१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७७ फाल्गुण २० बिहीबार
  • Sunday, 11 May, 2025
नवराज मैनाली काठमाडाैं
२o७७ फाल्गुण २० बिहीबार o६:o२:oo
Read Time : > 2 मिनेट
फ्रन्ट पेज प्रिन्ट संस्करण

नेपाल ट्रस्टसँग एक अर्ब नगद, खर्बौँको अचल सम्पत्ति : मुख्य उद्देश्य रहेको शिक्षा र स्वास्थ्यमा लगानी शून्य

Read Time : > 2 मिनेट
नवराज मैनाली, काठमाडाैं
नयाँ पत्रिका
२o७७ फाल्गुण २० बिहीबार o६:o२:oo

राजा वीरेन्द्र र उनका परिवारका नाममा रहेको सम्पत्ति संरक्षण गरी शिक्षा र स्वास्थ्यमा लगानी गर्ने उद्देश्यले ०६४ मा स्थापना गरिएको नेपाल ट्रस्टमा खर्बौँको चलअचल सम्पत्ति छ । तर, स्थापना भएको १३ वर्ष हुँदा पनि शिक्षा र स्वास्थ्यमा एक रुपैयाँ लगानी गरिएको छैन । 

अहिलेसम्म १२ जिल्लामा रहेको २१ हजार पाँच सय २६ रोपनी जग्गा ट्रस्टको नाममा आइसकेको छ । बैंकमा रहेको नगद मौज्दात एक अर्ब नाघेको छ । नबिल बैंक र होटेल अन्नपूर्णमा पनि ट्रस्टको सेयर छ । 

ट्रस्टको सम्पत्तिमा अहिलेसम्म बिचौलियाकै रजगज छ । काठमाडौंदेखि जिल्लासम्म रहेका बहुमूल्य जग्गा सत्तानिकट व्यापारीले अत्यन्त सस्तो भाडामा प्रयोग गरिरहेका छन् । कतिपय जग्गाको सदुपयोग हुन सकेको छैन ।

ट्रस्टको ऐनमा ‘विद्यालय, महाविद्यालय, विश्वविद्यालयजस्ता शैक्षिक तथा प्राज्ञिक संस्था खडा गरी सञ्चालन गर्न वा त्यस्ता संस्था सञ्चालनका लागि अनुदान प्रदान गर्न’ सकिने उल्लेख छ । त्यस्तै, नियमावलीमा आर्थिक रूपले विपन्न, दुर्गम तथा पिछडिएका क्षेत्रका विद्यार्थीमध्येबाट उच्च अंक प्राप्त गर्नेलाई प्राविधिक शिक्षा पढ्न छात्रवृत्ति दिने, दुर्गम तथा पिछडिएको क्षेत्रमा शिक्षकको तलबका लागि अनुदान दिने, सामुदायिक विद्यालयको शिक्षकलाई तालिमका लागि अनुदान दिने, दुर्गम क्षेत्रमा विद्यालय, विश्वविद्यालय सञ्चालनका लागि अनुदान दिन सकिने प्रावधान छ । 

स्वास्थ्यअन्तर्गत दुर्गम क्षेत्रमा स्वास्थ्य चौकी तथा अस्पताल स्थापना गर्ने, दुर्गम जिल्लाका अस्पतालमा औषधि बैंक स्थापना गर्ने उद्देश्य पनि ट्रस्टको छ । गत वर्ष ऐन संशोधन गरी पर्यटन क्षेत्रमा समेत लगानी गर्न सकिने व्यवस्था गरिएको छ । 

तर, अहिलेसम्म ट्रस्टले यी कुनै पनि काममा लगानी गरेको छैन । त्यसका लागि अहिलेसम्म कार्यविधिसमेत बनाइएको छैन । ट्रस्टका प्रवक्ता डा. भीष्मकुमार भुसालले शिक्षा र स्वास्थ्य क्षेत्रमा लगानीका लागि छलफल भइरहेको बताए । शिक्षा क्षेत्रमा लगानीका लागि कार्यविधिको मस्यौदा बनाइएको उनको भनाइ छ । 

