१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024
२०७५ फाल्गुण ४ शनिबार ०७:५४:००
Read Time : > 5 मिनेट
फिचर

पशुपतिशमशेर राणा र कमल थापाको सम्बन्ध : पदीय प्रतिष्ठाको लडाइँ

Read Time : > 5 मिनेट
२०७५ फाल्गुण ४ शनिबार ०७:५४:००

पशुपतिशमशेर राणा र कमल थापा दुवै पूर्वपञ्च हुन् । दुवै पञ्चायती राजनीतिका शक्तिशाली खेलाडी । अहिले राणा छन्, राष्ट्रिय प्रजातन्त्र पार्टी (संयुक्त) का अध्यक्ष, अनि थापाचाहिँ राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष । पञ्चायत–राजनीतिमा उत्पादन भए पनि यी दुवै खेलाडी ०४६ पछिको बहुदलकाल र ०६३ पछिको गणतन्त्रकालमा समेत राजनीतिमा धेरै अर्थमा शक्तिशाली भूमिकामै रहे । शक्ति अभ्यासले उनीहरूको सम्बन्ध भने चिसोतातो बनाइरह्यो ।

०४६ को जनआन्दोलनपछि पनि यी दुवै नेताले राजा र राजतन्त्रका पक्षमा वकालत गर्न छाडेनन् । ०६५ पछि देश संविधानतः धर्मनिरपेक्षता र गणतन्त्रमै प्रवेश ग-यो । तर, राणा र थापा भने सनातन हिन्दूराष्ट्र, संवैधानिक राजतन्त्र वा राजासहितको प्रजातन्त्रको वकालत गरिरहेका छन् । एउटै एजेन्डा र एउटै प्रकृतिको राजनीति लामो समयसम्म गरे पनि दुई नेताबीचको सम्बन्ध भने सौहार्द कहिल्यै देखिएन । पञ्चायतकालमै थापा पञ्चायतका हस्ती सूर्यबहादुर थापासँग थिए भने राणा लोकेन्द्रबहादुर चन्दका पक्षमा । 

बहुदलपछि पनि पञ्चहरू राजनीतिमा आए । दुई पार्टी खोलेर । सूर्यबहादुर थापा नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टी (थापा समूह)मा लागेका कमल सुरुमा राजनीतिक सचिव र केही समयमै प्रवक्ता बने । अनि, चन्द नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टीमा लागेका राणा सो समूहको महामन्त्री बने । 

 राजनीतिक  करिअरमा राणा सिनियर
राजनीतिक करिअर थापाभन्दा राणाकै अघि सुरु भएको देखिन्छ । राणा ०२९ सालमा राष्ट्रिय पञ्चायत सदस्य चुनिएर शिक्षा राज्यमन्त्री बने । थापा भने तिनताका राष्ट्रवादी स्वतन्त्र विद्यार्थी मण्डलका अध्यक्ष थिए । ०३४ सालमा पुनः राष्ट्रिय पञ्चायत सदस्य भएर राणा शिक्षामन्त्री हुँदा थापा ‘गाउँ फर्क’ अभियानको नारायणी अञ्चलको सदस्यसचिव मात्र थिए । 

पञ्चायतकालमा चारपटक निर्वाचन जित्दै राणाले आधा दर्जन मन्त्रालयको जिम्मेवारी सम्हाले । थापा पञ्चायतमा ०४३ सालमा एकपटक मात्रै राष्ट्रिय पञ्चायत सदस्य चुनिए र मरिचमानसिंह श्रेष्ठको प्रधानमन्त्री कालमा वन तथा भूसंरक्षणमन्त्री बने । बहुदलपछि बनेको राप्रपामा पनि थापा राणाभन्दा कम वरियतामै बसेर काम गरेका छन् ।

