मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७७ चैत २५ बुधबार
  • Sunday, 08 December, 2024
गत शुक्रबार दुर्घटनामा परेको ‘तारोको एक्सप्रेस ४०८’ रेलका यात्रुहरूको उद्धार गर्दै उद्धारकर्मीहरू ।
२o७७ चैत २५ बुधबार o८:४९:oo
Read Time : > 3 मिनेट
विश्व प्रिन्ट संस्करण

संसारलाई स्तब्ध बनाउने ताइवान रेल दुर्घटनाका दृश्य

Read Time : > 3 मिनेट
नयाँ पत्रिका
२o७७ चैत २५ बुधबार o८:४९:oo

करिब पाँच सय यात्रु बोकेको ‘तारोको एक्सप्रेस ४०८’ रेल गत शुक्रबार दुर्घटनाग्रस्त हुँदा कम्तीमा पनि ५० जनाको मृत्यु भएको थियो

गत शुक्रबार ताइवानमा भएको रेल दुर्घटनामा परी ज्यान गुमाएकी ६ वर्षीया छोरीको शव काखमा राखेर रुँदै गरेका एक बाबुको तस्बिर ताइवानका पत्रपत्रिकाले निकै प्राथमिकताका साथ छापेका थिए । यो तस्बिरले ताइवानमा मात्रै होइन, विश्वभरकै ध्यान खिचेको थियो । यही दुर्घटनामा सिंगो परिवार गुमाएकी एक महिलाको तस्बिरले पनि धेरैको ध्यान खिचेको थियो ।

करिब पाँच सय यात्रु बोकेको ‘तारोको एक्सप्रेस ४०८’ रेल गत शुक्रबार दुर्घटनाग्रस्त हुँदा कम्तीमा पनि ५० जनाको मृत्यु भएको थियो । दुर्र्घटनामा दुई सयजनाभन्दा बढी घाइते भएका थिए । लिकमा खसेको एउटा ठूलो ट्रकलाई ठक्कर दिएपछि रेल दुर्घटनाग्रस्त बनेको थियो ।

दुर्घटनापछि मृत्यु हुनेहरूको अन्तिम संस्कार चलिरहँदा परिवार र उद्धारमा खटिएकाहरूले आफ्ना अनुभव बाँडेका छन् । पछिल्लो दशकमा यति भयानक दुर्घटना ताइवानमा नभएको उनीहरूको अनुभव छ । 

‘त्यो रेलमा यात्रा गर्ने योजना नै थिएन’
चुङ हुई–मेईको परिवारको गत शुक्रबार दुर्घटनामा परेको रेलमा यात्रा पर्ने योजनामा थिएन । उनीहरूले त्यही दिनको टिकट त काटेका थिए, तर त्यसभन्दा अघिल्लो रेलको थियो । तर, उनीहरूले त्यो रेल ‘मिस’ गरे । त्यसो त तारोको एक्सप्रेस ४०८ को टिकट पनि सबै बिक्री भइसकेको थियो । चुङको चारजनाको परिवार ‘टोम्ब स्विपिङ’ पर्व मनाउन ह्युलियन सहर जाँदै थिए । यो पुरानो चिनियाँ पर्व हो, जहाँ स्वर्गारोहण भइसकेका परिवारको सदस्यलाई सम्मान दिने गरिन्छ । टिकट बिक्री भइसकेका कारण उनीहरू उभिएरै यात्रा गर्न तयार भए ।

