मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ५ बुधबार
  • Wednesday, 17 April, 2024
२०७७ फाल्गुण १७ सोमबार १८:००:००
Read Time : > 3 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

बेसहारा विद्यार्थीको अभिभावक बन्यो विद्यालय

आमाबाबु नभएका, आर्थिक अवस्था कमजोर भएका २५ बालबालिकालाई आवासीय सुविधा उपलब्ध गराउँदै पाँचथरको जागृति आधारभूत विद्यालय

Read Time : > 3 मिनेट
२०७७ फाल्गुण १७ सोमबार १८:००:००

फिदिम–४ सालघारीमा रहेको जागृति आधारभूत विद्यालयमा कक्षा ३ मा अध्ययनरत शिशिर भुजेल अहिले सात वर्षका भए । उनका अविभावक छैनन् । शिशिरलाई मामाघरमा छाडेर आमाले अर्कै विवाह गरिन् । बाबुले पनि दोस्रो विवाह गरेपछि उनी मावलीमै रहे । मावली घरको पनि आर्थिक अवस्था कमजोर भएपछि उनको अध्ययन, लालनपालनको जिम्मा विद्यालयले नै लिएको छ ।

जागृति आधारभूत विद्यालयमा अध्ययन गरिरहेका आर्यन राई ११ वर्षका भए । फिदिम–९ लुम्बाबुङ घर भएका आर्यनको कथा पनि शिशिरसँग मिल्छ । उनी पनि सोही विद्यालयको जिम्मामा छन् । उनको पनि आमाबाबु दुवैले दोस्रो विवाह गरे । त्यसपछि एक्लो भएका आर्यनलाई विद्यालयले जिम्मा लियो । 

शिशिर र आर्यनकी आमा एकै हुन् । तर बाबु फरक । दोस्रो विवाह गरेकी आमाले दुई सन्तानलाई माइतमै छाडेर हिँडेपछि उनीहरूको रेखदेखको जिम्मा विद्यालयले लिँदै आएको छ ।

कक्षा ४ का मिसन तुम्बापो १२ वर्षका भए । उनका बाबुआमा अहिलेसम्म विद्यालयको सम्पर्कमा छैनन् । आमाबाबु छुट्टाछुट्टै बाटो लागेपछि उनी विद्यालयमा आइपुगे । सिवा दोभान मावली घरमा रहेका उनलाई अहिले विद्यालयले लालनपालन गरिरहेको छ । सोही विद्यालयकी आयुषा राईको कथा पनि उस्तै छ । आमाबाबु दुवैले अर्को विवाह गरेपछि मावली घरमा छोडिएकी उनी पनि अहिले विद्यालयको जिम्मामा छिन् ।

जागृति आधारभूत विद्यालयमा कक्षा २ मा अध्ययन गरिरहेकी निरुता ओली आठ वर्षकी भइन् । उनका पनि आमाबाबु सम्पर्कमा छैनन् । आमा पोखरामा छिन् । बाबुले अर्को विवाह गरे । परिवारमा रेखदेखका लागि कोही पनि नभएपछि उनी पनि विद्यालयको लालनपालनमा हुर्की बढिरहेकी छन् ।

जागृति विद्यालयमा रहेका विद्यार्थीमध्ये यी प्रतिनिधि मात्रै हुन् । यहाँ अहिले रहेका आवासीय विद्यार्थीमध्ये सबैजसोका अविभावक छैनन् । भएका पनि आर्थिक रूपमा विपन्न छन् । उनीहरूलाई विद्यालयले नै आश्रय दिएर अध्ययन गराउँदै आएको छ । विद्यालयमा २५ विद्यार्थी अध्ययन गरिरहेका छन् । उनीहरूका कोही पनि अविभावक आफ्ना बालबालिकाको अध्ययन, रेखदेख र स्याहारका लागि तयार छैनन् । मुख्य जिम्मेवार हुनुपर्ने बाबुआमा नै साथमा नभएपछि विद्यालयले उनीहरूलाई आश्रय दिने गरेको छ । विद्यालय नै बेसहाराको अविभावक बनेको छ ।

