Skip This
यौनिक तथा लैंगिक अल्पसंख्यकको प्रश्न : सधैँ हाम्रो संवेदनामा प्रहार किन ?
१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Tuesday, 13 May, 2025
Invalid date format o९:५२:oo
Read Time : > 3 मिनेट
फिचर प्रिन्ट संस्करण

यौनिक तथा लैंगिक अल्पसंख्यकको प्रश्न : सधैँ हाम्रो संवेदनामा प्रहार किन ?

Read Time : > 3 मिनेट
नयाँ पत्रिका
Invalid date format o९:५२:oo

ब्लु डाइमन्ड सोसाइटीको रिपोर्टअनुसार लकडाउनयता यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायका २० जनाले आत्महत्या र १० जनाले आत्महत्याको कोसिस गरेका छन्

‘हामी भावनात्मक रूपमा एकदमै कमजोर हुन्छौँ । परिवार, समाज, साथीभाइद्वारा भावना र आत्मसम्मानमा हुने लगातारको प्रहारका कारण जीवनसँग हारिसकेका हुन्छौँ,’ ब्लु डाइमन्ड सोसाइटीका अध्यक्ष शीतल पिंकी गुरुङले भनेका वाक्य हुन् यी । यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायका मानिसले मानसिक र भावनात्मक रूपमा साह्रै कमजोर भएपछि आत्महत्याको बाटो रोज्ने गरेको गुरुङको विश्लेषण छ । जसको कारण हो, तिरस्कारमा पर्नु अनि आत्मसम्मान गुम्नु । 

सफ्ट कपी म्यागजिनमा सन् २०१२ मा प्रकाशित एक लेखमा भनिएको छ, भारतमा ३१ प्रतिशत यौनिक तथा लैंगिक अल्पसंख्यकले आत्महत्याको बाटो रोज्छन् । ५० प्रतिशतले त २० वर्ष पूरा नहुँदै एक न एकपटक आत्महत्याको कोसिस गर्छन् । त्यही लेखमा भनिएको छ, अमेरिकामै पनि ४१ प्रतिशत यौनिक तथा लैंगिक अल्पसंख्यकले जीवनमा एक न एकपटक आत्महत्याको कोसिस गरेका हुन्छन् । यो तथ्यांक तथ्यांक मात्रै होइन, उनीहरूले बाँचिरहेको जीवनको तितो यथार्थ पनि हो । ट्रान्स वुमन समाइरा श्रेष्ठ भन्छिन्, ‘जीवनमा एक न एकपटक हामीले आत्महत्याको कोसिस गरेकै हुन्छौँ, यो नमीठो सत्य हो ।’ समाइरा स्वयंले पनि तीनपटक आत्महत्याको कोसिस गरेको बताइन् ।

जागिर, स्कुल/कलेज, परिवार, समाज, सार्वजनिक ठाउँमा जहाँ पनि यौनिक अल्पसंख्यक भएकैले दुर्व्यवहारमा पर्दा आत्मसम्मानमा लागेको घाउ कहिल्यै निको नहुने बताउँछिन् शीतल पिंकी गुरुङ पनि । उनी भन्छिन्, ‘झ्वाट्ट हेर्दा सामान्य लाग्छन्, ती व्यवहार । तर, यस्ता व्यवहारले हृदयको अन्तर्यमा पार्ने चोट खतरनाक हुन्छ । हाम्रो अहंमा चोट लगाइदिन्छ र सधैँ कमजोर बनाइरहन्छ ।’

यौनिक अल्पसंख्यक मोडल मेघना लामाले १६ वर्षकै उमेरमा आत्महत्याको कोसिस गरेकी थिइन् । उनले मुसा मार्ने विष खाएकी थिइन् । विष खाएको बारे परिवारलाई पनि सुनाएकी थिइन् । उनको घरमा रुवाबासी चल्यो, उनलाई अस्पताल लगियो । अहिले त त्यो घटना उनी सम्झनै चाहँदिनन् । तर, विष किन खाइन् त ? उत्तर हो, परिवारले इच्छाविपरीत विवाह गर्न खोज्नु । उनको व्यवहारलाई परिवारका सदस्यले नजरअन्दाज गरिदिएका थिए । उनको पहिचानमाथि ढक्कन लगाउन खोजेका थिए ।
.....                         .......

