
मध्यपश्चिमाञ्चल विश्वविद्यालयको कानुन संकाय स्कुल अफ ल कार्यक्रमका निर्देशकसहित चार उपप्राध्यापकले संयुक्त राजीनामा दिएका छन् । यही फागुन १७–१९ गतेसम्म स्कुल अफ लअन्तर्गत सञ्चालित स्नातक तहको शैक्षिक सत्र ०७७/७८ को नयाँ भर्नाका लागि लिइएको लिखित तथा मौखिक परीक्षाको नतिजा प्रकाशनका सम्बन्धमा उपकुलपति र रजिष्ट्रारबाट मानमर्दन हुने गरी प्रश्नचिह्न खडा गरिएको भन्दै निर्देशक अर्जुनबहादुर अयडी, उपप्राध्यापकत्रय सुजन पन्त, महेशकुमार शाही र सुजाता मानन्धरले पदबाट आइतबार राजीनामा दिएका हुन् ।
उनीहरूले उपकुलपति र रजिष्ट्रार दुवैले आफ्नो पेसागत मर्यादा, नैतिकता, निष्पक्षता, क्षमता र पदीय आचारणमाथि मानमर्दन मात्र नभई अनावश्यक रूपमा आफूहरूलाई अपहेलित हुने व्यवहार गरेको आरोप लगाएका छन् । तीन दिनसम्म लिइएको बिएलएलबीको लिखित तथा मौखिक परीक्षामा अनियमितता भएको भन्दै विद्यार्थीले रजिष्ट्रार कार्यालयमा निवेदन दिएका थिए ।
विद्यार्थी रश्मी शाहीले प्रवेश परीक्षामा सम्मिलित भएका, तर चिनजान र भनसुनको पहुँच नभई स्वतन्त्र रूपमा परीक्षा दिएका परीक्षार्थीले उक्त परीक्षा रद्द गरी पुनः सम्बन्धित विषय विशेषज्ञको संलग्नतामा परीक्षा गर्नुपर्ने माग गर्दै रजिष्ट्रारको कार्यालयमा निवेदन दर्ता गरिएको बताइन् ।
विश्वविद्यालयका रजिष्ट्रार प्रा.डा. नारायणप्रसाद पौडेलले प्रवेश परीक्षाका विषयमा आएका विद्यार्थीका गुनासासहितको निवेदनमाथि अध्ययन भइरहेको बताए । ‘विद्यार्थीहरूले भनेअनुसार त्यसरी कमजोरी भएको देखिँदैन, यद्यपि एउटा संस्थामाथिको आरोपका विषयमा छानबिन गर्नैपर्छ ।’ स्कुल अफ ल कार्यक्रमका निर्देशकको टोलीले भने आइतबारदेखि तोकिएको जिम्मेवारीमा नरहने गरी नैतिकताका आधारमा संयुक्त राजीनामा दिएपछि उक्त परीक्षाको नतिजा विवादित बनेको छ । रासस