१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ १ मंगलबार
  • Tuesday, 14 May, 2024
२o८१ जेठ १ मंगलबार o८:o८:oo
Read Time : > 1 मिनेट
ad
ad
Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८१ जेठ १ मंगलबार o८:o८:oo

वैशाख पहिलो साता गैँडाको संख्या सार्वजनिक गरिने वनमन्त्री प्रेमबहादुर आलेले हात्ती चढेर गैँडा गणनाको गरे शुभारम्भ

चितवन राष्ट्रिय निकुञ्जका गैँडा गणनामा प्रयोग गरिएका हात्ती

सरकारले पहिलोपटक गैँडा गणना सुरु गरेको छ । वन तथा भू–संरक्षणमन्त्री प्रेमबहादुर आलेले मकवानपुरको मनहरि गाउँपालिका–७ रमौली प्रतापपुरबाट सोमबार गैँडा गणनाको शुभारम्भ गरेका हुन् ।

सरकारले गैँडा गणनाका लागि अघिल्लो वर्ष एक करोड १० लाख बजेट छुट्याएको थियो । तर, कोभिड–१९ महामारीका कारण गत आर्थिक वर्षमा गणना हुन नसकेपछि अहिले गन्न थालिएको हो । गत वर्ष ११ चैतमा गैँडा गणना गर्ने मितिसमेत तय भएको थियो । गणना कार्यमा संरक्षण साझेदार संस्थाहरूको रूपमा राष्ट्रिय प्रकृति संरक्षण कोष (एनटिएनसी), विश्व वन्यजन्तुु कोष (डब्लुडब्लुएफ), नेपाल र जेडएसएल नेपाललगायत संघसंस्थासमेत सहभागी छन् । 

राष्ट्रिय गैँडा गणना निकुञ्ज तथा वन्यजन्तुु संरक्षण विभागको नेतृत्वमा भएको हो । चितवन राष्ट्रिय निकुञ्जसहित गैँडा पाइने नेपालका विभिन्न निकुञ्जमा ६ वर्षपछि गणना हुन लागेको हो । यसअघि हरेक पाँच वर्षमा गैँडा गणना हुँदै आएको थियो  ।

राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका सूचना अधिकारी इकोलोजिस्ट हरिभद्र आचार्यका अनुसार गैँडा गणनाका लागि चितवन राष्ट्रिय निकुञ्जको गैँडा पाइने क्षेत्रलाई १९ वटा ब्लकमा विभाजन गरिएको छ । जहाँ १० स्थानमा क्याम्प राखिएको छ । आचार्यका अनुसार गणनामा व्यवस्थापन सहयोगी, हात्तीसारका कर्मचारी र स्वास्थ्यकर्मीसहित प्रत्येक दिन तीन सयभन्दा बढी जनशक्ति परिचालन हुनेछन् ।

यसका लागि  चितवनका ४२, बर्दियाका नौ, शुक्लाफाँटाका पाँच गरी ५६ वटा हात्ती परिचालन भएका छन् । जसमा चितवनका दुई सय, बर्दियाका ६० र शुक्लाफाँटाका ४० जना गणक छन् । गैँडा गणनाका लागि यसअघि उनीहरूलाई आवश्यक तालिमसमेत दिइएको थियो । तालिमअनुसार नै एउटा हात्तीले अर्को हात्तीलाई देखिने गरी लस्करै हात्ती बढ्दै जाने र हात्तीमाथि रहेका गणकहरूले एक–एक गरी गैँडा गन्नेछन् । 

चिडियाखानामा सहयोग गर्न मन्त्रीको आग्रह 
गैँडा गणनाको शुभारम्भ गर्दै वनमन्त्री प्रेमबहादुर आलेले सदर चिडियाखानालाई सहयोग गर्न अनुरोध गरे । ‘कोभिडले जाउलाखेलस्थित सदर चिडियाखानामा जीवजन्तु पाल्न गाह्रो भएको छ,’ उनले भने, ‘त्यसलाई मध्यनजर गरेर प्रधानमन्त्री केपी ओलीले गैँडाको आहारको निम्ति एक महिनाका लागि रकम दिनुभएको छ । मैले पनि एक महिनाका लागि हात्तीको आहारको व्यवस्था गर्न सहयोग गरेको छु । चितवन पर्यटनको बिजनेस हब भएकाले तपाईंहरूले सक्नुहुन्छ भने चिडियाखानालाई सहयोग गरिदिनुहुन आग्रह गर्छु ।’

गैँडा गणना शुभारम्भ कार्यक्रममा वनमन्त्रीलगायत

यसरी गरिनेछ गणना
२९ चैतसम्म चारवटै निकुञ्जमा गैँडा गणना सकेर वैशाख पहिलो साता नतिजा सार्वजनिक गर्ने गरी तयारी गरिएको छ । गणनाले गैँडाको संख्या, प्रजनन अवस्था, विचरण र आहाराको अवस्था थाहा हुने हुँदा गणनापछि गैँडाको वासस्थान, व्यवस्थापन बुझ्न र सुधार गर्न सहज हुने आचार्य बताउँछन् । यसअघि नेपालमा सन् १९९४, २०००, २००५, २००८, २०११ र २०१५ मा गैँडा गणना गरिएको थियो ।

चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत अणनाथ बरालका अनुसार पछिल्लो पटक सन् २०१५ को गणनामा नेपालमा कुल ६ सय ४५ गैँडा थिए । तथ्यांकअनुसार चितवनमा ६ सय पाँच, बर्दियामा २९, शुक्लाफाँटामा आठ र पर्सामा तीन गैँडा भेटिएका थिए । यसबीचमा एक सय ६१ को मृत्यु भएको छ । त्यसमध्ये चोरी सिकारका कारण ६ वटा गैँडा मरेको भेटिएको छ । आव ०७५/७६ मा चोरी सिकारबाट गैँडा मर्ने संख्या शून्य थियो । गैँडा विश्वबाट लोप हुने खतरामा पुगेको दुर्लभ वन्यजन्तु हो । 

ad
ad