मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
२०७७ फाल्गुण १५ शनिबार १८:००:००
Read Time : > 4 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

सामाजिक सञ्जालको लतले जोखिममा बालबालिका

Read Time : > 4 मिनेट
२०७७ फाल्गुण १५ शनिबार १८:००:००

काठमाडौंको चन्द्रागिरी नगरपालिकाकी १६ वर्षीया किशोरीको दुई वर्षअघि टिकटकमार्फत महेश नामको युवकसँग चिनाजानी भयो । उनीहरू टिकटकबाट फेसबुक, मेसेन्जर र ह्वाट्सएपमा पनि जोडिए । उनीहरूको सम्पर्क बाक्लिँदै गयो । सम्बन्ध प्रेममा बद्लियो । विवाह गर्नेसम्मको कुराकानी उनीहरूबीच चल्यो । 

गत ९ मंसिरमा किशोरीले घर छाडिन् । भोलिपल्ट अभिभावकले प्रहरीमा उजुरी दिए । त्यसको चार दिनपछि खोजतलास गर्दै जाँदा उनी भारतको मध्यप्रदेश राज्यको इन्दौरमा फेला परिन् । नेपाल प्रहरी र आफन्त नेपालले उनको फोन ट्र्याकिङ गरेर महेशको नम्बर पत्ता लगाए । दिल्ली प्रहरीको सहयोगमा मध्यप्रदेशको बालकल्याण समितिले महेशसँग सोधपुछ गरेपछि थाहा भयो कि किशोरी एउटी महिलासँग भोपाल पुग्दैछिन् । पछि उनलाई त्यहाँबाट उद्धार गरियो । 

अभिभावकले आफ्नो व्यस्तता देखाएर छोराछोरीलाई समय दिन नसक्ने, तर मोबाइल, ट्याब, ल्यापटपजस्ता विद्युतीय उपकरण सजिलै किनिदिने गरेका छन् । नानीहरूले ती सामग्री कसरी उपयोग गरिरहेका छन् ? भनेर चासो नराख्ने अभिभावकको प्रवृत्तिका कारण पनि बालबालिकाहरू अनलाइनमार्फत हुने यौन दुर्व्यवहारको सिकार बनिरहेका छन् ।


एक वर्षअघि ललितपुर महानगरपालिकाकी १४ वर्षीया किशोरीको फेसबुकमा एक युवकको फ्रेन्ड रिक्वेस्ट आयो । उनले स्विकार्न पनि ढिला गरिनन् । युवक विराटनगरका रहेछन् । बिस्तारै कुराकानी हुन थाल्यो । ‘भर्चुअल’ दुनियाँबाट नजिकिएका उनीहरू दैनिक घन्टौँसम्म सामाजिक सञ्जालमै हराउन थाले । कोरोनाका कारण लकडाउन भएपछि उनीहरूले त्यहाँ धेरै समय बिताए । यतिसम्म कि बिहे गर्नेसम्मका योजना उनीहरूले बनाए । एक दिन अचानक युवकले नग्न तस्बिर पठाए । र, किशोरीलाई पनि त्यस्तै पठाउन भने । सुरुमा ती किशोरीले पठाउन मानिनन् । तर, युवकले दबाब दिए, ‘मायामा विश्वास नगरेको’ भनेर घुर्की देखाए । 

किशोरीले सोचिन् आखिर बिहे नै उसैसँग गर्ने हो भने के फरक पर्छ र ? उनीहरूबीच सामाजिक सञ्जालमा थरीथरीका फोटो भिडियो सेयर हुन थाले । सुरुमा युवकले भनेका सबै कुरा मान्दै गइन् किशोरीले । तर, जब आजित हुन लागिन्, तब उनीहरूको सम्बन्धमा खटपट हुन थाल्यो । त्यसपछि ती युवकको प्रेम अपराधमा बद्लियो । उनले फेरि त्यस्तै भिडियो कल नगरे पहिलेका भिडियो अपलोड गरिदिने धम्की दिए । ती युवकको बारम्बारको धम्की सहन नसकेर अन्ततः ती बालिकाले आत्महत्याको बाटो रोजिन् । घटनापछि पीडितका बाबुआमाले प्रहरीलाई जानकारी दिए, तर पीडकविरुद्ध उजुरी गरेनन् । 

