मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
रातको समयमा पनि नाटकघर निर्माण गर्दै कलाकार । तस्बिर : नयाँ पत्रिका
२०७७ फाल्गुण २५ मंगलबार ०७:५४:००
Read Time : > 2 मिनेट
सप्तरंग प्रिन्ट संस्करण

झापाका रंगकर्मी आफ्नै नाटकघर बनाउँदै 

Read Time : > 2 मिनेट
२०७७ फाल्गुण २५ मंगलबार ०७:५४:००

झापाको दमकमा पछिल्लो समय नाटक (रंगमञ्च) हेर्ने दर्शक बढ्न थालेका छन् । कहिलेकाहीँ मात्रै प्रदर्शन हुने नाटकमा लागेको दर्शकको भीडले पनि यो पुष्टि गर्छ । 

दर्शक बढे पनि यहाँ स्थायी नाटकघर भने छैन । दमकको कदम थिएटरले नाट्यकर्मीलाई वेलाबखतमा नाटकमा खेल्ने अवसर जुटाए पनि स्थान अभावले रंगकर्मीहरू सामुदायिक भवन, होटेलका हल खोज्दै हिँड्न बाध्य छन् । यो बाध्यतालाई दीर्घकालीन रूपमा अन्त्य गर्न कदम थिएटरमा आबद्ध झापाका रंगकर्मीहरू आफ्नै नाटकघर बनाउने अभियानमा छन् ।

उनीहरूको अभियानलाई नगरपालिका र प्रदेश सरकारले पनि सहयोग गरेको छ । नाटकघर बनाउन दमक नगरपालिकाले वडा नम्बर ९ मा पाँच कट्ठा जग्गा भोगाधिकार दिएको छ भने प्रदेश सरकारले पनि बजेट विनियोजन गरेको छ । थियटरले नाटकघर निर्माणका लागि सात करोड बराबरको डिपिआर तयार गरेको थियो । जस मध्ये प्रदेश सरकारबाट  ६० लाख रुपैयाँ चालू आर्थिक वर्षमै विनियोजन भएको छ । सो रकमले नाटकघर पूरा नभएपछि यहाँका रंगकर्मी आफैँ गाह्रो लगाउने, सिमेन्ट घोल्नेलगायत काममा जुटेका छन् । बजेट सकिएपछि यो थिएटर तत्काल बन्ने अवस्था भएन । तर, रंगकर्मीमा कला निखार्ने हुटहुटी रोकिने अवस्था नै थिएन । यसकारण कलाकारहरू आफैँ नाटकघर बनाउन जुटेका हुन् ।

यसपछि रातदिन नभनी उनीहरू नाटकघर बनाउन जुटेका छन् । दमक–९ मा रहेको थिएटरको जग्गाको उत्तरपट्टि सुविधासम्पन्न भवन बन्दै छ । भवन निर्माण पूरा भएमा नाटक प्रदर्शन र कार्यशाला गर्न मिल्नेछ । ‘मजदुर लगाउन हामीसँग पैसा छैन । सिमेन्टको ब्लक लगाएर आफैँ नाटकघर बनाइरहेका छौँ । सबै कलाकार यहाँ काम गरिरहेका छन्,’ थिएटरका कला निर्देशक सिजन दाहाल भन्छन्, ‘यसरी काम गर्दा पनि दुई लाख लागिसक्यो । सबै ऋण गरेर सामान ल्याएका छौँ ।’ 

कलाकारका लागि नाटकघर सामान्य घर मात्रै होइन, एउटा सपना साकार पार्ने थलो पनि हो । नाटकघर निर्माण गर्दैगर्दा पनि सपनाको कुरा हुने गरेको रंगकर्मीहरू बताउँछन् ।

