१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
२०७७ फाल्गुण २८ शुक्रबार १३:४४:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

त्रिपुरासुन्दरी मन्दिर निर्माणमा बजेटभन्दा काम धेरै  

Read Time : < 1 मिनेट
२०७७ फाल्गुण २८ शुक्रबार १३:४४:००

हिमाली जिल्ला डोल्पाको त्रिपुरासुन्दरी मन्दिरमा विभिन्न संरचना निर्माणका लागि निकासा भएको बजेटभन्दा धेरैको काम भएको छ । केन्द्र र प्रदेश सरकारबाट विभिन्न शीर्षकमा आएको दुई करोड सात लाख ३५ हजार नौ सय ९७ बजेटमा दुई करोड ३३ लाख आठ हजार ४७ रुपैयाँ खर्च गरिएको अक्षय कोष समितिले जनाएको छ ।

सार्वजनिक सुनुवाइ कार्यक्रममा बोल्दै समितिका अध्यक्ष लक्ष्मीकान्त उपाध्यायले केन्द्र र प्रदेश सरकारलगायत विभिन्न निकायबाट प्राप्त रकममा २६ लाख ४४ हजार रकमबराबरका धेरै काम गरिएको बताए ।

‘मन्दिरमा खाेलादेखि मन्दिरसम्म रेलिङ, खप्तडबाबा पदमार्ग र हरिकीर्तन मन्दिर निर्माणलगायतका काम गर्दैै जाँदा रकम नपुगेपछि उधारो काम गरिएको हो, प्राप्त बजेटभन्दा तेह्र प्रतिशत धेरै काम भएको छ,’ उपाध्यायले भने ।

तोकिएकोभन्दा धेरै काम गर्दै जाँदा थप रकम खर्च भएको उनको भनाइ छ । मन्दिरमा संरचना निर्माणका लागि कर्णाली प्रदेश सरकारको उद्योग, पर्यटन वन तथा वातावरण मन्त्रालयबाट आव ०७५/७६ र ०७६/७७ गरेर एक करोड पाँच लाख बजेट र केन्द्र सरकार र सांसद विकास कोषबाट ६५ लाख प्राप्त प्राप्त भएको समितिले जनाएको छ । 

उधारो रकम पूर्तिका लागि समितिले विभिन्न निकायमा सहयोगको आह्वानसमेत गरेको छ ।

खप्तडबाट पदमार्ग निर्माणका लागि प्रदेश सरकारबाट जारी आवमा पुनः ५० लाख रकमसमेत आएको बताइएको छ । सरकारी निकायबाट प्राप्त विकास बजेटबाट तोकिएकोभन्दा धेरै काम गर्ने जिल्लाकै पहिलो आयोजना र समिति भएको सरोकारवाला निकायको भनाइ छ । नेपालकै प्रसिद्ध मन्दिरहरूमध्ये त्रिपुरासुन्दरी मन्दिरलाई सरकारले देशका एक सय पर्यटकीय गन्तव्यको सूचीमा राखेको छ ।