मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
दीपक भट्ट रामेछाप
२०७७ चैत १२ बिहीबार १४:१९:००
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

आयुर्वेद स्वास्थ्य केन्द्रमा बिरामीको भिड, औषधि पुर्‍याउनै सकस

Read Time : > 1 मिनेट
दीपक भट्ट, रामेछाप
२०७७ चैत १२ बिहीबार १४:१९:००

रामेछाप सदरमुकाम मन्थलीस्थित आयुर्वेद स्वास्थ्य केन्द्रमा उपचार लिन आउने बिरामीको संख्या वृद्धि भएसँगै औषधि पुर्‍याउन सकस भएको छ । विगत वर्षहरूको तुलनामा पछिल्लो समय आयुुर्वेद अस्पतालतर्फ नागरिकहरूको आकर्षण बढ्दै जाँदा आयुर्वेद कार्यालयमा उपचार लिन आउने सेवाग्राहीको संख्यामा वृद्धि भएसँगै औषधि पुर्‍याउन समस्या भएको हो ।

अहिले दैनिक रूपमा ६० देखि सयजनासम्म बिरामी उपचार लिन आउने गरेको जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र रामेछापका प्रमुख डा. नरेन्द्रप्रसाद गिरीले बताए । उनले भने, ‘पहिला–पहिला आयुर्वेद अस्पतालको उपचार पद्धति मन नपराउनेहरूको विश्वास अहिले आयुर्वेदतर्फ बढेको छ । केही वर्षअघिसम्म केही मात्रामा मात्रै उपचार लिन आउने गर्दथे । अहिले पहिलाको जस्तो छैन । नागरिकहरूमा आयुुर्वेद अस्पतालप्रतिको मोह बढेको छ । दैनिक ६० देखि सयको संख्याको हाराहारीमा बिरामी उपचार लिन आउने गरेका छन्,’ उनले भने । 

विगत वर्षहरूमा आयुर्वेद अस्पतालमा उपचार लिन आउने सेवाग्राहीको संख्या कमी हुने गर्दथ्यो । पहिला सबैको रोजाइ आयुर्वेद अस्पतालभन्दा अन्य अस्पताल बन्ने गरेको थियो । अन्य अस्पतालमा उपचार लिन गएका बिरामीहरूले प्रयोग गरेको औषधिहरूले उनीहरूको स्वास्थ्यमा असर देखापर्न थालेपछि पछिल्लो समय सबैको रोजाइमा आयुर्वेद अस्पताल बन्न पुगेको जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र मन्थलीका कविराज दीपककुमार कार्कीले जानकारी दिए । 

उनले भने, ‘अस्पतालमा आउने बिरामीहरूको संख्या बढेसँगै भएको जनशक्तिले बिरामी जाँच गर्न समस्या भएको छ । अस्पतालमा सरकारले प्रदान गरेको ३० थरीका औषधिले पुर्‍याउन सकिएको छैन । अन्य औषधिको तुलनामा आयुर्वेद औषधि लामो समयसम्म सेवन गर्नुपर्ने, एकै बिरामीलाई धेरै किसिमका औषधि दिनुपर्ने भएकाले औषधि पुर्‍याउन समस्या भएको छ । अहिलेसम्म आउने बिरामीलाई त जेनतेन पु¥याएका छौँ ।’

पछिल्लो समय आयुर्वेद स्वास्थ्य केन्द्रमा फिजियोथेरापी र मौलिक थेरापीअन्तर्गत पूर्वकर्म, पञ्चकर्म थेरापी गर्न जाने बिरामीको संख्यामा पनि वृद्धि भएको छ । जिल्लाका अन्य निजी अस्पताल र सरकारी अस्पतालमा समेत थेरापी मेसिन नभएका कारण उक्त सेवा बिरामीले पाउँदैनन् । अहिले आयुुर्वेद स्वास्थ्य केन्द्रले थेरापी सेवा उपलब्ध गराएपछि सबैको रोजाइ आयुर्वेद स्वास्थ्य केन्द्र बन्न पुगेको मन्थली नगरपालिका– १ मच्छेडाँडीका विष्णुप्रसाद सुवेदीले जानकारी दिए । 

आयुर्वेद अस्पतालमा ग्यास्ट्रिक, अमलपित्त, पायल्स, फिस्टुलाका बिरामी बढी मात्रामा आउने गरेका छन् । स्त्रीरोग, फिजोयोथेरापी र मौलिक थेरापी पूर्वकर्म पञ्चकर्मको सेवा लिन आउने सेवाग्राहीहरुको संख्या निकै हुँदा भएको जनशक्तिले काम गर्न समस्या भएको जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र रामेछापले जनाएको छ ।