Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
दिपेश शाही काठमाडाैं
२०७७ चैत २८ शनिबार ०६:३०:००
Read Time : > 3 मिनेट
फ्रन्ट पेज प्रिन्ट संस्करण

आफ्नै नेतृत्वमा सरकार बनाउन कांग्रेसको औपचारिक पहल 

माओवादी केन्द्रद्वारा स्वागत, जसपाले आन्तरिक छलफलपछि निर्णय लिने

Read Time : > 3 मिनेट
दिपेश शाही, काठमाडाैं
२०७७ चैत २८ शनिबार ०६:३०:००

शेरबहादुर देउवा, सभापति, कांग्रेस  : चुनाव गर्नका लागि जोसुकै नेतृत्वको सरकार भए पनि फरक पर्ने थिएन, तर ओली सर्वसत्तावादी भएर राज्यसत्ता कब्जा गर्न खोज्दै छन् । यस्तो सर्वसत्तावादी व्यक्तिको हातबाट निष्पक्ष चुनाव हुन सक्दैन । 

नारायणकाजी श्रेष्ठ, नेता, माओवादी केन्द्र : निरंकुशतातर्फ अघि बढ्ने क्रियाकलाप गरिरहेको ओली नेतृत्वको सरकारलाई हटाएर संविधानलाई रक्षा गर्न चाहने सरकार बनाउनु आवश्यक छ भन्दै आएका छौँ । ओलीको विकल्पमा सरकार बनाउने विषयमा हामी प्रस्ट नै छौँ ।

महन्थ ठाकुर, अध्यक्ष, जसपा : अहिलेसम्म हामीले जसपाभित्र सरकार बनाउने विषयमा औपचारिक हिसाबले छलफल गरेर कुनै निर्णय लिइसकेका छैनौँ । प्रस्ताव नै आइसकेपछि पार्टीभित्र औपचारिक छलफल गरेर छिट्टै निर्णय लिन्छौँ ।

......                              ......

कांग्रेसले आफ्नै नेतृत्वमा सरकार बनाउन औपचारिक रूपमा पहल थालेको छ । शुक्रबार कांग्रेसले माओवादी केन्द्र र जनता समाजवादी पार्टी (जसपा)लाई गठबन्धनको सरकारको प्रस्ताव गरेको छ । 

गत २० चैतमा बसेको केन्द्रीय समिति बैठकबाट आफ्नै नेतृत्वमा सरकार बनाउने निर्णय गरेको कांग्रेसले लामो अनौपचारिक छलफलपछि गठबन्धनको सरकार बनाउन प्रस्ताव गरेको हो । यद्यपि, सभापति शेरबहादुर देउवाको निवासमा तीन दलका नेताबीच भएको छलफल निष्कर्षविना नै सकिएको छ ।

गत ५ पुसमा प्रधानमन्त्री केपी ओलीको सिफारिसमा विघटन भएको प्रतिनिधिसभा ११ फागुनमा पुनस्र्थापना भएपछि नयाँ सरकार बनाउने विषयमा तीन दलबीच पहिलोपटक औपचारिक छलफल भएको हो । कांग्रेसले गत २० चैतको केन्द्रीय कार्यसमितिको बैठकबाट मात्रै आफ्नै नेतृत्वमा नयाँ सरकार बनाउने निर्णय गरेको थियो । त्यसको करिब एक हप्ताभन्दा लामो समय वरिष्ठ नेता रामचन्द्र पौडेलले माओवादी केन्द्र र जसपासँग अनौपचारिक संवाद गरेपछि शुक्रबार पार्टी सभापति शेरबहादुर देउवाले तीन दलको बैठक बोलाएका हुन् । पार्टी पदाधिकारीसहित उपस्थित भएका देउवाले पार्टीले गरेको निर्णय सुनाउँदै औपचारिक हिसाबले अब नयाँ सरकार निर्माणका लागि सहयोगको अपेक्षा राखेको बताएका थिए ।