यी त प्रतिनिधि उदाहरण मात्रै हुन्, सामाजिक सञ्जालबाट अपराध भएका घटना दैनिकजसो सार्वजनिक हुन्छन् । यस्ता अपराधमा सिकार हुनेमध्ये बालबालिका धेरै छन् । बालबालिकामाथि सामाजिक सञ्जालबाट यौन दुव्यर्वहार र हिंसाका दर्दनाक घटना घटिरहेका छन् । बालबालिकालाई इन्टरनेटको पहुँच दिए पनि अभिभावकले उनीहरूको निगरानी गर्न नसकेका कारण सामाजिक सञ्जालमा जोडिएका बालबालिका यस्ता हिंसाको सिकार भइरहेका छन् । सामाजिक सञ्जालको जालले घरमा बाबुआमाको संरक्षणमा हुनुपर्ने बालबालिकालाई सजिलै अपराधको दलदलमा फसाइरहेको छ । 

अहिले घर–घरमा, हातहातमा एन्ड्रोइड फोन पुगेका छन् । गाउँ–गाउँमा इन्टरनेट पुगेको छ । फोन र इन्टरनेटको पहुँचले बूढाबूढी मात्रै होइन, बालबालिका पनि सामाजिक सञ्जालमा जोडिएका छन् । सञ्जालमा भाइरल बन्न त्यहाँ जोडिने चलन पनि बढ्दो छ । सामाजिक सञ्जालमा सानो उमेरका बालबालिकाका तस्बिर र भिडियो भाइरल पनि बनिरहेका छन् । तर, भाइरल बन्ने चक्करमा त्यसले बालबालिकालाई कतातिर डो¥याउँछ भन्ने कुरा अभिभावकले बुझ्न जरुरी छ । 

त्यसो त यस्ता घटना पहिले पनि हुन्थे, तर जब कोरोनाका कारण लकडाउन भयो, त्यसयता अनलाइनबाट बालबालिकामाथि यौन दुव्र्यवहारका घटना ह्वात्तै बढेका छन् । लकडाउनकै वेला विद्यालय र अभिभावकले इन्टरनेटबाट राम्रो सिकाइ हुने अपेक्षा गरे । बन्द कोठामा स्वतन्त्र छाडिएका बालबालिकाले अनलाइन कक्षा मात्रै होइन, सामाजिक सञ्जालमा धेरै समय बिताउने मौका पाए । 

अभिभावकले कार्य व्यस्तता देखाएर आफ्ना सन्तानलाई प्रशस्त समय दिन नसक्ने, तर मोबाइल, ट्याब, ल्यापटपजस्ता विद्युतीय उपकरण सजिलै किनिदिने गरेका छन् । ती सामग्रीको प्रयोगबारे चासो नराख्ने अभिभावकको प्रवृत्तिले गर्दा बालबालिका अनलाइनमार्फत हुने यौन दुव्र्यवहारको सिकार बन्ने गरेका छन् । 
पढ्न र सिक्नका लागि अनलाइनमा बसेका नानीहरू अनलाइनमै अपराधको सिकार बनेको अभिभावकले चालै पाउँदैनन् । नेपाल प्रहरीको साइबर ब्युरोका प्रहरी निरीक्षक बुद्धि सुवेदी भन्छन्, ‘कतिपय घटनामा त आफ्ना नानीहरूको अश्लील भिडियो मेसेन्जरमा आएपछि मात्रै अभिभावकले चाल पाएका छन् ।’

चार महिनामा ४८ बाल यौन दुव्र्यवहारका उजुरी
राष्ट्रिय बालअधिकार परिषद्को प्रतिवेदनअनुसार लकडाउन भएको चैतदेखि असारसम्म मात्रै ४८ वटा बाल यौन दुव्र्यवहारका उजुरी नेपाल प्रहरीमा दर्ता भएका छन् । त्यसमध्ये साइबर बुलिङ, बाल अश्लीलता, झुटो आइडी, छलकपटसम्बन्धी धेरै छन् । आर्थिक वर्ष ०७६÷७७ मा बालबालिकामाथि भएका यस्ता बाल यौन दुव्यर्वहार प्रकृतिका उजुरीको संख्या १०४ रहेको थियो । 

‘अनलाइनमा नचिनेका मान्छेसँग जोडिएका बालबालिकालाई पहिले मीठो गफ गरेर फकाउने, तस्बिर र भिडियो साटासाट गर्ने, पछि त्यही फोटो र भिडियो सामाजिक सञ्जालमै राखिदिन्छु भन्दै बालबालिकालाई ब्ल्याकमेलिङ गर्ने प्रकृतिका घटना बढेका छन्,’ सुवेदीले भने, ‘त्यसरी दलालले बालबालिकालाई विदेशमा लगेर बेचबिखन नै गर्नेसम्मका अपराध पनि भइरहेका छन् ।’

बालबालिकाले आफ्नै ठानेर सामाजिक सञ्जालमा आदान–प्रदान गरेका अश्लील फोटो र भिडियो सामग्री अपराधीले पोर्न साइटसम्म पनि पु¥याउने गरेका छन् । कतिपय परिवारले त्यसरी सार्वजनिक भएपछि मात्रै थाहा पाएरसमेत उजुरी गर्ने गरेका छन् । सुवेदीका अनुसार जब विद्यालयहरू बन्द भए, त्यसवेलादेखि बालबालिकाको धेरै समय अनलाइनमा बित्न थाल्यो । 

