रहरीले जनाएको छ ।