रेल दुर्घटनामा ज्यान गुमाएकी ६ वर्षीया बालिकाका बाबु भावविह्वल हुँदै 

दुर्घटना क्षेत्र आइपुग्दा एउटा ‘हर्न’ बजेको थियो, जसले सूचना दिइरहेको थियो कि अगाडि कुनै समस्या छ । उक्त हर्न बजेको चुङले पनि सुनेकी थिइन् । ‘तर, रेल चालकले गति घटाएनन् वा रोक्ने प्रयास नै गरेनन्,’ चुङ भन्छिन् । त्यसको केही सेकेन्ड (अनुसन्धानले देखाएअनुसार ६.९ सेकेन्ड)पछि नै रेलले एउटा ठूलो ट्रकलाई ठक्कर दियो, जुन बाटोबाट चिप्लिएर लिकमा खसेको थियो । अनुसन्धानकर्ताहरूका अनुसार, ट्रक लिकमा खस्दा दुर्घटनामा परेको रेल दुई सय ५० मिटर जति मात्रै टाढा थियो । त्यसैले चालकले रेललाई दुर्घटनाबाट बचाउने कुनै उपाय गर्नै पाएनन्, जसमा उनकै पनि मृत्यु भयो । त्यसको केही समयपछि चुङ रेलको डिब्बामा घस्रिँदै पति र २२ वर्षीय छोरालाई खोज्दै गरेकी देखिइन् । उनले आफ्ना पति र छोरालाई सुटकेस र झोलाले पुरिएको अवस्थामा भेटिन् । तर, उनीहरू दुवैजनाको शरीरले कुनै प्रतिक्रिया दिइरहेको थिएन । उनीहरूको मृत्यु भइसकेको थियो ।

त्यसपछि उनी ठूलो स्वरले निरन्तर छोरीको नाम लिएर धेरैबेर कराइन् । धेरै समयपछि फलामका टुक्रैटुक्राले थिचिएको अवस्थाबाट छोरीले सानो स्वरमा जवाफ फर्काइन्, ‘म यहाँ छु ।’ जब छोरीको आवाज सुनियो, चुङले फलामका टुक्रा हटाएर छोरीलाई त्यहाँबाट निकाल्ने प्रयास गरिन् । फलामका टुक्रा पन्छाउँदै गर्दा तलबाट कोही बोलेको आवाज सुनिन्, ‘आन्टी फलामको टुक्रा हटाउन रोक्नुहुन्छ, त्यसले मलाई दुखाइरहेको छ ।’ त्यसपछि उनले छोरीलाई थिचेको फलामका टुक्राहरू निकाल्न रोकिन् । त्यसको केही समयपछि नै उनको छोरीले कुनै प्रतिक्रिया दिन छाडिन् । उनी शान्त रहिन् ।

‘के फेरि उनलाई अंकमाल गर्न दिन्छौ ?’
शुक्रबार ६ वर्षीया बालिका याङ ची–चेन पनि तारोको एक्सप्रेस ४०८ मा यात्रारत थिइन् । उनीसँगै उनका पिता र नौँ वर्षकी दिदी पनि थिइन् । तर, उनको यात्रा कहिल्यै नफर्कने गरी अघि बढ्यो ।

उनीहरू ताइतुङ सहरमा पारिवारिक बिदा मनाउन जाँदै थिए । उनीहरू बसेको रेलको ‘फ्रन्ट क्यारिज’ दुर्घटनामा सबैभन्दा बढी ध्वस्त बनेको तीनमध्ये एक हो । उद्धारकर्ताहरूले सुनाएको हृदयविदारक कहानीमध्ये पहिलो उनै ६ वर्षीया बालिका र उनको पिताको थियो । ४२ वर्षीय याङ घस्रिदै क्यारिजबाट बाहिर निस्कँदै थिए । उनलाई उद्धारकर्ता दामो लीले त्यहाँबाट आगाडि सुरक्षित स्थानमा पुर्‍याएका थिए । उद्धारकर्ता दामो उनलाई बोकेर अगाडि बढ्दै गर्दा याङ सानो स्वरमा भन्दै थिए, ‘मेरो अझै दुई छोरी भित्रै छन् । उनीहरूलाई जतिसक्दो चाँडो सकुशल बाहिर निकालिदिन सक्छौ ?’

लीले पछि आफ्नो फेसबुक स्टाटसमा पनि लेखेका थिए, ‘उद्धार टोलीका बाँकी सदस्यले त्यो काम चाँडै गर्नेछन् ।’ याङलाई सुरक्षित स्थानमा पुर्‍याएर ली जब दुर्घटनास्थल फर्किए, एक सहकर्मीले सानी नानीलाई बोकेर अघि बढ्दै गरेको देखे । उक्त नानीको खुट्टा झुन्डिएको थियो । अनुहारमा रगत वा अरू दाग केही थिएन । तर, त्यो अनुहारले अरू कुनै प्रतिक्रिया पनि दिइरहेको थिएन । ती उनै ६ वर्षीया याङ ची–चेन थिइन् । त्यसपछि याङले भनेका थिए, ‘के तिमी मलाई फेरि उनलाई अंकमाल गर्न दिन्छौ ?’ केही पछि उनकी दिदी पनि भेटिइन् । तर, उनी अहिले आइसियूमा छिन् । उनको टाउकोमा गम्भीर चोट लागेको छ ।

