मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
भीष्मराज ओझा रासस
२०७७ चैत २५ बुधबार ०८:१७:००
Read Time : > 1 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

आज पत्रकार महासंघको निर्वाचन : १३ हजार एक सय २२ सदस्यले मतदान गर्दै

बिहान ९ बजेदेखि साँझ ५ बजेसम्म मतदान

Read Time : > 1 मिनेट
भीष्मराज ओझा रासस
२०७७ चैत २५ बुधबार ०८:१७:००

मतदानस्थल : ७७ जिल्लाको सम्बन्धित जिल्ला शाखामा, ४२ प्रतिष्ठानको विभिन्न १९ स्थानमा र एक एसोसिएटको दशरथ रंगशालामा गरी कुल ९७ बुथमा निर्वाचन जारी

नेपाली सञ्चारकर्मीका लागि बहुप्रतीक्षित नेपाल पत्रकार महासंघका सबै शाखा, प्रदेश समिति र केन्द्रीय समितिको निर्वाचन आज एकसाथ सुरु भएकाे छ । पत्रकार महासंघ प्रत्यक्ष मतदान प्रणालीमा प्रवेश गरेपछि केन्द्रीय समितिको निर्वाचन पहिलोपटक प्रत्यक्ष प्रणालीबाट भएकाे हो ।     

महासंघको केन्द्रीय समिति, प्रदेश समिति, जिल्ला शाखा र विभिन्न प्रतिष्ठान तथा एसोसिएटमा नयाँ नेतृत्वका लागि १३ हजार एक सय २२ सदस्यले एकसाथ मतदान गर्दै छन् । बिहान ९ बजेदेखि साँझ ५ बजेसम्म मतदानको व्यवस्था गरिएको छ । मतदान सम्पन्न भएपश्चात् बुधबार नै मतगणना सुरु गरिनेछ । 

कुनै बाधा नभए चैत २६ गते सबै तहको मतपरिणाम आउने महासंघको केन्द्रीय निर्वाचन समितिका संयोजक वरिष्ठ पत्रकार कपिल काफ्लेले जानकारी दिए । निर्वाचनका लागि ७७ जिल्लाको सम्बन्धित जिल्ला शाखामा, ४२ प्रतिष्ठानको विभिन्न १९ स्थानमा र एक एसोसिएटको दशरथ रंगशालामा गरी कुल ९७ बुथमा निर्वाचन तोकिएको छ । 

केही शाखा र प्रतिष्ठानमा सर्वसम्मत रूपमा नयाँ नेतृत्व चयन भए पनि आज चैत २५ गते मात्रै निर्विरोध निर्वाचित भएको घोषणा गरिनेछ । यस निर्वाचनमा तीन हजारभन्दा बढी पदाधिकारी तथा सदस्य निर्वाचित हुने र त्यसमा महिलाको उपस्थिति ३३ प्रतिशतभन्दा बढी रहने संयोजक काफ्लेले बताए । महासंघका सबै संरचनामा पूर्ण समावेशिताको व्यवस्था गरिएको छ ।    

केन्द्रीय समितिको ४९ पदका लागि एक सय ५२ को उम्मेदवारी परेको छ । केन्द्रीय समितिको अध्यक्षमा विपुल पोखरेल र निर्मला शर्माले प्यानलसहित उम्मेदवारी दिएका छन् भने गजेन्द्रसिंह बुढाथोकी पनि अध्यक्षको प्रत्याशी छन् । 

प्रत्येक तीन वर्षमा सबै समिति तथा शाखाहरूको निर्वाचन हुने महासंघमा हाल सबै समितिका नेतृत्व चयनका लागि सबै सदस्यहरूको प्रत्यक्ष मतदानको व्यवस्था गरिएको छ । महासंघमा हालसम्म कुनै पनि अध्यक्षको कार्यकाल दोहोरिएको छैन ।     

महासंघले आफ्नो संगठनलाई संघीयताअनुरूप ढाल्दै प्रदेश समिति तथा प्रदेश परिषद्हरू पनि गठन गरिसकेको छ । देशका सात प्रदेशसहित काठमाडौं उपत्यकालाई छुट्टै एकाइ मानी आठ भौगोलिक प्रदेश र प्रतिष्ठान शाखा तथा एसोसिएट संस्थाहरू रहने प्रतिष्ठान एवं एसोसिएट दुई गैरभौगोलिक प्रदेश गरी महासंघका १० प्रदेश समिति र परिषद् छन् ।    

महासंघका जिल्ला शाखा ७७, प्रतिष्ठान शाखा ४२, एसोसिएट सदस्य ११, वैदेशिक शाखा नौ, प्रदेश परिषद् १०, प्रदेश समिति १०, केन्द्रीय परिषद् र केन्द्रीय समिति रहेका छन् । 

महासंघको केन्द्रीय समिति ४९ सदस्यीय रहेको छ भने प्रदेश समिति २१ सदस्यीय रहने विधानको प्रावधान छ । जिल्ला तथा प्रतिष्ठान शाखा भने सदस्य संख्याअनुसार रहने व्यवस्था छ ।  

नेपाल पत्रकार महासंघ सम्पूर्ण नेपाली पत्रकारहरूको साझा छाता संगठन हो । देश विदेशमा रहेका नेपाली पत्रकारहरूलाई संगठित गर्दै व्यावसायिक नेतृत्व प्रदान गर्ने र श्रमजीवी पत्रकारहरूको हकहित रक्षा गर्दै सम्पूर्ण सञ्चार क्षेत्रको विकासका लागि काम गर्नु महासंघको मूल ध्येय, लक्ष्य र दायित्व हो । 

वि.सं. २०१२ चैत १६ गते गठन भएको नेपाल पत्रकार संघ निरन्तरताका रूपमा महासंघ रहेको छ । वि.सं. ०५३ जेठ २९ मा संघलाई महासंघमा रूपान्तरण गरिएको हो ।