मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७७ फाल्गुण २६ बुधबार १०:१६:००
Read Time : > 1 मिनेट
सम्पादकीय प्रिन्ट संस्करण

बौद्धिक चोरीको रोग

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०७७ फाल्गुण २६ बुधबार १०:१६:००

त्रिभुवन विश्वविद्यालयबाट भर्खरै अवकाशप्राप्त भएर बसेका एकजना प्राध्यापकसहित अरू ६ जनाले फ्रेन्च प्राध्यापकको अनुसन्धानपरक रचना चोरी गरेर भारतबाट प्रकाशित हुने जर्नलमा प्रकाशित गरेको खुलेको छ । फ्रेन्च प्राध्यापकले त्रिविविमा उजुरीसहितको जानकारी दिएपछि भएको अनुसन्धानमा यो चोरी प्रमाणित भएको हो । प्रा.डा. परशुराम मिश्रको संलग्नतामा उनीहरूले ११ वटा जर्नलमा चोरीको ज्ञान मिसाएर रचना प्रकाशित गराएका थिए । अनुसन्धानपछि उनीहरूमाथि कारबाही हुने भएको छ । यस्तो काम गरेर उनीहरूले दुईवटा अर्थपूर्ण बेइमानी र ठगी गरेका छन् । पहिलो त उनीहरूले कसैको मिहिनेत र श्रमले सिर्जित सिर्जना चोरी गरेर बदमासी गरेका छन् । दोस्रोचाहिँ अरूको सिर्जनालाई आफ्नो भन्दै छपाएर आफू कुनै विषयको विशिष्ट ज्ञानवाला बौद्धिक भएको भन्दै दुनियाँलाई ढाँटेका छन् । यसरी चोरी गरेको बुद्धि बेचेर उनीहरूले आफ्नो करिअर माथि उठाउने प्रयास पनि गरेका छन् । 

नेपालमा ज्ञान उत्पादनका मुख्य क्षेत्रमध्ये विश्वविद्यालय एउटा महत्वपूर्ण क्षेत्र हो । यहाँ कार्यरत प्राध्यापकहरू आफू मात्र ज्ञान उत्पादनमा संलग्न हुँदैनन् । उनीहरूले नयाँ पुस्ताका अनुसन्धाता उत्पादनको काम पनि गरिरहेका हुन्छन् । तर, उनीहरू नै बौद्धिक चोरीमा संलग्न हुन्छन् भने भावी पुस्तामा कस्तो नैतिकता हस्तान्तरण गरिरहेका छन् त ? 

यस्तो कामले हाम्रो विश्वविद्यालयको छवि बिगार्ने निश्चित छ । चोरी गरेर प्राध्यापक या पिएचडी होल्डर भएकाहरूले अध्ययन, अध्यापन र अनुसन्धान गराएका विद्यार्थीबाट कस्तो गुणस्तरको अपेक्षा गर्ने भन्ने प्रश्न पनि सँगसँगै उठेको छ । यसअघि नेपाल विज्ञान प्रज्ञा प्रतिष्ठान नास्टका एकजना वैज्ञानिकले जापानी प्रोफेसरको अनुसन्धानपरक रचना चोरेर आफ्नो भन्दै अन्तर्राष्ट्रियस्तरको कुनै सेमिनारमा पेस गरेको र प्रकाशन गराएको आरोप लागेको थियो । उनीमाथि जापानको विश्वविद्यालयबाटै उजुरी आएपछि उनी कारबाहीको प्रक्रियामा रहेको जानकारी सार्वजनिक भएको थियो । तर, उनले गल्ती स्वीकार गरेर सच्चिनु र आफ्नो पदबाट राजीनामा दिनुको साटो बचाउ गर्दै हिँडेको पाइएको छ । यसअघिका त्रिविका उपकुलपति तीर्थराज खनियाँमाथि पनि यस्तो बौद्धिक चोरीको बात लागेको थियो । न उनले गल्ती स्वीकार गरे न उनलाई यस्तो आरोपले उपकुलपति हुनबाटै छेक्यो । 

यी केही प्रतिनिधि उदाहरण हुन्, जसले नेपालमा बौद्धिक चोरीको अवस्थाबारे जानकारी दिन्छन् । यसले हाम्रो बौद्धिक विकासका सम्भावनाबारे चिन्ताजनक अवस्था देखाउँछ । बौद्धिक चोरी मूलतः अर्काको रचना या सिर्जनालाई आफ्नो भनेर या आफ्नै सिर्जनाजस्तै गरी आफ्ना रचनामा मिसाएर प्रकाशित गर्नु हो । यस्तो काम अनुसन्धानपरक लेख–रचना, गीत–संगीत, कला–साहित्य, पुस्तक जेबाट पनि नक्कल गरेर गरिन्छ । यसलाई मूलतः अनैतिक कार्य मानिन्छ र सम्बन्धित व्यक्तिलाई क्षपिपूर्ति दिनुपर्ने या कोही कुनै पदबाट बर्खास्त हुनेसम्मको कारबाही व्यहोर्नुपर्ने हुन्छ । नेपालमा गीत–संगीतमा पनि त्यस्तो चोरी हुने गरेको पटक–पटक चर्चा हुने गरेको छ । अहिले यस्तो कार्यले विश्वभरमा नै समस्या बन्दै गएको छ । अहिले औद्योगिक क्षेत्रमा बौद्धिक चोरी अमेरिका–चीनबीच द्वन्द्वको प्रमुख कारण बनेको छ । 

नेपालमा ज्ञान उत्पादनका मुख्य क्षेत्रमध्ये विश्वविद्यालय एउटा महत्वपूर्ण क्षेत्र हो । यहाँ कार्यरत प्राध्यापकहरू आफू मात्र ज्ञान उत्पादनमा संलग्न हुँदैनन् । उनीहरूले नयाँ पुस्ताका अनुसन्धाता उत्पादनको काम पनि गरिरहेका हुन्छन् । तर, उनीहरू नै बौद्धिक चोरीमा संलग्न हुन्छन् भने भावी पुस्तामा कस्तो नैतिकता हस्तान्तरण गरिरहेका छन् त ? मौलिक सिर्जना गर्नेहरू र चोरीमा संलग्नहरू समान ढंगले सम्मानित हुने अवस्था आउनु भनेको मौलिक सिर्जनालाई हतोत्साहित गर्नु हो । प्राज्ञिक क्षेत्रमा गरिने यस्तो खालको चोरीले समग्र मुलुककै छवि धुमिल पार्ने हुँदा बौद्धिक चोरी संक्रामक रोग बन्नुअघि नै नियन्त्रित गरौँ ।