मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७७ फाल्गुण २७ बिहीबार ०६:०५:००
Read Time : > 1 मिनेट
फ्रन्ट पेज प्रिन्ट संस्करण

आज शिवरात्रि : भक्तजनलाई सुरक्षा दिन सात हजार प्रहरी परिचालन

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०७७ फाल्गुण २७ बिहीबार ०६:०५:००

पूर्वसन्ध्यामा ७० जनाभन्दा बढी शंकास्पद पक्राउ 

प्रहरीले शिवरात्रिको अघिल्लो दिन ७० भन्दा धेरै शंकास्पद व्यक्तिलाई पक्राउ गरेको छ । पशुपतिनाथ मन्दिर आसपासबाट उनीहरूलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । पक्राउ परेका सबैलाई प्रहरी हिरासतमा राखिएको छ । 

महानगरीय प्रहरी परिसर काठमाडौंका अनुसार दर्शनार्थीको सुरक्षालाई ध्यान दिँदै शंकास्पद व्यक्ति पक्राउ गरिएको हो । पक्राउ परेकाविरुद्ध अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ । विशेषगरी पाकेट मार्ने र चोरी हुन सक्ने सम्भावना रोक्न प्रहरीले पक्राउ गरेको काठमाडौं परिसरका प्रवक्ता एसपी रमेश बस्नेतले बताए । 

‘पशुपतिनाथ मन्दिर आसपासबाट ७० भन्दा धेरै शंकास्पद व्यक्तिलाई पक्राउ गरिएको छ । हिरासतमा राखी उनीहरूविरुद्ध अनुसन्धान भइरहेको छ,’ प्रवक्ता बस्नेतले नयाँ पत्रिकासँग भने, ‘२४ घन्टासम्म उनीहरू हिरासतमा रहनेछन् । अनुसन्धानपछि केही नदेखिएकालाई छाडिनेछ । कैफियत देखिएकालाई मुद्दा चलाइनेछ ।’ बस्नेतका अनुसार पक्राउ पर्ने अधिकांश गाँजा सेवन गर्ने, गाँजा तथा लागुऔषधका कारोबारी र हुलहुज्जतमा संलग्न हुनेहरू छन् । 

शिवरात्रिलाई सुरक्षित बनाउन सात हजार प्रहरी परिचालन गरिएको छ । पशुपति आसपासमा सुरक्षा दिन उनीहरू सादा पोसाकमा खटिनेछन् । पोसाकमा रहेका प्रहरीले विपत्मा परेका दर्शनार्थीको उद्धार गर्ने, लाइन व्यवस्थित गर्ने र भिडभाड हुन नदिने प्रयास गर्नेछन् । सादा पोसाकमा रहेका सुरक्षाकर्मीले शंकास्पद व्यक्तिमाथि निगगानी गर्ने, पक्राउ गर्न आवश्यक देखिएकाहरूको सूचना संकलन गरी सुरक्षा संयन्त्रमा खबर गर्ने तथा पक्राउ गर्न सघाउनेछन् । 

काठमाडौं परिसरका प्रवक्ता एसपी बस्नेतले दर्शनार्थीको सुरक्षाका लागि सात हजार सुरक्षाकर्मी खटिने बताए । ‘पोसाक र सादा दुवै भेषमा सुरक्षाकर्मी खटिनेछन् । सबैका काम परिभाषित गरिएको छ । सुरक्षा व्यवस्था चुस्त छ,’ प्रवक्ता बस्नेतले नयाँ पत्रिकासँग भने ।

ट्राफिक व्यवस्थापन प्रभावित हुने 
पर्व अवधिभर पशुपतिनाथ मन्दिर आसपासमा ट्राफिक व्यवस्थापन प्रभावित हुनेछ । खासगरी चक्रपथ, चाबहिल–जोरपाटी, नयाँबानेश्वर, पुरानो बानेश्वर, रातोपुल, कालोपुल, भत्केको पुल, गौरीघाट र बौद्ध आसपासका क्षेत्रमा ट्राफिक व्यवस्थापन प्रभावित हुनेछ । 

प्रभावित क्षेत्रमा ट्राफिक सहजताका लागि महानगरीय ट्राफिक प्रहरी महाशाखाले नियमित हुने अवागमनलाई केही ठाउँमा डाइभर्सन पनि गरेको छ । मेलाभर आवागमन गर्ने सवारीसाधनले तोकिएको सडकखण्डबाट मात्रै सञ्चालन गर्न पाउनेछन् ।