०४९ सालमा थापा समूह र चन्द समूहबीचको एकतापछि बनेको पार्टीमा राणा महामन्त्री र थापा प्रवक्ता भएर काम गरे । ०५९ सालमा पोखरामा भएको महाधिवेशनमा राणा अध्यक्ष चुनिए । केन्द्रीय सदस्यमा निर्वाचित थापालाई राणाले नै महामन्त्री मनोनयन गरे । ‘०३२ सालमा म राष्ट्रिय पञ्चायत सदस्य हुँदा उहाँ विद्यार्थीमण्डलको अध्यक्ष हुनुहुन्थ्यो,’ राणाले नयाँ पत्रिकासँग भने, ‘म चारपटक राष्ट्रिय पञ्चायत सदस्य हुँदा उहाँ एकपटक मात्रै हुनुभयो ।’ 

देश धर्मनिरपेक्षता र गणतन्त्रमै प्रवेश गरे पनि राणा र थापा भने सनातन हिन्दूराष्ट्र, संवैधानिक राजतन्त्र वा राजासहितको प्रजातन्त्रको वकालत गरिरहेका छन् । एउटै एजेन्डा र एउटै प्रकृतिको राजनीति लामो समयसम्म गरे पनि दुई नेताबीचको सम्बन्ध भने सौहार्द कहिल्यै देखिएन । पञ्चायतकालमै पनि थापा पञ्चायतका हस्ती सूर्यबहादुर थापासँग थिए भने राणा लोकेन्द्रबहादुर चन्दका पक्षमा ।

 सम्बन्ध सधैँ कटु
थापासँगको चिनजान ०३२ सालमा आफू शिक्षा राज्यमन्त्री हुँदाका बखतदेखिको राणा स्मरण गर्छन् । सँगै बसेर पार्टीमा काम गर्ने अवसरचाहिँ बहुदलपछि मिलेको उनले बताए । ‘पार्टीमा ०४९ सालमा दुई प्रजातन्त्र पार्टी एक भएपछि र सरकारमा ०५२ सालको शेरबहादुर देउवा नेतृत्वको मिलिजुली सरकारमा सँगै काम गर्ने अवसर जु-यो,’ राणाले नयाँ पत्रिकासँग भने । 

दुवै नेतालाई चिन्ने र संगत गर्नेहरू थापा अभिमानी भएकाले धेरैसँग नमिल्ने बताउँछन् । राणासँगको सम्बन्धमा पनि थापाको अहम्ले सौहार्द विश्वास कहिल्यै नभएको नेताहरू सुनाउँछन् । आफ्नो निर्णयमा अड्डी लिने बानीका कारण पुराना र वरिष्ठ नेताहरूसँग थापा छुट्टिँदै गएको कतिपय नेताको भनाइ छ । राप्रपा प्रजातान्त्रिक र एकीकृत राप्रपा राष्ट्रवादीको पार्टी एकता समारोहमा गत १८ माघमा दुवै नेतासँग संगत भएका नेता हरिबहादुर बस्नेतले भनेका थिए, ‘कमल थापाको अहम्ले दुई राप्रपा एक स्थानमा हुने वातावरण मिलिरहेको छैन । ‘मै खाऊँ मै लाऊँ, अरू सबै हेरिरहून्’ भन्ने उहाँको बानीले समस्या 
पारिरहेको छ ।’

दुवै नेतालाई चिन्ने र संगत गर्नेहरू थापा अभिमानी भएकाले धेरैसँग नमिल्ने बताउँछन् । राणासँगको सम्बन्धमा पनि थापाको अहंले सौहार्द विश्वास कहिल्यै नभएको नेताहरू सुनाउँछन् । आफ्नो निर्णयमा अड्डी लिने बानीका कारण पुराना र वरिष्ठ नेताहरूसँग थापा छुट्टिँदै गएको कतिपय नेताको भनाइ छ ।

