१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ४ शुक्रबार
  • Friday, 17 May, 2024
२o८१ जेठ ४ शुक्रबार o८:५५:oo
Read Time : > 1 मिनेट
ad
ad
अर्थ प्रिन्ट संस्करण

मुढे–चरिकोट सडक अलपत्र पार्ने ठेकेदारलाई स्थानीयको १ रुपैयाँ चन्दा

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८१ जेठ ४ शुक्रबार o८:५५:oo

दोलखा प्रवेश गर्ने मुख्य मार्ग मुढे–चरिकोट सडक निर्माणको जिम्मा लिएर पाँच वर्षदेखि अलपत्र छोड्ने ठेकेदारलाई स्थानीय नागरिकले १ रुपैयाँ संकलन गरेर बुझाएका छन् । बुधबार सडक संघर्ष समितिले आयोजना गरेको विरोध कार्यक्रममा चरिकोटका स्थानीयले एक–एक रुपैयाँ संकलन गरी सडक लामोसाँघु जिरी सडक विस्तार आयोजनाका प्रमुख दीप बाराहीलाई बुझाएका हुन् ।

सातदोबाटो चोकदेखि पशुपति मन्दिरसम्म माइकिङ गर्दै संघर्ष समितिले ७ सय ४ रुपैयाँ संकलन गरेका छन् । संकलित रकम आयोजनाको कार्यालय पुगेर प्रमुखलाई बुझाइएको सडक संघर्ष समितिका संयोजक चिरञ्जीवी मास्केले जानकारी दिए ।

पाँच वर्षदेखि अलपत्र सडक निर्माणको जिम्मा लिएको ठेकेदार कम्पनी शंकरमाली निर्माण सेवाका सञ्चालक दीपक सापकोटा फेरि बेपत्ता भएपछि स्थानीयहरू आन्दोलनमा उत्रिएका हुन् । ०७२ भदौमा एक अर्बको ठेक्का लिएर अहिलेसम्म सडक निर्माणको काम नगर्ने शंकरमाली निर्माण सेवालाई दबाबस्वरूप नागरिक चन्दा संकलन गरिएको मास्केले बताए ।

चेक बाउन्सको मुद्दामा परेका सापकोटा केही समयदेखि सम्पर्कविहीन रहेको आयोजना प्रमुख बाराहीले बताएका छन् । प्रहरीको खोजी सूचीमा रहेका उनलाई समात्न महानगरीय प्रहरी कार्यालयले समेत टोली परिचालन गरेको छ । उनी बेपत्ता भएपछि सोही निर्माण सेवाका अन्य सञ्चालकलाई झिकाए पनि सडक सुधार आयोजनाले अन्य सञ्चालकमार्फत काम गराउने वातावरण नरहेको जनाएको छ ।

आयोजना प्रमुख दीप बाराहीका अनुसार यो कम्पनीले जिम्मा लिएको साइटको सम्पूर्ण काम रोकिएको छ । ठेकेदार फरार भएपछि उक्त कम्पनीलाई कारबाही गरेर नयाँ ठेकेदार नियुक्त गर्न दबाब बढेको छ । बाराहीले यो हप्तामा पनि काम सुरु नगरे ठेक्का तोड्ने प्रक्रियालाई अगाडि बढाउने बताएका छन् ।

संघर्ष समितिले तत्काल ठेकेदारलाई कारबाही प्रक्रिया अगाडि बढाउन आइतबारसम्मको अल्टिमेटम दिएको छ । सोमबारबाट कडा ढंगका कार्यक्रम सञ्चालन गरिने संघर्ष समितिले जनाएको छ । एक्जिम बैंक अफ इन्डियाको सहयोगमा विस्तार हुन लागेको उक्त सडक निर्माणको जिम्मा भारतीय निर्माण कम्पनी सकिल हैदर र नेपाली कम्पनीहरू शंकरमाली र सुनौला खिम्तीले लिएका थिय । तर, काम भने शंकरमाली निर्माण सेवाले सुरु गरेर बीचमा अलपत्र छोडेको थियो ।

ad
ad