१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ १ मंगलबार
  • Tuesday, 14 May, 2024
२o८१ जेठ १ मंगलबार o७:१९:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार प्रिन्ट संस्करण

अन्तर्राष्ट्रिय नारी दिवस : गाउँपालिकाले गरेको प्रतियोगितामा महिलाले पुरुष बोकेर दौडे

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ जेठ १ मंगलबार o७:१९:oo

तनहुँको देवघाट गाउँपालिकाले १११औँ अन्तर्राष्ट्रिय नारी दिवस भिन्न प्रकृतिको कार्यक्रम गरेर मनाएको छ । महिला पनि पुरुषजत्तिकै सक्षम छन् भन्ने सन्देश दिन महिला जोडी दौड प्रतियोगिता आयोजना गरेको थियो । जहाँ श्रीमतीले श्रीमान्लाई बोकेर एक सय मिटर दौडनुपर्ने थियो ।

प्रतियोगितामा विष्णु अधिकारी र पदम अधिकारीको जोडी प्रथम भएको छ । कालिका माध्यमिक विद्यालयको प्रांगणमा भएको प्रतियोगितामा १४ जोडीलाई पछि पार्दै अधिकारीको जोडी प्रथम भएको हो । प्रतियोगितामा गंगा गुरुङ र नवीन गुरुङको जोडी दोस्रो, सीता लामिछाने क्षेत्री र बमबहादुर क्षेत्रीको जोडी तेस्रो भएको छ । विजेताले ट्रफी, मेडल र प्रमाणपत्र पाए । 

अन्तर्राष्ट्रिय नारी दिवसको अवसर पारी गरिएको प्रतियोगिताले महिला पनि पुरुषसरह हुन सक्छन् भन्ने सन्देश दिन श्रीमतीले श्रीमान् बोकेर दौडने प्रतियोगिता राखिएको गाउँपालिकाका अध्यक्ष दुर्गबहादुर थापाले जानकारी दिए । ‘यस्तो खालको प्रतियोगिता कमै हुने गरेको र महिला पनि पुरुषसरह हुन्छन् भन्ने सन्देश दिन प्रतियोगिता गरिएको हो,’ उनले भने । गाउँपालिकाले यो कार्यक्रमलाई आगामी वर्षदेखि नियमित तालिकामै राखेर थप व्यवस्थित तवरले गर्ने जनाएको छ ।

ad
ad