१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ११ मंगलबार
  • Tuesday, 23 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७७ चैत ३१ मंगलबार १६:५५:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

कार्यान्वयन सुनिश्चित हुने गरी बजेट ल्याउँछौँ : अर्थमन्त्री पौडेल

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७७ चैत ३१ मंगलबार १६:५५:००

अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बजेट निर्माणका आधारभूत सिद्धान्तहरूलाई आत्मसात् गरेर अनुशासित बजेट ल्याउने तयारी गरिरहेको बताएका छन् । प्रतिनिधिसभाअन्तर्गतको अर्थ समितिको मंगलबारको बैठकमा आगामी आर्थिक वर्षको बजेटको तयारीबारे छलफलमा उपस्थित भएका पौडेलले कार्यान्वयन सुनिश्चित गरेर अनुशासित बजेट निर्माण गरिने बताएका हुन् । 

यस्तै, कोभिड– १९ ले सिर्जना गरेको चुनौती र त्यसको सामना गर्ने कुरालाई बजेटले सर्वोच्च प्राथमिकतामा राख्ने पनि उनले बताए । कोभिड संक्रमण नियन्त्रण, उपचार र खोपको प्रबन्ध गर्ने, कोभिडबाट प्रभावित आर्थिक, सामाजिक जीवनलाई पुनरुत्थान गर्ने कुरामा चालू आर्थिक वर्षको बजेटले सम्बोधन गरेको र आगामी बजेटबाट पनि सम्बोधन गर्ने प्रयास हुने उनले बताए । 

अन्य मन्त्रालयसँग पनि समन्वय गरी बजेट निर्माण गर्ने अर्थमन्त्री पौडेलले बताए । बजेट निर्माणमा सम्बन्धित मन्त्रालयहरू नै सम्पूर्ण रूपमा जवाफदेही भएर काम गर्ने विश्वास भएकाले अर्थ मन्त्रालयले हस्तक्षेप नगर्ने उनले स्पष्ट पारे । 

आर्थिक वर्षको अन्त्यसम्म पनि आयोजना कार्यान्वयन नहुने अवस्थाका आयोजनाका लागि बजेट विनियोजन गर्नेभन्दा पनि कार्यान्वयनमा गइसकेका र कार्यान्वयनमा जाने चरणमा रहेका आयोजनालाई आवश्यक बजेट विनियोजन गर्ने पनि उनले बताए । आयोजना कार्यान्वयनको सन्दर्भमा विगतका समस्याको पुनरावृत्ति नहोस् भन्ने सन्दर्भमा मन्त्रालय सजग रहेको उनको भनाइ छ ।