उद्देश्यअनुसार लगानी गर्नका लागि भनेर ट्रस्टको बोर्डमा सहसचिवसरहको सुविधा दिएर स्वतन्त्र सञ्चालकसमेत नियुक्त गरिएको छ । तर, लगानीबारे अनुभव भएकाभन्दा कार्यकर्तालाई नियुक्त गर्दा ट्रस्टले उद्देश्यअनुसार काम गर्न सकेको छैन ।

सदुपयोग हुन सकेन खर्बौँको सम्पत्ति

भक्तपुरको सल्लाघारीमा रहेको ट्रस्टको एक सय आठ रोपनी जग्गा बेवारिसे छ । भक्तपुरकै राधेराधेमा पनि पाँच रोपनी दुई पैसा र कालिमाटीको तीन रोपनी सात आना जग्गाको पनि सदुपयोग हुन सकेको छैन । 

चितवनको नारायणी नदी किनारमा रहेको ऐतिहासिक दियालो बंगलाको पनि संरक्षण हुन सकेको छैन । त्यहाँ सात सय ६७ रोपनी जग्गा पनि छ । अहिले नेपाली सेना बसे पनि त्यो ठाउँलाई पर्यटकीय क्षेत्रका रूपमा विकास गर्न छलफल भइरहेको ट्रस्टको कार्यालयका प्रवक्ता सहसचिव डा. भीष्मकुमार भुसालले बताए । 

काठमाडौं महाराजगन्जको निर्मलनिवासअगाडि रहेको ट्रस्टको एक रोपनी सात आना जग्गा र त्यसमा बनेको घर निर्मलनिवासको सुरक्षामा खटिएका सशस्त्र प्रहरीले प्रयोग गरिरहेको छ । त्यही नजिकैको करिब १७ रोपनी जग्गा पहिला दरबारकै भए पनि हाल कसैले चासो दिएको छैन । त्यहाँ निर्मलनिवासको पेरिमिटरको सुरक्षामा खटिएको सशस्त्र प्रहरी बलको कार्यालय छ । 

ताहाचलको ३८ रोपनी जग्गा सार्वजनिक खरिद अनुगमन कार्यालय, नेपाल रेडक्रस सोसाइटी, श्रम कार्यालय र गरिबी निवारण कोषले भाडामा प्रयोग गर्दै आएका छन् । त्यस्तै, स्वयम्भूमा रहेको दुई रोपनी १३ आना जग्गा पनि उपभोग गरिएको छैन । बालाजुमा त्रिशूली जाने बाटोसँग जोडिएको बहुमूल्य एक सय २२ रोपनी जग्गा पनि अलपत्र छ । 

लाजिम्पाटमा रहेको ट्रस्टको ६ रोपनी १३ आना जग्गा नेपाल स्ट्यान्डर्ड चार्टर्ड बैंकले लिजमा लिएर प्रयोग गर्दै आएकोमा आगामी ३१ मेबाट लिज अवधि सकिँदै छ । नयाँ लिजका लागि ट्रस्टको कार्यालयले सूचना निकालिसकेको छ । कमलादीस्थित काठमाडौं प्लाजाको लिज अवधि असारमै सकिए पनि अझै खाली हुन सकेको छैन ।

यो वर्ष सरकारले ट्रस्टलाई संरक्षण तथा मर्मतसम्भारका लागि बजेट दिएको छैन । नियमावलीमा ट्रस्टको बढेको आम्दानीको १० प्रतिशत रकम खर्च गर्न सकिने व्यवस्था छ । जसअनुसार यस वर्ष करिब ८० लाख बजेट उसले संरक्षणमा खर्च गर्न पाउँछ ।