कसरी हुन्छ व्यवस्थापन ?
जागृति आधारभूत विद्यालयमा मात्रै बाबुआमा नभएका बेसहारा २५ बालबालिका छन् । २०७२ बाट सुरु भएको विद्यालयको त्यस्तो कार्यक्रम सो क्षेत्रका लागि वरदानजस्तै बनेको छ । सुरुदेखि नै विद्यालयले आर्थिक संकटको सामना गरेर बेसहारा विद्यार्थीको व्यवस्थापन गरिरहेको छ । ‘पहिलो वर्ष हामीसँग नौजना विद्यार्थी आवासीय थिए । उनीहरूका लागि सुरुवातमा तत्कालीन जिल्ला शिक्षा कार्यालय र जिल्ला विकास समितिबाट केही आर्थिक सहयोग भएको थियो । शिक्षा कार्यालयले दिएको खाजाबापतको रकम जोगाएर कार्यक्रम सुरु गरियो,’ विद्यालयका प्रधानाध्यापक डिल्ली लुइँटेल भन्छन्, ‘तत्कालीन जिल्ला विकास समितिले दुई लाख रुपैयाँ दियो । त्यसले कतिन्जेल चल्छ र । व्यक्तिगत रूपमा दान गर्न चाहनेलाई अनुरोध गरियो । व्यवसायी मित्रप्रसाद काफ्लेसहितको योगदान धेरै छ ।’
२०७४ देखि फिदिम नगरपालिकाले सहयोग गर्न थालेपछि केही सहज भएको विद्यालयले जनाएको छ । पहिलो वर्ष नगरपालिकाले तीन लाख रकम दिएको थियो । त्यसयता हरेक वर्ष पाँच÷पाँच लाख रुपैयाँ सहयोग गर्दै आएको छ । तर, विपद्मा परेका विद्यार्थी थपिने क्रम बर्सेनि बढ्दै गएकाले जहिल्यै अभावै अभावको सामना गर्नुपरेको प्रधानाध्यापक लुइँटेलको भनाइ छ । विद्यार्थीलाई एकदिनको खानामा मात्रै १८ सय रुपैयाँभन्दा बढी रकम खर्च हुने गरेको छ ।

साथै, लत्ताकपडा, बिहान दिउँसोको खाजा, बिरामी पर्दा उपचार खर्च जुटाउन समस्या भएको उनले सुनाए । सरकारी निकायबाट भरपर्दो सहयोग नहुने हो भने टिकाउन समस्या हुने विद्यालयको भनाइ छ ।

बिदाको दिनमा समेत पढाइ
जागृति आधारभूत विद्यालयमा अहिले कक्षा ६ सम्म पढाइ हुन्छ । कक्षा ८ सम्म अध्ययन गराउन भनेर यो वर्ष कक्षा ७ को अनुमति लिइएको विद्यालयले जनाएको छ । विद्यालयमा अहिले १०६ जना विद्यार्थी अध्ययनरत छन्, तीमध्ये २५ विद्यार्थी आवासीय छन् । अरू विद्यार्थी पनि नजिक घर भएका छन् । तर, उनीहरू पनि बिहान खाजा समयभन्दा अघि नै विद्यालय आउँछन् । सालघारी क्षेत्रमा रहेका नागरिकको आर्थिक अवस्था कमजोर रहेकै कारण उनीहरू बिहानको खाजा खाने गरी विद्यालय आउँछन् र विद्यालय बिदा भएपछि मात्रै घर जाने गर्छन् । यसरी विद्यालयमा करिब १८ घन्टा पढाइको वातावरण रहेको प्रधानाध्यापक लुइँटेलको भनाइ छ । बिहान ट्युसन, दिउँसो विद्यालयको कक्षा र राति १० बजेसम्म गृहकार्यसहितका गतिविधि दैनिक हुने गरेको छ ।

विद्यालयकी सहायक शिक्षक (वार्डेन) विमला तामाङका अनुसार बिदाको दिनमा समेत पढाइ हुने गरेको छ । बालबालिका बिदामा पनि घर जानभन्दा विद्यालयमै रमाउने गरेको उनको भनाइ छ । ‘विद्यार्थी नै स्कुलमा भएपछि हामी बस्नै प¥यो । लामो बिदा हुने समयमा बाहेक विद्यालय खाली हुँदैन,’ तामाङ भन्छिन् । आवासीय कक्षामा रहेका विद्यार्थी ७ देखि १४ वर्ष उमेरका छन् । उनीहरूको रेखदेख गर्न निकै कठिन हुने तामाङको अनुभव छ । ‘राति जहिल्यै डरैडर हुने गर्छ । सबै एकै खालका हुन्न,’ प्रधानाध्यापक लुइँटेलले भने, ‘कोही राति नै उठेर हिँड्ने समस्या पनि आउने गरेको छ ।’ 

सो विद्यालयमा पढाउने स्थानीयमध्ये अधिकांशको आर्थिक अवस्था कमजोर छ । आफ्ना बालबालिकालाई पैसा तिरेर विद्यालय पठाउन सक्ने सामथ्र्य धेरैको छैन । विद्यालय सेवा क्षेत्रभित्र एक सय ६२ परिवार छन् । हिलिहाङ गाउँपालिकाको माझीटार, सिमखर्क पुछार, तम्फुवा पुछार, फिदिम नगरपालिकाको सालघरी, सरखण्डे, सिवादोभान, कुम्मायक गाउँपालिकाको निवु दोभान क्षेत्रका बालबालिका विद्यालयको सेवा क्षेत्रभित्र पर्छन् । ती क्षेत्रमा अर्को विद्यालय छैन । आफ्ना छोराछोरीलाई स्कुल नै नपठाउने, पठाउनै परे जागृतिमै पठाउनुपर्ने बाध्यतामा स्थानीय छन् । सोही बाध्यताका कारण सेवा क्षेत्रका धेरै बालबालिकाले कक्षा ६ देखि विद्यालय छाड्ने गरेका छन् । अर्को विद्यालय जान–आउन कम्तीमा २० किलोमिटर धाउनु पर्छ ।