
विभागीय टोली एपिएफ क्लब मेयर कप क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । अब एपिएफले उपाधिका लागि नेपाल पुलिस क्लबको सामना गर्नेछ । एपिएफले काठमाडौं मेयर्स ११ लाई सात विकेटले हराउँदै अन्तिम दुई स्थान पक्का गरेको हो ।
अंकतालिकामा एपिएफले चार खेलबाट तीन जित र एक हार सामना गरी ६ अंक जोडेको छ । एपिएफ अंकतालिकाको दोस्रो स्थानमा छ । शीर्ष स्थानमा नेपाल पुलिस क्लबको ६ अंक छ । रनरेटमा पुलिस शीर्ष स्थानमा रहेको हो ।
काठमाडौंले पहिलो ब्याटिङ गरी ४८.५ ओभरमा सवै विकेट गुमाएर एक सय ७७ रन मात्र बनायो । प्रत्युत्तरमा एपिएफले ४४.१ ओभरमा तीन विकेटको क्षतिमा एक सय ७८ रन बनायो । एपिएफलाई फाइनल पुर्याउने क्रममा कप्तान सरद भेषवाकर र सन्दीप जोराले अर्धशतकीय इनिङ्स खेलेका थिए । कप्तान सरदले ६१ रनको योगदान दिएका थिए । उनले एक सय १८ बलमा पाँच चौका र एक छक्का प्रहार गरे ।
जोराले ७९ बलमा नौ चौका प्रहार गरी ६२ रन बनाए । सरद र जोराबीच चौथो विकेटका लागि एक सय २१ रनको नटआउट साझेदारी भयो । ओपनर शंकर रानाले ४९ बलमा पाँच चौकाको सहयोगमा ३१ रन बटुले । बलिङ क्रममा काठमाडौंका लागि कप्तान सन्दीप लामिछाने, अनिल खरेल तथा अनुज चुनराले एक–एक विकेट हात पारे ।
यसअघिको ब्याटिङ गरेको काठमाडौंलाई कमजोर बनाउन अविनाश बोहरा र कमल ऐरीले तीन–तीन विकेट हात पारेका थिए । अविनाशले ८.५ ओभरमा ४१ रन तथा कमलले १० ओभरमा तीन मेडन राखी २५ रन खर्चे । काठमाडौंको ब्याटिङ इनिङ्समा सन्दीप राजलीले सर्वाधिक ४८ रन बनाए । यसैगरी हरिशंकर साहले ३६, विक्रम भुसालले २० रन तथा खड्क बोहराले १३ रनको योगदान दिएका थिए । हरिशंकर र सन्दीप राजलीबीच तेस्रो विकेटका लागि ६५ रनको साझेदारी भएको थियो ।
एकै खेलमा दुई शतक
प्रतियोगिताअन्तर्गत त्रिवि खेलमैदानमा भएको अर्को खेलमा बागमती प्रदेशले त्रिभुवन आर्मी क्लबमाथि १० रनको रोमाञ्चक जित दर्ता गर्याे । यस खेलमा बागमतीका पारस खड्का र त्रिभुवन आर्मीका विनोद भण्डारीले शतकीय इनिङ्स खेलेका थिए । बागमतीका पारसले एक सय ३३ बलमा एक सय १९ रनको योगदान दिए । पारसले आफनो शतकीय इनिङ्स खेल्दा ११ चौका र दुई छक्का प्रहार गरेका थिए ।
चार खेलबाट चार अंक बटुली बागमती तेस्रो स्थानमा सीमित भयो । त्रिभुवन आर्मीले चार खेबलाट एक जितका साथ दुई अंक जोडेको छ । पहिलो ब्याटिङ गरेको बागमती ४९.४ ओभरमा दुई सय ६६ रनमा अलआउट भयो । प्रत्युत्तरमा त्रिभुवन आर्मीले ४७.१ ओभरमा सबै विकेट गुमाएर दुई सय ५६ रन जोड्न सफल भयो । बागमतीको ब्याटिङमा पारसबाहेक नन्दन यादवले ४२ रन र इशान पाण्डेले २६ रनको योगदान दिए । नन्दनले २५ बलमा पाँच चौका र एक छक्का प्रहार गरेका थिए । इशानले ५२ बलमा २६ रन बनाए ।
त्रिभुवन आर्मीका सोमपाल कामीले घातक बलिङ गरी १० ओभरमा ६५ रन खर्चेर पाँच विकेट हात पारे । रोमाञ्चक खेलमा आर्मीका कप्तान विनोदले एक सय १४ बलमा आठ चौका र सात छक्का प्रहार गरी टोलीलाई जितको आशा दिलाएका थिए । तर, उनलाई साथ दिन अन्य ब्याट्सम्यान नहुँदा आर्मी १० रनले पराजित भयो । ओपनर लोकेश बमले ३८ बलमा सात चौका र एक छक्का प्रहार गरी ४६ रन बटुले ।