
कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले डोल्पाको से–फोक्सुन्डो ताल क्षेत्रमा निःशुल्क इन्टरनेट सेवाको उद्घाटन गरेका छन् । इन्टरनेट सेवाप्रदायक कम्पनी वल्र्डलिंकले निःशुल्क जडान गरेको इन्टरनेट सेवा उद्घाटनका लागि आइतबार मुख्यमन्त्री शाही माउन्टेन एयरको हेलिकोप्टरमा फोक्सुन्डो ताल पुगेका हुन् ।
उनीसँगै कम्पनीका अध्यक्ष दिलीप अग्रवाल, सिइओ केशव नेपाल पनि फोक्सुन्डो पुगेका हुन् । फोक्सुन्डो ताल सुन्दर पर्यटकीय गन्तव्य भएर पनि ओझेलमा परेकाले प्रचार–प्रसार गर्न तालनजिकै निःशुल्क इन्टरनेट जडान गरिएको कम्पनीले जनाएको छ । एक दिनमा निःशुल्क पाँच सय एमबी प्रयोग गर्न सकिने कम्पनीका प्राविधिक उमाकान्त क्षत्रीले जानकारी दिए ।
निःशुल्क इन्टरनेट जडानसँगै फोक्सुन्डो घुम्न आउने पर्यटकहरूका लागि सञ्चार सम्पर्कमा रहन सहज हुने भएको छ । साथै, पर्यटकले मनोरञ्जनसमेत लिने अपेक्षा गरिएको निकुञ्जका निमित्त वार्डेन गोपाल खनालले बताए ।