 सिद्धान्त र एजेन्डामा थापा प्रस्ट
थापा प्रस्ट धारणा राख्न सक्छन् । कुन एजेन्डा कसरी लगे सफल हुन्छ भन्ने खुबी थापामा छ । यस मामिलामा उनी पशुपतिभन्दा अघि छन् । गणतन्त्रको मेहेरोमा पनि राजा, राजतन्त्र र हिन्दूराष्ट्रको एजेन्डा थापाले जबर्जस्त उठाएका हुन् । दोस्रो संविधानसभामा उनी नेतृत्वको राप्रपा नेपाल यही एजेन्डाका कारण चौथो ठूलो दल बन्यो । राणा नेतृत्वको पार्टी अहिले त्यही एजेन्डा बोकिरहेको छ । राणा भन्छन्, ‘एजेन्डा र सिद्धान्तमा राप्रपा र हामीबीच भिन्नता छैन ।’

 एक–अर्काबारे  के भन्छन् ?
 थापाबारे राणा भन्छन्, ‘कमल थापासँग चिनजान भएको लामो समय भयो । उहाँ आफ्नो एजेन्डा स्पष्ट राख्न सक्ने राजनीतिज्ञ हो । वाकपटुता राम्रो छ । उहाँ राष्ट्रवादी नेता हो ।’ राणासँगको सम्बन्धबारे थापासँग पटकपटक कुराकानी गर्न खोज्दा थापा भने बोल्नै चाहेनन् । उनले आफू बैठकमा भएकाले पछि कुरा गरौँला भन्दै टारिरहे । 

 ०४६ सालयता राणा ३ पटक निर्वाचित, ३ पटक पराजित
०४६ सालको आन्दोलनपछि ०४८, ०५१ र ०५६ मा भएका तीनवटै चुनावमा राणा सिन्धुपाल्चोकबाट निर्वाचित भए । दुई संविधानसभा र ०७४ सालको संसदीय निर्वाचनमा भने सिन्धुपाल्चोकबाटै पराजय बेहोरे । 

 थापा दुईपटक मात्रै संसद्मा
कमल थापा तीनवटै निर्वाचनमा मकवानपुरबाट उम्मेदवार भए । तर, ०५१ को मध्यावधि निर्वाचनमा मात्रै विजयको खुसियाली मनाउन पाए । ०६४ को पहिलो संविधानसभा र ०७४ को आमनिर्वाचनमा उनी मकवानपुरमै उम्मेदवार थिए । तर, दुवैपटक पराजित भए । दोस्रो संविधानसभामा भने समानुपातिकतर्फबाट सभासद बने ।  

०७३ मंसिरमा मात्रै थापा नेतृत्वको राप्रपा नेपाल र राणा नेतृत्वको राप्रपाबीच एकीकरण भयो । फागुनमा भएको एकता महाधिवेशनमा कमल थापा अध्यक्ष बने । एकता महाधिवेशनको एजेन्डाअनुरूप संस्थागत निर्णय नगरेको भन्दै अर्को वर्ष २२ साउनमा केन्द्रीय समिति र संसद्मा ४० प्रतिशत पु¥याएर राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक) बनाई राणा आफू अध्यक्ष बने । अहिले डा. प्रकाशचन्द्र लोहनी नेतृत्वको एकीकृत राप्रपा राष्ट्रवादीसँग पार्टी एकीकरण गरेर उनी राप्रपा संयुक्त नामक पार्टीको अध्यक्ष बनेका छन् । 

 थापाको राजनीतिक यात्रा
मण्डले भनिने पञ्चायत–राजनीतिको विद्यार्थी संगठनबाट थापाको राजनीतिक करिअर सुरु भएको हो । उनी ०३२ सालमा राष्ट्रवादी स्वतन्त्र विद्यार्थी मण्डलको अध्यक्ष नै भए । ०३४ को गाउँ फर्क अभियानमा नारायणी अञ्चलको सदस्यसचिव थिए । उनी ०४३ मा भएको निर्वाचनमा सदनमा पुगे । पञ्चायतका अन्तिम प्रधानमन्त्री मरिचमान श्रेष्ठको कार्यकालमा सञ्चार मन्त्रालयको जिम्मेवारी केही दिन सम्हालेका थिए । 

