नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले देशको आर्थिक विकासमा वीरगन्जका उद्योगी–व्यवसायीको ठूलो योगदान रहेको बताएका छन् । वीरगन्ज उद्योग वाणिज्य संघको ४५औँ साधारणसभाको उदघाटन कार्यक्रमलाई सम्बोधन गर्दै उनले वीरगन्ज औद्योगिक नगरी भए पनि अहिलेसम्म यहाँका उद्योगी–व्यवसायीको योगदानको कदर नभएको भन्दै सरकारलाई गम्भीर हुन आग्रह गरे ।
उद्योगी–व्यवसायीको देशको औद्याेगिक विकासमा महत्वपूर्ण भूमिका रहेकाले नेपाल उद्योग वाणिज्य महासंघले कहिले पनि विभेद नगर्ने बताए । कोभिडका कारण लामो समयसम्म बन्द भएका र समस्यामा परेका उद्योग व्यवसायलाई सञ्चालनमा ल्याउन सबै व्यवसायीलाई ढकालले आग्रह गरे । नेपाल उद्योग वाणिज्य महासंघ वीरगन्जका उद्योगी व्यवसायीको समस्या समाधानका लागि कटिबद्ध रहेको भन्दै औद्योगिक विकासका लागि सहकार्य गरेर अगाडि बढ्नुपर्नेमा जोड दिए ।
वीरगन्ज उद्योग वाणिज्य संघको ४५औँ साधारणसभाले बन्दसत्रबाट आगामी तीन वर्षका लागि नयाँ कार्यसमिति चयन गर्ने प्रमुख निर्वाचन अधिकृत बालमुकुन्द खरेलले जानकारी दिए ।