Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ६ बिहीबार
  • Thursday, 18 April, 2024
अर्जुन अधिकारी काठमाडाैं
२०७७ चैत २६ बिहीबार ०६:०९:००
Read Time : > 2 मिनेट
फ्रन्ट पेज प्रिन्ट संस्करण

नेपालमा युके भेरियन्ट संक्रमित बढेको आशंका, रात्रिकालीन व्यवसाय बन्द

Read Time : > 2 मिनेट
२०७७ चैत २६ बिहीबार ०६:०९:००

केही दिनयता कोरोना संक्रमित दिनप्रतिदिन बढ्न थालेपछि सरकारले स्वास्थ्य सुरक्षाका मापदण्डको कडाइपूर्वक पालना गर्न गराउन स्थानीय सरकारलाई निर्देशन दिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बुधबार सूचना जारी गर्दै स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गर्न सरोकारवाला सबैलाई सचेत गराएको हो । मन्त्रालयले जनस्वास्थ्यका मापदण्डको उल्लंघन तथा युके भेरियन्टको बढ्दो संख्यालाई मध्यनजर गर्दै सार्वजनिक सूचना जारी गरेको हो । 

मन्त्रालयले काठमाडौं, पोखरालगायत ठूला सहरमा विद्यालय जाने उमेर समूहका बालबालिकामा संक्रमण हुने दर बढेकाले सम्पूर्ण शैक्षिक संस्थामा उच्च सतर्कता अपनाउन अनुरोध गरेको छ ।

देशमा कोरोना संक्रमणको अवस्था हेरी ठूला सहरमा पाँच सयभन्दा बढी र साना सहरमा एक सयभन्दा बढी सक्रिय केस देखिएमा त्यस्ता स्थानमा आवागमनलाई पनि कडाइ गर्ने निर्णय मन्त्रालयले गरेको छ । त्यस्तै, अधिक भिडभाड हुने सपिङमल, क्लब, स्विमिङ पुल, मन्दिर, सिनेमा हल, पार्टी प्यालेसलगायत क्षेत्रमा जनस्वास्थ्यका मापदण्ड पालना गरेर मात्रै सञ्चालन गर्न मन्त्रालयले आग्रह गरेको छ । संक्रमणको बढी जोखिम भएका क्षेत्रहरूमा परीक्षण बढाउन स्थानीय तहलाई निर्देशन दिएको छ ।

कोरोनाको दोस्रो लहर सुरु भएको भन्दै मन्त्रालयले रात्रिकालीन व्यवसाय–रेस्टुरेन्ट राति ९ बजेपछि पूर्ण रूपमा बन्द गराउन सम्बन्धित निकायलाई निर्देशन दिएको छ । ‘जनस्वास्थ्यका मापदण्डको उल्लंघन र युके भेरियन्टको बढ्दो संख्यालाई मध्यनजर गर्नुपर्ने वेला आएको छ । यसलाई कम गराउन रात्रिकालीन व्यवसाय–रेस्टुरेन्ट राति ९ बजेबाट पूर्ण रूपमा कडाइका साथ बन्द गराउनुपर्छ,’ मन्त्रालयका सहायक प्रवक्ता डा. समीर अधिकारीले भने ।

स्वास्थ्य मन्त्रालय स्वास्थ्य सेवा विभागका अनुसार हालसम्म १६ जनामा युके भेरियन्ट पुष्टि भएको छ । उनीहरूले समुदायमा संक्रमण सारेका छन् । गत २७ पुसमा कोभिड परीक्षणमा एस जिन नेगेटिभ आएकाले नयाँ भाइरस पत्ता लगाउन तीनवटा नमुना हङकङ पठाइएको थियो । उनीहरूलाई युके भेरिएन्ट पुष्टि भएकाले थप १३ जनाको नमुना पठाउँदा पनि सोही रिपोर्ट आएको थियो ।

कोरोना परीक्षण गर्दा एस जिन नेगेटिभ देखिएमा सरकारले युके भेरियन्टको आशंका गर्दै आएको छ । ‘हालै भारतबाट आएकाका पछिल्ला नमुनाको प्रजाति पत्ता लगाउन १५ वटा नमुना विश्व स्वास्थ्य संगठनको प्रयोगशाला हङकङ पठाइएको छ । तर, रिपोर्ट आइसकेको छैन,’ केन्द्रीय प्रयोगशालाकी निर्देशक डा. रुणा झाले भनिन् । 