तीन दलको बैठकमा देउवाले नेपाली कांग्रेसको निर्णयअनुसार आफ्नै नेतृत्वमा सरकार बनाउने भएकाले दुवै दलको धारणा माग गरेका थिए । ‘चुनाव गर्नका लागि जोसुकै नेतृत्वको सरकार भए पनि फरक पर्ने थिएन, तर ओली सर्वसत्तावादी भएर राज्यसत्ता कब्जा गर्न खोज्दै छन् । पुलिस, सेना र कर्मचारीलाई आफ्नो कमान्डमा चलाउन खोज्दै छन्,’ बैठकमा देउवाले भने, ‘यस्तो सर्वसत्तावादी व्यक्तिको हातबाट निष्पक्ष चुनाव हुन सक्दैन । त्यसैले नेपाली कांग्रेसको यो प्रस्तावमाथि तपाईंहरूको सहयोगको अपेक्षा गर्दै धारणा बुझ्न चाहन्छु ।’ 

नयाँ सरकार गठनका लागि कांग्रेसले औपचारिक प्रस्ताव अघि सारेपछि माओवादी केन्द्रले त्यसलाई स्वागत गरेको छ भने जसपाले छलफलका लागि केही दिन समय मागेको छ । आफू पहिलेदेखि नै स्पष्ट भएकाले कांग्रेसले राखेको प्रस्तावको स्वागत गरेको माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले बताए । ‘हामीले संविधानविरुद्ध गएको, प्रतिनिधिसभा विघटन गरेको र सम्पूर्ण ढंगले निरंकुशतातर्फ अघि बढ्ने क्रियाकलाप गरिरहेको केपी ओली नेतृत्वको सरकारलाई हटाएर संविधानलाई रक्षा गर्न चाहने सरकार बनाउनु आवश्यक छ भन्दै आएका छौँ,’ श्रेष्ठले भने, ‘ओलीको विकल्पमा सरकार बनाउने विषयमा हामी प्रस्ट नै छौँ । नेपाली कांग्रेसले राखेको प्रस्तावलाई स्वागत गर्छौँ । हामी जसपाले छिटो निर्णय गरोस् भन्ने चाहन्छौँ ।’ छलफलमा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड उपस्थित थिए । 

माओवादी केन्द्रले स्वागत गरे पनि जसपाले भने यस विषयमा थप छलफल गरेर निर्णय लिने जवाफ दिएको छ । ‘अहिलेसम्म हामीले जसपाभित्र सरकार बनाउने विषयमा औपचारिक हिसाबले छलफल गरेर कुनै निर्णय लिइसकेका छैनौँ । प्रस्ताव नै आइसकेपछि अब लिनैपर्ने हुन्छ,’ जसपा अध्यक्ष महन्थ ठाकुरले बैठकमा भने, ‘हामी पार्टीभित्र औपचारिक छलफल गरेर छिट्टै निर्णय लिन्छौँ । हाम्रा मागहरू पनि छन् । यसमा तपाईंहरूको धारणा के हो भन्नेबारे पनि अर्को बैठकमा छलफल गरौँला ।’ जसपाले बैठकमा ओलीसँग राखेका आफ्ना मागहरू कांग्रेस र माओवादी केन्द्रसँगको बैठकमा पनि राखेको छ ।

जसपाले रेशम चौधरीलगायत आफ्ना नेता–कार्यकर्तामाथि लागेका मुद्दा फिर्ता गर्नुपर्ने र रिहाइ गर्नुपर्ने, संविधान संशोधन गर्नुपर्ने, नागरिकता विधेयकलाई अघि बढाउनुपर्ने र गिरीशचन्द्र लाल आयोगले तयार पारेको प्रतिवेदन सार्वजनिक गरी कार्यान्वयन गर्नुपर्ने माग अघि सार्दै आएको छ । तीन दलको बैठकपछि जसपा अध्यक्ष ठाकुरले कांग्रेसको तर्फबाट प्रस्ताव आएकाले यस विषयमा अब छलफल गर्ने बताए । नयाँ सरकार निर्माणमा जसपाको अलमलले ढिलो भएको भन्ने सञ्चारकर्मीको प्रश्नमा अध्यक्ष ठाकुरले ‘सरकार बनाउने नेताले नै प्रस्ताव आज गरेपछि अगाडि नै कसरी निर्णय दिन सकिन्छ ?’ भनेर प्रतिप्रश्न गरेका थिए । छलफलमा डा. बाबुराम भट्टराई, उपेन्द्र यादव, राजेन्द्र महतोलगायत पनि सहभागी थिए । 

