१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७७ चैत १२ बिहीबार ०६:५०:००
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

ऊर्जा बचत गर्ने दुई कम्पनीलाई अनुदान रकम हस्तान्तरण

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७७ चैत १२ बिहीबार ०६:५०:००

राष्ट्रिय वाणिज्य बैंकले उद्योग सञ्चालनमा ऊर्जा बचत गर्ने दुईवटा कम्पनीलाई अनुदान रकम हस्तान्तरण गरेको छ । बैंकले जर्मन सरकारबाट केएफडब्लु बैंकमार्फत प्राप्त अनुदान सहयोगमा सञ्चालित ‘इनर्जी इफिसिएन्सी प्रोग्राम नेपाल’को अनुदान सहयोग कार्यक्रमअन्तर्गत रकम हस्तान्तरण गरेको हो । 

बैंकले सुजल डेरी प्रालिलाई १५ लाख ३५ हजार ९ सय ९५ रुपैयाँ र गोल्डेन स्टार सोप इन्डस्ट्रिजलाई ४ लाख ६७ हजार ५ सय ५७ रुपैयाँ रकम हस्तान्तरण गरेको जनाएको छ । मितव्ययी तथा प्रभावकारी ऊर्जा बचत हुने गरी कम्पनीहरूले यन्त्र उपकरण जडान गरेको हुँदा स्वीकृत अनुदान कार्यविधिअनुसार अनुदान रकमको चेक बुधबार हस्तान्तरण गरेको जनाइएको छ ।     

बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले चेक हस्तान्तरण गर्दै अन्य उद्योगलाई ऊर्जा बचत गर्ने कार्यमा लगानी गरी यस कार्यक्रममा सहभागी हुन आह्वान गरेका छन् । उनले हालसम्म १९ उद्योगलाई ६ करोड ९४ लाख रुपैयाँभन्दा बढी अनुदान रकम हस्तान्तरण गरिसकेको जानकारी दिए ।

नेपाल सरकार र जर्मन सरकारबीच सन् २०१३ मा नेपालको औद्योगिक तथा व्यापारिक क्षेत्रमा मितव्ययी तथा प्रभावकारी ऊर्जा बचत गर्ने सम्झौता भएको थियो । यसैबमोजिम राष्ट्रिय वाणिज्य बैंकले इनर्जी इफिसियन्सी प्रोग्राम नेपाल आयोजनाको कार्यान्वयनका लागि प्रोजेक्ट एक्जिक्युटिङ एजेन्सीका रूपमा काम गर्दै आएको जनाइएको छ । 

आयोजनाअन्तर्गत नेपालमा सञ्चालित ठूला, साना तथा मझौला उद्योग र फर्मलाई मितव्ययी तथा प्रभावकारी ऊर्जा बचत हुने गरी यन्त्र उपकरण जडान गर्दा जर्मन सहायताबाट प्राप्त हुने रकमबाट लागतको १५ देखि ३९ प्रतिशतसम्म रकम राष्ट्रिय वाणिज्य बैंकमार्फत उपलब्ध गराइने बैंकले जनाएको छ ।