केही दिनयता कोरोना संक्रमित दिनप्रतिदिन बढ्न थालेपछि सरकारले स्वास्थ्य सुरक्षाका मापदण्डको कडाइपूर्वक पालना गर्न गराउन स्थानीय सरकारलाई निर्देशन दिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बुधबार सूचना जारी गर्दै स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गर्न सरोकारवाला सबैलाई सचेत गराएको हो ।

 

त्रिनगर नाकाबाट नेपाल प्रवेश गर्नेमा संक्रमण उच्च
भारतमा कोरोना संक्रमण बढेसँगै सरकारले ८ चैतदेखि मुख्य प्रवेशद्वारमा हेल्थ डेस्क सञ्चालनमा ल्याएको छ । संक्रमण कम भएसँगै निष्क्रियझैँ भएका हेल्थ डेस्कहरू पुनः सक्रिय भएका छन् । स्वास्थ्य मन्त्रालयका अनुसार हाल नेपाल–भारतका ६ नाकामा स्वास्थ्य परीक्षण भइरहेको छ । तीमध्ये अधिकांश संक्रमण कञ्चनपुरको त्रिनगर हेल्थ डेस्कमा देखिएको छ ।

त्रिनगर हेल्थ डेस्कमा पाँच हजार दुई सय ६५ नमुना परीक्षण गर्दा दुई सय ३० जनामा कोरोना पुष्टि भएको छ । रूपन्देहीको बेलहैया हेल्थ डेस्कमा ३७ नमुना परीक्षण भएकोमा एकजना पजिटिभ देखिएको छ । कञ्चनपुरको गड्डाचौकी हेल्थ डेस्कमा नौ सय ३८ नमुना परीक्षण भएको छ । परीक्षणका क्रममा नौजनामा पजिटिभ देखिएको छ । इनरुवा हेल्थ डेस्क पर्सामा ६४ जनाको नमुना परीक्षण गर्दा दुईजनामा कोरोना देखिएको छ । जमुनाहा हेल्थ डेस्क बाँकेमा ८५ नमुना परीक्षण गर्दा पाँचजनामा संक्रमण देखिएको छ । कृष्णनगर हेल्थ डेस्क कपिलवस्तुमा ५३ जनाको नमुना परीक्षण गर्दा एकजनामा पनि कोरोना पुष्टि भएको छैन ।

बुधबार थपिए तीन सय ३९ जना संक्रमित, दुईको मृत्यु
बुधबार देशभर तीन सय ३९ जना कोरोना संक्रमित थपिएका छन् । दुईजनाको मृत्यु भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार पिसिआर परीक्षणमा दुई सय ९८ र एन्टिजिन परीक्षणमा ४१ गरी तीन सय ३९ जनामा कोरोना पजिटिभ देखिएको हो । यो १४ चैतयताकै सर्वाधिक संक्रमित संख्या हो । चार हजार एक सय नमुना परीक्षण गर्दा ७४ जना निको भएका छन् । मन्त्रालयका अनुसार उपत्यकामा मात्रै एक सय ३२ जना पुष्टि भएका छन् । 

हाल देशभर २२ सय एकजना एक्टिभ संक्रमित उपचाररत छन् । गत १४ माघमा चार हजार तीन सय ८२ नमुना परीक्षण गर्दा दुई सय ८३ जनामा संक्रमण पुष्टि भएको थियो । त्यस्तै, १५ माघमा तीन हजार ६ सय ९१ परीक्षण गर्दा दुई सय १३ मा संक्रमण देखिएको थियो ।

२३ चैतमा चार हजार पाँच सय ३६ नमुना परीक्षण हुँदा दुई सय ६६ संक्रमित भएका थिए । चिकित्सकहरूका अनुसार भारतमा युके भेरियन्ट, साउथ अफ्रिकन भेरियन्ट, ब्राजिलियन भेरियन्ट र भारतीय भेरियन्ट देखिएको छ । नेपालमा पहिलोपटक गत २७ पुसमा तीनजनामा युके भेरियन्ट पुष्टि भएको थियो । स्वास्थ्य अधिकारीहरूका अनुसार हाल नेपालमा एक सय ५० भन्दा बढी एसजिन नभेटिएका शंकास्पद नयाँ प्रजातिका भाइरसहरू देखिएका छन् ।