गत १४ फेब्रुअरीमा पाटन कृष्णमन्दिरका सिँढीहरू युगल जोडीहरूले सजिएका थिए । ‘भ्यालेन्टाइन डे’को असरमा ‘डेट’ गर्न यहाँ आइपुगेका जोडीहरूको ध्यान एउटा माइकले खिचिदियो । उनीहरूका आँखा त्यतै सोझिए । माइकमार्फत समाइरा श्रेष्ठ कार्यक्रमको उद्देश्यबारे भनिरहेकी थिइन् । त्यहाँ ‘डेट’मा निस्केका जोडीहरूकै उमेरका युवा भने प्रेममाथिका आफ्ना अनुभूति राख्दै थिए । ‘म बोल्न चाहन्छु, मनको कुरा खोल्न चाहन्छु’ नामक कार्यक्रममा यौनिक अल्पसंख्यक समुदायका युवाले आफ्नो जीवन कथा र अनुभूति बाँड्दै थिए । संवेदना र आत्मसम्मानमा लागेको कहिल्यै निको नहुने घाउबारे बोल्दै थिए । 

कार्यक्रममा समीर खनाल भनिरहेका थिए, ‘अहिले म ‘गे’ भनेर निर्धक्क हिँड्छु । अहिले त ‘गे’ सम्बोधनमा गर्व महसुस हुन्छ ।’ उनी ‘यौनिक तथा लैंगिक अल्पसंख्यक हुँ’ भनेर खुलेर हिँड्छन् । उनको हिजोको जीवनकथा भने उपहासको पात्र र हीनताबोधले लेखिएको थियो । आफू ‘गे’ नभएको फेक रियालिटी देखाउँथे । उनलाई घरमा पनि ‘केटीको जस्तो स्वर’ भनेर उपहास गरिन्थ्यो । शिक्षकले सम्म स्कुलमा ‘छक्का, हिजडा’ भनेर होच्याउँथे । तर, अहिलेको खनाल हिजोको त्यही उपहासको पात्र होइनन्, उनको जागिर र कमाइ राम्रो छ । आफ्नै तागतले बाँचेका छन् । करिअर ठिकठाक लयमा छ । हिजो जसरी उनलाई प्रश्नहरू आउँदैनन् । तर, उनीजस्ता यौनिक तथा लैंगिक अल्पसंख्यक कति होलान् ? जसले पाएको अपमान, गुमाएको आत्मसम्मान पुनः फर्काएर सानदार जीवन बाँच्न सक्छ । जो विभेदका कारण भोगेको फ्रस्टेसन र ‘साइकोलोजिकल ट्रमा’बाट बाहिर निस्कन सक्छ र फेरि मुस्कुराउन सक्छ । 

ब्लु डाइमन्ड सोसाइटीको रिपोर्टअनुसार लकडाउनयता २० जना यौनिक तथा लैंगिक अल्पसंख्यकले आत्महत्या गरिसकेका छन् । १० जनाले आत्महत्याको कोसिस गरेका छन् । गुरुङको विश्लेषण छ, यसको प्रमुख कारण डिप्रेसन र मनौवैज्ञानिक तथा भावनात्मक रूपमा एकदमै कमजोर ठान्नु । ‘विभेदका कारण जुन खालको ट्रमा महसुस भएको हुन्छ, त्यो कहिल्यै निको हुँदैन । त्यसले करिअर, भविष्य, सपना, खुुसी सबै निमिट्यान्न पारिदिएको हुन्छ,’ गुरुङ सुनाउँछिन्, ‘राजनीतिक तथा सामाजिक रूपमा हामीलाई हेर्ने दृष्टिकोण सामान्य छैन । त्यसले एकदमै धेरै नकारात्मक असर गरेको हुन्छ । बाल्यकालदेखि नै ती कुराबाट वञ्चित हुनुपरेपछि भावनात्मक रूपमा कमजोर बनेका हुन्छौँ ।’ यस्तो वेला माया, करुणाको आवश्यकता पर्छ, तर यस्तो विषयको अपेक्षा राख्नु पनि अपराधजस्तै हुने उनी बताउँछिन् । 