शनिबार दुर्घटना क्षेत्रमा शोक सभाको आयोजना गरिएको थियो । सभामा याङ पनि उपस्थित थिए । ‘हामी एउटा रमाइलो यात्रा गर्न चाहन्थ्यौँ । मलाई विश्वास छ कि उनी अर्काे जुनीमा पनि मेरै छोरी हुने छिन्,’ भावविह्वल याङले भनेका छन् ।

दुर्घटनामा ज्यान गुमाएकाहरूको परिवारका सदस्यले मृतात्माको चिरशान्तिको कामना गर्दै घर फर्कन भनेका थिए । त्यही भिडमा याङ पनि ठूलो स्वरमा भन्दै थिए, ‘चि–चेन, तिम्रो बाबाका लागि घर आउँ ।’

रेल दुर्घटनामा ज्यान गुमाएकाहरूको सम्झनामा आयोजित शोक सभामा सहभागीहरू ।

‘उनले मलाई बचाए, तर उनी आफैँलाई बचाउन सकेनन्’

लि जिया–सिङ र उनकी श्रीमती छोटो बिदामा गृह जिल्ला टाइटुङ फर्कँदै थिए । यो जोडी उत्तरी ताइवानमा एउटा निर्माण कम्पनीमा काम गर्छन् । उनीहरू सार्वजनिक बिदामा मात्रै आफ्नो घर फर्कन पाउँछन् ।

उनीहरू दुवैजना रेलको दुईवटा डिब्बालाई जोड्ने ठाउँमा उभिएर यात्रा गर्दै थिए । रेल दुर्घटनामा पर्नेबित्तिकै लीले आफू उडेको शैलीमा अगाडि बढेर श्रीमतीलाई त्यहाँबाट बाहिर धकेले । त्यसले गर्दा श्रीमती बँच्न सफल भइन् । 

तर, चामत्कारिक तरिकाले श्रीमतीलाई बचाएका उनले आफैँलाई भने बचाउन सकेनन् । ‘उनले मलाई बचाए । तर, उनले आफैँलाई भने बचाउन सकेनन्,’ याङ नाम गरेकी ती महिलाले अस्पतालबाट भनेकी छिन् । लीले शुक्रबार यात्रा गर्नुअघि आफ्नी दिदीलाई स्टेसनसम्म छाडिदिन अनुरोध गरेका थिए । 

शनिबार दुर्घटना क्षेत्रमा शोक सभामा उपस्थित लीकी दिदीले भनिन्, ‘मैले तिम्रो शरीरको पार्टपुर्जा यसरी उठाउनुपर्छ भनेर सोचेकै थिइनँ । तिम्रो दिदी तिमीलाई घर लैजान आएकी छ ।’ 

‘ओलाफ गर्लको श्रद्धाञ्जली’
शनिबार एकजना ‘रहस्यमयी’ महिलाको कथाले पनि सञ्चारमाध्यममा स्थान पायो, जसलाई ओलाफ गर्लका रूपमा चिनिएको छ । ती महिला पनि रेल दुर्घटनामा मृत्यु भएकाप्रति श्रद्धाञ्जली दिन आएकाहरूमध्येकी थिइन् । उनको हातमा एउटा ठूलो खेलौना थियो । शोक सभामा उपस्थित उनले पत्रकारसँग कुरा गर्न इन्कार गरिन् । यद्यपि, पछि पत्रपत्रिकाहरूले लेखेअनुसार उक्त खेलौना उनलाई प्रेमी सु यु–मिङले भ्यालेन्टाइन डेको दिन उपहार दिएका थिए, जो त्यही दुर्घटनामा बितेका थिए ।  सुको परिवारलाई उद्धृत गर्दै स्थानीय सञ्चारमाध्यमहरूले जनाएअनुसार उनीहरू दुईजना पछिल्लो तीन वर्षदेखि सम्बन्धमा थिए । अर्काे महिना उनीहरूको बिहे गर्ने योजना थियो ।