०४७ मा दुई राप्रपा मिलेर बनेको पार्टीमा पहिले राजनीतिक सचिव र पछि प्रवक्ता भए । ०४८ को निर्वाचनमा पराजय बेहोरेपछि ०५१ को मध्यावधि निर्वाचनअघि दुई पार्टी मिलेर एकता महाधिवेशन गरे । सूर्यबहादुर थापाको अध्यक्षतामा उनी निर्वाचित कार्यसमितिमा प्रवक्ता भए । मध्यावधि निर्वाचनमा मकवानपुरबाट निर्वाचन जिते । 

थापा राप्रपामा प्रायः सूर्यबहादुरकै पक्षमा देखिए । ०६० मा प्रधानमन्त्रीबाट मुक्त भएपछि राणासँगको विवादमा सूर्यबहादुरले राष्ट्रिय जनशक्ति पार्टी खोले । त्यसका लागि आवश्यक सम्पूर्ण कागजात कमल थापाले नै तयार पारे । तर, आफू गएनन् । आफू राप्रपामै फर्किए, पहिलै रहेको महामन्त्री पद लिएर । त्यतिवेला राणा राप्रपा अध्यक्ष थिए । तर, पहिले राम्रो नभएको राणासँगको उनको सम्बन्ध भने सुध्रिएन ।

पछि त थापा रवीन्द्रनाथ शर्मा र राजेश्वर देवकोटाहरूले राप्रपाबाट छुट्टिएर खोलेको राप्रपा नेपालमा गएर ०६२ पुसमा अध्यक्ष भए । ७ मंसिर ०७३ मा पशुपतिशमशेर नेतृत्वको राप्रपा र कमल थापा नेतृत्वको राप्रपा नेपालबीच एकीकरण भई राप्रपा बन्यो । उनी त्यसको अध्यक्ष बने । त्यसयता दुई समूह फुटेर गइसके, तैपनि अध्यक्ष उनी नै छन् । 

थापाले ०४६ पछि एकपटक मात्रै प्रत्यक्ष संसदीय निर्वाचन जितेका छन् । ०५१ को मध्यावधि निर्वाचनमा मकवानपुरबाट निर्वाचन जितेका उनी ५ पटक मन्त्री बन्न भ्याए । ०५२ सालमा देउवा नेतृत्वको सरकारमा कानुन, न्याय तथा संसदीय व्यवस्था र स्थानीय विकासमन्त्री, ०५३ मा चन्द नेतृत्वको सरकारमा आवास तथा भौतिक योजना र परराष्ट्रमन्त्री, ०५४ मा सूर्यबहादुर नेतृत्वको सरकारमा परराष्ट्र र कृषिमन्त्री, ०५४ मै पुनर्गठित सूर्यबहादुर थापा नेतृत्वकै सरकारमा परराष्ट्रमन्त्री र थापा नेतृत्वमै ०६० मा तत्कालीन राजा ज्ञानेन्द्रले बनाएको मन्त्रिपरिषद्मा सूचना तथा सञ्चार, स्थानीय विकास र स्वास्थ्यमन्त्रीको जिम्मेवारी सम्हाले । १९ माघ ०६१ पछि राजा ज्ञानेन्द्र नेतृत्वको सरकारमा २२ मंसिर ०६२ देखि जनआन्दोलन ०६२÷६३ सफल नहुँदासम्म उनी गृहमन्त्रीको जिम्मेवारीमा थिए । 