सबैको खराब व्यवहारले बौद्धिकता र व्यक्तित्व विकासमा कस्तो अप्ठ्यारो हुन्छ ? गुरुङको प्रश्न हो यो । यस्तै भयावह अवस्थाले नकारात्मक सोच मात्रै आइरहने र आफ्नै जिन्दगीप्रति गर्व महसुस नहुनाले आत्महत्याका घटना बढिरहेको उनको बुझाइ छ । उनी प्रश्न गर्छिन्, ‘यो विषयमा हाम्रो समाज, राज्य संवेदनशील हुन पर्दैन ?’

.....                     ......

शान्तिका लागि साझा अभियान नामक संस्थाले जारी गरेको रिपोर्टअनुसार गत वैशाखदेखि अहिलेसम्म यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायका २२ जना हिंसामा परेका छन् । हत्या, बलात्कार, विभेदलगायतको सिकार भएका छन् । १० महिनाबीचमा यत्तिका धेरै घटना घट्नु सामान्य नरहेको अभियन्ता समाइरा श्रेष्ठको विश्लेषण छ ।

यौनिक तथा लैंगिक अल्पसंख्यकको अधिकारका लागि लडिरहेकी श्रेष्ठ ट्रान्स वुमन हुन् । समुदायको अधिकारको पक्षमा वकालत गरिरहेकी हुन्छिन् । तर, समाइरा उनै हुन्, जसले जीवनमा तीनपटकसम्म आत्महत्याको कोसिस गरेकी थिइन् । लामो सास तान्दै भन्छिन्, ‘धन्य भगवान् ! अहिले म जीवित छु ।’ उनले आत्महत्या कोसिस गर्नुको कारण थियो, हीनताबोध । उनी जुन समाजमा हुर्किएकी थिइन्, त्यो समाजले उनको फरक पहिचानलाई स्विकार्दैनथ्यो, बरु दुत्काथ्र्यो । त्यसकारण आत्महत्याको कोसिस गरिन् । 

उनी अहिले यौनिक तथा लैंगिक अल्पसंख्यकलाई हेर्ने समाजको दृष्टिकोणको विरुद्ध उभिन्छिन्, प्रश्न गर्छिन् । उनको पहिलो प्रश्न त विद्यालय र शिक्षकहरूमाथि छ । भन्छिन्, ‘हाम्रो विद्यालयमा पढाउने अधिकांश शिक्षकलाई नै थाहा हुन्न यौनिक तथा लैंगिक अल्पसंख्यकबारे । उनीहरू नै विभेदमा उत्रिन्छन् । त्यहाँ हुने अवहेलनाले हाम्रो वृद्धिविकासमा मात्रै होइन, जिन्दगीमै ठूलो असर गरेको हुन्छ ।’ 

सबैभन्दा ठूलो भूमिका अभिभावक र विद्यालयको हो 

मनोविद् करुणा कुँवर यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायका मानिस बाल्यकालमै एकखाले मनोवैज्ञानिक ट्रमाबाट गुज्रिसकेको हुने बताउँछिन् । भन्छिन्, ‘आफ्नो यौनिकता पहिचान हुनासाथ बाहिर आउन समय लाग्छ । थाहा पाउनासाथ परिवारलाई भन्ने अवस्था पनि हुँदैन । परिवारमै भर परेका हुन्छन् । यस्तो अवस्थामा सबैभन्दा ठूलो भूमिका अभिभावक र विद्यालयकै हो । उनीहरूको व्यवहारबाट बुझ्ने प्रयत्न गरिदिनुपर्छ । साथै, फरक लैंगिक पहिचान भएकाहरूले आफूलाई सहज हुने, आफ्नो भावना बुझिदिने मान्छेको समीपमा रहनुपर्छ । जता गए नि मेरो ठाउँ छैन भन्ने बुझाइ हुन्छ, त्यसलाई हटाउने कोसिस गर्नुपर्छ ।’