अभिभावकको निगरानी आवश्यक
बालबालिकाहरू नियमित इन्टरनेटको पहुँचमा रहे । अभिभावकले त्यसबारे वास्ता गरेनन् । बालबालिकालाई पनि अनलाइन कक्षाको बहाना बन्यो । तर, पढ्न भनेर अनलाइन बसेका बालबालिका सामाजिक सञ्जालमा धेरै इन्गेज भए । उनी भन्छन्, ‘बालबालिकालाई फेसबुकमा कसलाई साथी बनाउने ? कसलाई नबनाउने ? कसलाई के कुरा सेयर गर्ने ? भन्ने थाहा हँुदैन । उनीहरू सजिलै मायाप्रेमको कुरामा फस्छन् । र, धेरैजसो अपराधको सिकार बन्छन्, कतिपय अपराधमै संलग्न छन् ।’ बालबालिका इन्टरनेटमा बसेका वेला अपराधीले बालमस्तिष्कको फाइदा उठाएका सुवेदी बताउँछन् । 

बालबालिकाले गृहकार्य गर्न, अनलाइन गेम खेल्न, च्याट गर्न, फेसबुक, भाइबर आदिजस्ता सामाजिक सञ्जाल चलाउन, संगीत सुन्नका लागि इन्टरनेटको प्रयोग गर्ने गरेका छन् । तिनै माध्यमबाट बालबालिकाले अश्लील सामग्री राखिएका साइटहरूसम्मको पहुँच पाउँछन् । र, सामाजिक सञ्जालमा अश्लील तस्बिर, अडियो, भिडियो, सन्देश आदि पठाउन थाल्छन् । र, उनीहरू यौन दुव्र्यवहारमा पर्छन् । 

काठमाडौंको बूढानीलकण्ठ स्कुलका शिक्षक श्याम श्रेष्ठ यस्ता अपराधमा बालिका बढी पीडित भएको, तर पीडित बालकको संख्या पनि धेरै रहेको बताउँछन् । ‘स्वाभाविक रूपमा बालिका धेरै पीडित छन्, तर बालक पनि कम छैनन् । बरु बालकले त्यस्ता कुरा बाबुआमालाई सुनाउने गरेका छैनन्,’ श्रेष्ठ भन्छन्, ‘त्यसैले बाबुआमाले छोराछोरीको ख्याल राख्नु जरुरी हुन्छ । छोराछोरीको पहिलो साथी र विद्यालय आफ्नै बाबुआमा बन्नुपर्छ ।’

अभिभावकले मोबाइल र इन्टरनेटको पहुँचले बालबालिकाको सिकाइ राम्रो हुने विश्वास गर्ने उनी बताउँछन् । ‘इन्टरनेटबाट सिक्लान् भनेर अभिभावकले प्रयोगमा खुला छाडिदिएका हुन्छन् । तर, त्यसले उनीहरूलाई अपराधीको चंगुलमा त पु¥याएको छ नै । स्वाभाविक तवरले विकास हुने उनीहरूको मानसिक, तार्किक र बौद्धिक विकासमा समेत गम्भीर क्षति पुगिरहेको छ,’ शिक्षक श्रेष्ठले भने । 

८५.८५ प्रतिशत नेपाली बालबालिका मोबाइलमा इन्टरनेट प्रयोग गर्छन्
नेपाल दूरसञ्चार प्राधिकरणको एक प्रतिवेदनअनुसार नेपालमा इन्टरनेट प्रयोगकर्ताहरूको प्रतिशत ७४.४३ प्रतिशत रहेको छ । जबकि यो प्रतिशत दश वर्षअघि २.६५ मा सीमित थियो । त्यसमध्ये ५५.३० प्रतिशत मोबाइल इन्टरनेट प्रयोगकर्ता छन् । त्यसैगरी युनिसेफ नेपाल र चाइल्ड सेफ नेटले सन् २०२० मा गरेको सर्वेक्षणअनुसार नेपालमा ८५.८५ प्रतिशत बालबालिकाले मोबाइलमा इन्टरनेट प्रयोग गर्छन् । अध्ययनले प्रत्येक चारजना बालबालिका तथा युवामा एकजनाले प्रत्येक दिन १० घन्टाभन्दा बढी इन्टरनेट प्रयोग गर्ने गरेको देखाएको छ । ४२ प्रतिशत बालबालिका तथा युवाले अश्लील वेबसाइट खोल्ने र हेर्ने गरेकोसमेत अध्ययनले देखाएको छ ।