विमानस्थलबाट रोकिएन सुन तस्करी : राइसकुकरभित्र लुकाएर ल्याएको ७० लाखको सुन बरामद

फ्लाई दुबईको उडान नम्बर एफजेड ५७३ मार्फत नेपाल आएका प्रगास महरा तस्करीको नौ सय ३४ ग्राम सुनसहित पक्राउ

बिहिबार, २६ चैत, २०७७
डिजिटल संस्करण

दैनिकजसो बरामद भए पनि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सुन तस्करी रोकिएको छैन । प्रहरी र भन्सार अधिकारीलाई छक्याउन तस्कर समूहले नयाँ–नयाँ शैली अपनाउन थालेका छन् । राइसकुकरको तल्लो भागमा सुनको जलप लगाएरसमेत तस्करी हुन थालेको छ । मंगलबार राइसकुकरभित्र राखेर तस्करी गर्न लागिएको करिब नौ सय ग्राम सुन बरामद गरेको छ । सुनको मूल्य ७० लाख रुपैयाँबराबरको छ ।

फ्लाई दुबईको उडान नम्बर एफजेड ५७३ मार्फत दुबईबाट आएका प्रगास महरालाई भन्सार कार्यालयले तस्करीको नौ सय ३४ ग्राम सुनसहित पक्राउ गरेको हो । उनले राइसकुुकरको तल्लो भागमा फ्याक्ट्रीमै सुन टाँसेर ल्याएका थिए । भन्सारको एक्सरेले सुन पत्ता लगाएको हो । पक्राउ परेका महरा सुन तस्कर गिरोहले प्रयोग गरेका भरिया भएको प्रारम्भिक अनुसन्धानमा खुलेको छ । 

केही दिनयता नियमितजसो विमानस्थलमा तस्करीको सुन बरामद हुँदै आएको छ । गत २० चैतमा मात्र प्रहरीले दुबईबाट आएका विष्णुबहादुर भण्डारीलाई पाँच सय १६ ग्राम सुनसहित पक्राउ गरेको थियो । त्यसअघि ११ चैतमा दुबईबाट आएका सहदेव चौधरी ७० ग्राम सुनसहित पक्राउ परेका थिए । १० चैतमा रिचार्जेबेल ब्याट्रीभित्र लुकाएर सुन तस्करी गर्न खोज्ने धादिङका रमेश सापकोटा र सिन्धुलीका निर्दोष थिङ पक्राउ परेका थिए । उनीहरूबाट चार सय ग्राम सुन बरामद भएको थियो । सो सुन दुबईबाट ल्याइएको थियो । तस्करी गर्ने समूहले विविध सामानभित्र लुकाएर तस्करी गर्न खोज्ने गरेको विमानस्थल प्रहरी प्रमुख एसएसपी राजेश बाँस्तोला बताए ।

यसरी तस्करी गर्न खोज्ने भरिया पक्राउ परे पनि नाइकेमाथि अनुसन्धान हुने गरेको छैन । यस्ता घटनामा प्रहरीले अनुसन्धान गर्न पाउँदैन । प्रहरीले भन्सारलाई बुझाउने र भन्सारले सम्बन्धित व्यक्तिलाई मात्र कारबाही गर्दा नाइकेहरू जोगिने र भरियाहरू मात्र कारबाहीमा पर्ने प्रवृत्ति छ । यसरी तस्करी गर्ने दर्जनौँ गिरोह दुबईमा सक्रिय छन् । एक तोला सुनमै दुबई र नेपालमा करिब १० हजार रुपैयाँको फरक रहेकाले तस्करी हुने गरेको छ ।

सुझावित समाचार