०६४ को संविधानसभामा पराजित उनी ०७० मा समानुपातिकतर्फ चुनिए । उनी अध्यक्ष रहेको राप्रपा नेपालले समानुपातिकमा २४ सिट जित्दै चौथो ठूलो दल बन्यो । यसपछि पनि उनी ३ पटक मन्त्री बने । ०७२ मा बनेको केपी शर्मा ओली नेतृत्वको सरकारमा उपप्रधान तथा परराष्ट्रमन्त्री, ०७३ को प्रचण्ड नेतृत्वको सरकारमा उपप्रधान तथा स्थानीय विकासमन्त्री र ०७४ को देउवा नेतृत्वको सरकारमा उपप्रधान तथा ऊर्जामन्त्री बने ।

एक अर्काबारे
राणा कमल थापासँग पुरानै चिनजान भएको बताउँछन् । आफ्नो एजेन्डा स्पष्ट राख्न सक्ने राजनीतिज्ञ, वाकपटुता राम्रो भएको र राष्ट्रवादी नेता रुपमा थापाको चर्च गर्छन् राणा । कमल थापा भने राणाबारे केही बोल्दैनन्

 राणाको राजनीतिक यात्रा
०२९ सालमा राजनीति गर्ने निर्णयपछि राणाले सिन्धुपाल्चोक क्षेत्र रोजे । ०२९, ०३४, ०३८ र ०४३ मा गरी चारपटक उनी राष्ट्रिय पञ्चायत सदस्य बने । ०३२ मा शिक्षा राज्यमन्त्री भए । पञ्चायतकालमै उनले परराष्ट, अर्थ, सञ्चार, भौतिक पूर्वाधारलगायत मन्त्रालयको जिम्मेवारी सम्हाले । ०५२ सालमा देउवाको प्रधानमन्त्रीकालमा उनी जलस्रोतमन्त्री बने । सूर्यबहादुर र लोकेन्द्रबहादुर प्रधानमन्त्री हुँदा पनि उनले जलस्रोत मन्त्रालय नै सम्हाले । बहुदलपछि एकैदिन दुई राप्रपा जन्मँदा उनी चन्द पक्षमा लाग्दै महामन्त्री बने । ०४८ को निर्वाचनमा पराजय बेहोरेपछि ०४९ को एकता महाधिवेशनमा सूर्यबहादुर अध्यक्षताको निर्वाचित कार्यसमितिमा उनी महामन्त्री चुनिए । 

०५९ सालको पोखरा महाधिवेशनमा अध्यक्ष निर्वाचित भए । पार्टी अध्यक्षलाई थाहै नदिई सूर्यबहादुर प्रधानमन्त्री बनेपछि राणाले विरोध गरे । चर्काचर्कीपछि पशुपतिले सूर्यबहादुरको राजीनामा नै मागे । तर, राजीनामा आएन । प्रधानमन्त्रीबाट फुस्केपछि सूर्यबहादुरले राष्ट्रिय जनशक्ति पार्टी गठन गरे । केही समयपछि कमल थापासहितको अलग्गै राप्रपा नेपाल बन्यो ०६२ सालमा । त्यसको करिब १० वर्षसम्म पशुपति अध्यक्ष भई नै रहे । 

०७३ मंसिरमा मात्रै थापा नेतृत्वको राप्रपा नेपाल र राणा नेतृत्वको राप्रपाबीच एकीकरण भयो । फागुनमा भएको एकता महाधिवेशनमा कमल थापा अध्यक्ष बने । एकता महाधिवेशनको एजेन्डाअनुरूप संस्थागत निर्णय नगरेको भन्दै अर्को वर्ष २२ साउनमा केन्द्रीय समिति र संसद्मा ४० प्रतिशत पु-याएर राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक) बनाई राणा आफू अध्यक्ष बने । अहिले डा. प्रकाशचन्द्र लोहनी नेतृत्वको एकीकृत राप्रपा राष्ट्रवादीसँग पार्टी एकीकरण गरेर उनी राप्रपा संयुक्त नामक पार्टीको अध्यक्ष बनेका छन् ।