१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७७ चैत २९ आइतबार
  • Monday, 30 June, 2025
निर्मार्णाधीन बञ्चरेडाँडा फोहोर प्रशोधन केन्द्र ।
नयाँ पत्रिका काठमाडौं
२o७७ चैत २९ आइतबार १o:o३:oo
Read Time : > 1 मिनेट
समाचार प्रिन्ट संस्करण

बन्चरेडाँडामा जेठदेखि फोहोर विसर्जन गर्न सकिने

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७७ चैत २९ आइतबार १o:o३:oo

अहिलेकै गतिमा काम भए आगामी जेठ पहिलो सातादेखि बन्चरेडाँडामा निर्माणाधीन दीर्घकालीन स्यानिटरी ल्यान्डफिलसाइटमा काठमाडौं उपत्यकाको फोहोर व्यवस्थापन गर्न सकिने भएको छ । केही समय कोरोना भाइरस र निर्माणका लागि आवश्यक पर्ने नदीजन्य सामग्री प्राप्त गर्न नसक्दा निर्माणको कामले गति लिन नसकेको भए पनि पछिल्लो समय निर्माण सामग्री सहज रूपमा प्राप्त भएकाले सोहीअनुरूप निर्माणको काम भएकाले आगामी जेठ पहिलो सातादेखि काठमाडौं उपत्यकाको फोहोर विर्सजन गर्न सकिने आयोजनाले जनाएको छ । 

आयोजना प्रमुख मनोज नकर्मीका अनुसार ल्यान्डफिलसाइट निर्माणको कामअन्तर्गत अहिले पोखरी ढलानको काम भइरहेको छ । काम सकी फोहोर बिसर्जन गर्दै जाने र अन्य बाँकी काम गर्दै जाने तयारी रहेको छ । हाल निर्माण भइरहेको दीर्घकालीन ल्यान्डफिलसाइट नुवाकोट र धादिङको सिमानामा पर्दछ । काठमाडौं महानगरपलिकाले केन्द्र सरकारले नै निर्माण गर्नुपर्छ भन्ने माग गरेपछि मन्त्रिपरिषद् बैठकले दीर्घकालीन फोहोर व्यवस्थापन स्थल निर्माणको काम सहरी विकास मन्त्रालयलाई दिने निर्णयअनुरूप मन्त्रालयले उक्त जिम्मेवारी पाएको हो । सोहीअनुरूप उक्त स्थानमा करिब १५ मिटर अग्लो बाँध र अन्य पूर्वाधारसहितको फोहोर बिसर्जनस्थल निर्माण भइरहेको छ । 

बन्चरेडाँडामा स्यानिटरी ल्यान्डफिलसाइट निर्माण गर्न २२ वैशाख ०७६ मा एक वर्षभित्र काम सम्पन्न गर्ने गरी लुम्बिनी कोसी एन्ड न्यौपाने जेभी (उपक्रम)सँग ठेक्का सम्झौता गरिएको थियो । मूल्य अभिवृद्धि करबाहेक ३४ करोड ६८ लाख ७४ हजार रुपैयाँमा सम्झौता भएको थियो । सम्झौता भएअनुरूप काम नसकेपछि निर्माण कम्पनीलाई एक वर्षको समय थप गरिएको थियो । 

 निर्णयानुसार बाँध निर्माणको काम सहरी विकास मन्त्रालयले गर्ने र बिजर्सनस्थलसम्म जाने बाटो निर्माणको काम सडक विभागको छ । १३ वर्षदेखि नुवाकोटको सिसडोलमा उपत्यकाकाको १८ स्थानीय तहको फोहोर विसर्जन गरिँदै आएको छ । अव्यवस्थित रूपमा लामो सयसम्म एकै स्थानमा फोहोर विसर्जन गरिएको भन्दै सिसडोलका स्थानीयवासीले पटक–पटक विरोध गर्दै फोहोर व्यवस्थापनको काम अन्यत्र सार्न दबाब दिँदै आएका छन् ।

उपत्यकाबाट दैनिक करिब एक हजार मेट्रिकटन फोहोर निस्कन्छ । यसमा सबैभन्दा बढी कामपाबाट निस्कने गरेको छ । काठमाडौं उपत्यकाबाट दैनिक उत्सर्जन हुने फोहोरमध्ये करिब ७५ प्रतिशत सिसडोलमा व्यवस्थापन गरिँदै आएको छ । हरेक दिन उपत्यकाबाट निजी र कामपाको गरी दुई सय गाडी फोहोर लगिने गरिएको छ ।