Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७८ बैशाख १ बुधबार १०:३८:००
Read Time : > 1 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

काठमाडौं प्लाजामा नेपाल ट्रस्टले ताल्चा लगाउने

महानगरलाई भाडामा दिइएको भवनमा अझै ४० फर्म सञ्चालनमा

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७८ बैशाख १ बुधबार १०:३८:००

नेपाल ट्रस्टको कार्यालयले कमलादीस्थित काठमाडौं प्लाजा भवनमा रहेका फर्महरूमा २ वैशाखदेखि ताल्चा लगाउने भएको छ । गत ३ असारदेखि अवैधानिक रूपमा बस्दै आएका फर्महरूमा १० महिनापछि ट्रस्टले ताल्चा लगाउन लागेको हो । कार्यालयले सुरक्षा निकायलगायत सरोकारवाला निकायको सहयोगमा भवन आफ्नो नियन्त्रणमा लिन लागेको ट्रस्टका कार्यकारी सचिव सुरेश आचार्यले जानकारी दिए । 

कार्यालयले भवन खाली गर्न ०७७ असारदेखि बारम्बार सूचना प्रकाशन गरे पनि भाडामा बसेका कम्पनीले अटेर गरिरहेका छन् । भवन भाडा लिने दोस्रो पक्ष कन्सेप्ट डेभलपर्सले भवन खाली गर्न व्यवसायीले अटेरी गरेका कारण कार्यालयलाई नियन्त्रण लिन सहमति दिएको छ । सो सहमतिसँगै २५ चैतमा कार्यालयले दिएको अन्तिम समय सकिएपछि २ गते फर्ममा सिल गरेर कब्जामा लिने तयारी भएको सचिव आचार्यले जानकारी दिए ।  

कार्यालयले भवन खाली गर्न पहिलोपटक असारमा सूचना प्रकाशन गरेको थियो । ०५० सालमा कन्सेप्ट डेभलपर्ससँग भएको २७ वर्षको सम्झौता सकिएपछि उक्त भवन काठमाडौं महानगरपालिकालाई दिने निर्णय ट्रस्टले गरेको थियो । लामो समयसम्म कन्सेप्टले भवन खाली गरेको थिएन । भवन खाली गराउन बारम्बार ताकेता गरेपछि कन्सेप्टले भने सहमति दिएको छ ।

कार्यालयले १० महिनाको अवधिमा भवन खाली गराउन भन्दै ३ पटकसम्म सूचना जारी गरिसकेको छ । तर, भवनमा रहेकाहरू अटेरी गर्दै अदालतसम्म पुगेका थिए । अदालतले पनि भवन खाली गराउनुपर्ने गरी व्यवसायीले दायर गरेको रिटमा अन्तरिम आदेश जारी गरेन । तर, पनि व्यवसायीले भवन खाली गराएका छैनन् । 

अहिले उक्त भवनमा ४० वटाजति फर्म छन् । अन्यले भने खाली गरिसकेका छन् । दुईवटा बैंकलाई भने राष्ट्र बैंकको आग्रहलाई मान्दै केही समय दिने कार्यालयको भनाइ  छ । साथै, नेपाल टेलिकमको विषयमा पनि दुईपक्षीय सहमतिमा काम हुने कार्यालयको भनाइ छ ।  

कन्सेप्टसँगको सम्झौता सकिएसँगै ट्रस्टको कार्यालयले काठमाडौं प्लाजा कार्यालयीय प्रयोजनका लागि काठमाडौं महानगरलाई दिने निर्णय गरिसकेको छ । तर, कन्सेप्टले भवन खाली नगर्दा महानगरसँग दुईपक्षीय सम्झौता हुन सकेको छैन । साथै, ट्रस्टको कार्यालयले असारदेखिको भाडासमेत पाएको छैन ।

ट्रस्टको कार्यालयले काठमाडौं महानगरपालिकालाई ६० लाख ५० हजार रुपैयाँ मासिक भाडा तिर्ने गरी काठमाडौं प्लाजा दिने निर्णय गरेको थियो । नेपाल ट्रस्टको सञ्चालक बोर्डबाट पारित गर्दै ट्रस्टको कार्यालयले गरेको सिफारिसका आधारमा काठमाडौं प्लाजा महानगरपालिकालाई दिने निर्णय मन्त्रिपरिषद्ले गरेको थियो । हालको कम्पनीले ट्रस्टलाई मासिक ६ लाख मात्रै दिँदै आएको छ । 

ट्रस्टको कार्यालयले काठमाडौं–३२, कमलादीस्थित काठमाडौं प्लाजाको भवन महानगरपालिकालाई दिने तयारी गरेसँगै पहिलोपटक असार २ गते पुरानो सम्झौताअनुसार व्यवसाय गरिरहेका कम्पनीलाई खाली गर्न भन्दै सूचना प्रकाशन गरेको थियो । ५ रोपनी २ दाम क्षेत्रफलको जग्गा कन्सेप्ट डेभलपर्सलाई दिने गरी ०५० साल असार ३ गते सम्झौता भएको थियो ।