वैकल्पिक सरकारको टुंगोपछि माओवादीले समर्थन फिर्ता लिने
नयाँ सरकार गठनका विषयमा अनौपचारिक संवाद जारी रहे पनि माओवादी केन्द्रले ओली नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता नगरेको विषयमा समेत बैठकमा कुरा उठेको थियो । त्यस विषयमा माओवादी केन्द्रले ओली नेतृत्वकै सरकार कायम नरहने अवस्थामा तत्काल समर्थन फिर्ता लिएको पत्र लेख्ने जवाफ दिएको छ । ‘एमाले र माओवादी केन्द्रबीच ३ जेठ ०७५ मा एकता भएपछि ७६ (१)को सरकार बन्यो । अहिले आएर २३ फागुनमा सर्वोच्चले एकतालाई अवैधानिक भनिसकेको अवस्था छ । अहिले हामीले समर्थन गरेका छैनौँ, हाम्रो समर्थन रहेको छैन ।

तर, सर्वोच्चको एउटा पछिल्लो फैसलाले समर्थन रहेको भनेकाले हामी औपचारिक पत्र लेख्न तयार नै छौँ,’ श्रेष्ठले छलफलबाट बाहिरिने क्रममा भने, ‘हाम्रो उद्देश्य अहिले मुलुक अन्योलतर्फ नजाओस् भन्ने हो । हामी बहुमतसहितको सरकार बन्ने निश्चित भएपछि समर्थन नरहेको जानकारी गराउँछौँ । यदि बहुमतको सरकारको सुनिश्चितता नभए पनि समर्थन फिर्ता लिन्छौँ ।’ श्रेष्ठले अदालतको आदेशअनुसार अहिलेको सरकारले संविधानअनुसार २३ चैतभित्र विश्वासको मत लिनुपर्ने र नलिएका कारण अवैधानिक बनेको बताए ।

सरकार आफ्नै नेतृत्वमा बनाउने जसपाको रणनीति

बैठकमा जानुअघि जसपाका शीर्ष नेताहरूबीच छलफल भएको थियो । आन्तरिक छलफलमा सरकार निर्माणका विषयमा पार्टीको एउटै धारणा तीन दलको बैठकमा प्रस्तुत गर्ने र सत्ता सहकार्यका विषयमा भोलिदेखि नै छलफल गर्ने सहमति जसपाका नेताले गरेका थिए । यसअघि जसपाका संघीय अध्यक्ष बाबुराम भट्टराई र अध्यक्ष उपेन्द्र यादवले ओली सरकारलाई सहयोग गर्न नहुने धारणा राख्दै आएका थिए ।

तर, अर्का अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतो भने आफ्नो माग सम्बोधन गरे ओलीसँगै सहकार्य गर्ने वा आफ्नै नेतृत्वमा सरकार बनाउने विषयमा छलफल अघि बढाउनुपर्ने पक्षमा थिए । लामो समयपछि शुक्रबार देउवाले बोलाएको तीन दलको बैठकमा जानुअघि मात्रै जसपाका शीर्ष नेताहरू एकैठाउँमा छलफलमा जुटेका थिए । छलफलबाट जसपाका नेताहरूले आफ्नै नेतृत्वमा सरकार बनाउने विषयलाई केन्द्रमा राखेर अघि बढ्ने निष्कर्ष निकालेको जसपाका एक नेताले जानकारी दिए । ‘तीन दलको बैठकमा समय माग गर्ने र नयाँ सरकार आफ्नै नेतृत्वमा गठन गर्ने निष्कर्ष निस्केको छ,’ जसपाको छलफलमा सहभागी ती नेताले भने । 

मधेसप्रति निकै आक्रामक मानिने ओलीले पछिल्लो समय जसपासँग आफूलाई सहयोग गर्न आग्रह गर्दै आएका छन् । उनले जसपासँग अरूको नेतृत्वमा बन्ने सरकारमा सहभागी नहुन, सरकारमा नै सहभागी हुने भए आफ्नै सरकारमा आउन र त्यसो नभए सरकारभन्दा बाहिरै बसेर सहयोग गरिदिन आग्रह गरिरहेका छन् । आफ्ना माग सम्बोधन हुने सर्तमा जसपाको एउटा पक्ष ओलीलाई सघाउने मनस्थितिमा देखिन्छ भने अर्को पक्ष ओलीलाई प्रतिगामी भन्दै वैकल्पिक सरकार गठनका लागि सकारात्मक देखिँदै आएको छ ।