Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
शान्ति तामाङ काठमाडौं
२०७७ चैत २६ बिहीबार ०६:३७:००
Read Time : > 2 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

ललितपुर महानगरमा तीन महिनाभित्र विद्युतीय बस गुड्ने

पहिलो चरणमा चारवटा बस सञ्चालनमा आउने, इन्धनबाट चल्ने सवारीसाधनलाई विस्थापित गरिने

Read Time : > 2 मिनेट
शान्ति तामाङ, काठमाडौं
२०७७ चैत २६ बिहीबार ०६:३७:००

विद्युतीय बसका लागि बजेट छुट्याएको साढे दुई वर्षपछि ललितपुर महानगरपालिकाले आफ्नो क्षेत्रभित्र बस सञ्चालनका लागि टेन्डर आह्वानको तयारी थालेको छ । महानगरका अनुसार वैशाखभित्रै चारवटा बस खरिद गर्न टेन्डर आह्वान हुँदै छ । ‘विद्युतीय बस खरिद गर्न हामी दुई हप्ताभित्र टेन्डर आह्वान गर्छौं,’ महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनले भने, ‘कम्तीमा साढे दुईदेखि तीन महिनाभित्र बस नै सञ्चालन गर्ने लक्ष्य राखेका छौँ । सार्वजनिक खरिद ऐन अलि अल्झाउने खालको छ । ऐनभित्र विवाद नपर्ने भएमा काम छिटै हुन्छ ।’ 

विद्युतीय बस सञ्चालनका लागि महानगरले दुईवटा रुट तय गरिसकेको छ । पहिलो रुट महानगरको प्रांगण हुँदै मंगलबजार, कुमारीपाटी, पुल्चोक हुँदै महानगरको प्रांगणमै आइपुग्नेछ । दोस्रो रुटअनुसार महानगरको प्रांगणबाट मंगलबजार, सुन्धारा, महाबौद्ध, लगनखेल, एकान्तकुना, जाउलाखेल, पुल्चोक, कुपन्डोल हुँदै महानगरकै प्रांगणभित्र आइपुग्ने महानगरले जनाएको छ । नगर क्षेत्रमा विद्युतीय गाडीलाई प्राथमिकता दिई पर्यटकीय क्षेत्रमा विद्युतीय सवारी सञ्चालनमा ल्याउँदै जाने मेयर महर्जनले जानकारी दिए ।

उपत्यकामा विद्युतीय बस सञ्चालमा आए केही हदसम्म भए पनि अहिले बढेको प्रदूषण कम गर्न
मद्दत पुग्ने वातावरण विज्ञहरू बताउँछन्

पर्यटक, ज्येष्ठ नागरिक र बालबालिकाका लागि निःशुल्क सेवा
पहिलो चरणमा चारवटा बस सञ्चालन गर्न लागेको महानगरले पर्यटक, ज्येष्ठ नागरिक र बालबालिकाका लागि भने निःशुल्क सेवा उपलब्ध गराउने भएको छ । ‘पहिलो चरणमा हामी चारवटा बस सञ्चालन गर्छौँ । त्यसको प्रभावकारिता हेरेर थप्दै पनि जानेछौँ,’ महर्जनले भने, ‘बिस्तारै डिजेल, पेट्रोल सवारीलाई विस्थापित गर्दै विद्युतीय सवारीलाई राख्ने हो ।’ कति उमेर समूहका ज्येष्ठ नागरिक र बालबालिकालाई शुल्क नलिने भन्ने विषय कार्यविधि बनाउँदा समावेश गर्ने महानगरले जनाएको छ । कार्यविधि बनाएर विद्युतीय बस सञ्चालनका लगि छलफलसमेत सुरु भइसकेको छ । प्रमुख महर्जनले विद्युतीय बस सञ्चालनका लागि बजेट अभाव नहुने स्पष्ट पारे ।

महानगरपालिकाले विद्युतीय बस सञ्चालनका लागि आर्थिक वर्ष २०७५/७६ मै साढे दुई करोड रकम विनियोजन गरेको थियो । ०७५ असारमै विद्युतीय बसका लागि रकम विनियोजन भए पनि साझा यातायातको नियम परिवर्तन हुँदा बस सञ्चालनमा ढिलो भएको महर्जनको भनाइ छ ।

‘हामीले विद्युतीय बस चलाउन साढे दुई वर्षअगाडि नै रकम विनियोजन गरेका हौँ । तर, बीचमा साझा यातायातको नियममा परिवर्तन भएका कारण रोकियो । हामीले लगानी मात्र गर्ने हो, सबै काम उहाँहरूकै तर्फबाट हुने हो,’ उनले भने, ‘हामीसँग विद्युतीय बस सञ्चालन गर्न सक्ने जनशक्ति छैन । सार्वजनिक सवारीको क्षेत्रमा लामो समयदेखि उहाँहरूसँग काम गरेको अनुभव छ । त्यही कारण साझा यातायातबाटै काम गराउन खोजेका हौँ ।’ उनका अनुसार विद्युतीय सवारी चलाउने प्रयास गर्नुको कारण प्रदूषण घटाउने, नेपाल विद्युत्मा आत्मनिर्भर हुँदै गएको अवस्थामा कम खर्चमै सञ्चालन हुन सक्ने भएकाले हो । 

काठमाडौं र लतिलतपुरका भित्री सडक मुख्य रुट
साझाले ल्याउने बसका मुख्य रुट काठमाडौं र ललितपुरका भित्री सडक हुनेछन् । सञ्चालक समिति सदस्य तुलाधरका अनुसार प्रदूषणको मुख्य केन्द्र काठमाडौं भएकाले सुरुमा ल्याइएका बस काठमाडौं र ललितपुरका भित्री सहरमा गुड्नेछन् । विद्युतीय बस गुडाउन चार्जिङ स्टेसनको व्यवस्थाका लागि साझाले नेपाल विद्युत् प्राधिकरणसँग छलफल गरिसकेको छ ।

कम्पनीले बस र चार्जर ल्याउनुभन्दा अघि प्राधिकरणले विद्युत् सप्लाइका लागि साझाले चार्जिङ स्टेसनका लागि ठाउँ पहिचान गरिसक्नुपर्ने सञ्चालक समिति सदस्य तुलाधरले बताए । ‘प्राधिकरणले चार्जिङ स्टेसन निर्माणका लागि सहयोग गर्ने भएको छ । यसका लागि हामीले प्राधिकरणसँग छलफल पनि गरिसकेका छौँ,’ उनले भने ।

गत माघमा आफ्नै निर्णय उल्ट्याउँदै सरकारले विद्युतीय बस खरिद गर्न साझा यातायातलाई नै जिम्मा दिने निर्णय गरेको थियो । जसकारण साझाले विद्युतीय बस किन्ने प्रक्रिया अगाडि बढाएको हो । काठमाडौं उपत्यकामा विद्युतीय बस गुडेमा केही हदसम्म भए पनि अहिले बढेको प्रदूषण कम गर्न मद्दत पुग्ने विज्ञहरू बताउँछन् ।