कलाकारले ‘साधना’ गर्न नपाएकै कारण आफैँ जुटेर नाटकघर बनाउनु परेको उनी बताउँछन् । यसरी बनाउँदा कलाकारले पनि नाटकघरप्रति अपनत्व लिने उनको भनाइ छ । ‘सहरमा नाटकघर बनिरहेको छ । यसमा हामीले एउटा इँटा थप्न पाएका छौँ । यसरी इँटा थप्न पाउनु हाम्रो लागि अवसर हो,’ उनले भने, ‘मैले काठमाडौंमा पनि नाटक गरेँ । नाटक सुरु हुनुभन्दा अघि यो हाम्रो मन्दिर हो, यहाँ केही नखाइदिनु होला भन्नुको अर्थ दश वर्षपछि बल्ल थाहा पाउँदै छु ।’ 

नाटकघर निर्माणमा संलग्नता : कलाकारका लागि अवसर
रंगकर्मी सागर खाती पनि नाटकघर बनाउन पाउनु कलाकारका लागि अवसर भएको ठान्छन् । ‘म मण्डलाको विद्यार्थी हुँ । त्यहाँ सिक्दा बुद्धि तामाङ, विजय बरालजस्ता कलाकार दाइहरूले बालुवा बोकेर मण्डला बनाएको सुनेका थियौँ । आज आफैँले यो काम गर्ने मौका पाएँ,’ उनी भन्छन्, ‘रंगकर्मी लोभी हुन्छन् । यति गरेपछि यहाँ केही गर्न पाइएला, कला देखाउन र केही सिक्न पाइएला भन्ने आशाले योगदान गर्दै छौँ ।’

नाटकघर कलाकारका लागि सामान्य घर मात्र होइन, एउटा सपना साकार पार्ने थलो पनि हो । नाटकघर निर्माण गर्दैगर्दा पनि सपनाको कुरा हुने गरेको कला निर्देशक दाहाल बताउँछन् । ‘यो हाम्रो घर बनाए जस्तो हैन । यो त हाम्रो सपना हो । हामी यहाँ काम गर्दा सपनाका कुरा गर्दै गर्छौं, जसले काम गर्न थप ऊर्जा मिलेको छ,’ उनी भन्छन् ।

पाँचथरबाट सुनौलो भविष्य खोज्दै सहर (दमक) आएका याङ्साङ मुकारुङ तीन वर्षअघि कदम थिएटरमा जोडिएका थिए । उनी सुरुमा यहाँको कार्यशालामा सहभागी भएका थिए । पछि कलाकारका रूपमा नाटकमा अभिनय गर्न थाले । नाटकघर नहुँदा उनले नियमित रूपमा कला देखाउन नपाएको बताए । जसले उनको सपनामा ‘ब्रेक’लाग्ने देखेर नाटकघर बनाउन जुटेका छन् । एक महिनादेखि उनी लगातार काम गरिरहेका छन् । तर, उनलाई थकान महसुस भएको छैन । ‘म त पहिला सामान्य नाटक मात्र गर्थें । तर, अहिले त रंगमञ्च के हो भन्ने बुझ्ने भएँ । सपना पूरा गर्न पनि आफैँ लागेको छु,’ उनी भन्छन्, ‘उत्साहले थकानलाई सम्झनै दिँदैन ।’ 

रंगकर्मीले नाटकघर बनाउँदै गर्दा अग्रजबाट केही सिक्ने मौका पनि पाएका छन् । काम गर्दा पनि उनीहरू नाटकका विषयमा छलफल गर्ने गर्छन् । ‘दाइहरूले जे काम गर्दा पनि नाटकसँग जोड्नुहुन्छ । यसले हामीलाई सिक्ने मौका दिएको छ,’ कलाकार विकास राई भन्छन्, ‘काम गर्दै सिक्दा काम सकिएको पनि थाहै हुँदैन । काम गर्दा हामीले त्यहाँ सपना नै देखिरहेका छौँ ।’

यो नाटकघर निर्माणपछि नियमित रूपमा नाटक प्रदर्शन, कार्यशाला तथा नयाँ कलाकार उत्पादन थालिने कला निर्देशक दाहाल बताउँछन् । जसले मोफसलका कलाकारलाई जीवन चलाउन सहज हुने उनको भनाइ छ ।