मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ४ मंगलबार
  • Tuesday, 16 April, 2024
गणेश लम्साल विराटनगर
२०७७ फाल्गुण १४ शुक्रबार १८:००:००
Read Time : > 6 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

प्रवीण बास्तोला हत्या प्रकरण : अपराध अनुसन्धानमा प्रहरीले हचुवा प्रवृत्ति अपनाउने गरेको पुष्टि

अमेरिकाबाट आएकी बहिनी सदीक्षा र सचेत आफन्तले निरन्तर संघर्ष गरेपछि मात्र प्रहरीले भवितव्य भन्न खोजेको मृत्यु कर्तव्य ज्यान कसुरको अभियोगमा फेरियो

Read Time : > 6 मिनेट
गणेश लम्साल, विराटनगर
२०७७ फाल्गुण १४ शुक्रबार १८:००:००

मृत्यु अपराधको घटनालाई गम्भीर नठानी भवितव्य ठानेर हचुवा ढंगले अनुसन्धान गर्दा मोरङ प्रहरी विवादमा परेको छ । छिमेकीको मराउमा जान्छु भनेर हिँडेका उर्लाबारीका प्रवीण बास्तोलाको रहस्यमय मृत्यु भएको घटनामा अनुसन्धान हचुवा तरिकाले गर्दा जिल्ला प्रहरी मोरङमातहत रहेको इलाका प्रहरी कार्यालय उर्लाबारीको अनुसन्धान विवादमा परेको हो । यसले प्रहरीले अपराध अनुसन्धानमा कतिसम्म खेलबाड गर्छ भन्ने पुष्टि पनि भएको छ । प्रहरीले भवितव्य भनेको मृत्यु कर्तव्य ज्यानमा अभियोगमा फेरिएपछि प्रहरीको विश्वसनीयतामा प्रश्न खडा भएको हो ।    

मोरङको उर्लाबारी नगरपालिकामा डेढ महिनाअघि बास्तोलाको रहस्यमय मृत्यु भयो । उनको हत्या अभियोगमा ६ जना आरोपीविरुद्ध कर्तव्य ज्यान कसुर आरोपमा मुद्दा दर्ता भयो । जिल्ला अदालत मोरङले १३ फागुनमा एकजना आरोपीलाई पुर्पक्षका लागि जेल पठाएको छ भने एकजनालाई धरौटीमा छाडेको छ । पहिले अनुसन्धानका लागि पक्राउ गरेर छाडिएका चारजना आरोपी अझै फरार छन् ।

बास्तोला हत्या अनुसन्धान विवादमा परेपछि मोरङ प्रहरीले छानबिन समिति गठन गरेको थियो । १० फागुनमा डिएसपी मानबहादुर राईको संयोजकत्वमा छानबिन समिति गठन गरी गलत अनुसन्धान भएको पाइए विभागीय कारबाही गर्ने प्रतिबद्धता प्रहरीले जनाएको थियो । तर हालसम्म प्रहरीले छानबिन समितिको प्रगति सार्वजनिक गरेको छैन । न त कसैलाई विभागीय कारबाही नै गरेको छ । १२ फागुनमा एसपी सन्तोष खड्काले पत्रकार सम्मेलन गर्दै प्रवीण बास्तोला घटनाको अनुसन्धानमा त्रुटि नभएको बरु सामाजिक सञ्जालमा धेरै होहल्ला हुँदा प्रहरीको बदनाम भएको दाबी गरे । मृतक बास्तोलाका आफन्तले प्रहरीले अनुसन्धान फितलो बनाउन किर्ते काम गरेको आरोप लगाउँदै प्रहरीविरुद्ध संघर्ष थालेका थिए ।

अनुसन्धानको मिसिलमा मृतकको गलत फोटो समावेश गरेको, पक्राउ गरेका आरोपीलाई छाडिदिएको, परिवारलाई गलत सूचना दिँदै धाकधम्की दिएको आरोप लगाउँदै उनीहरूले दुरुस्त अनुसन्धान गर्न प्रहरी र सरकारी वकिललाई दबाब दिँदै आएका थिए । 

यस्तो थियो घटनाको विवरण 
४ पुसमा छिमेकीको मराउमा जान्छु भन्दै हिँडेका मोरङ उर्लाबारी नगरपालिका–५ का ३१ वर्षीय प्रवीण बास्तोला भोलिपल्ट साथीको घरमा मृत अवस्थामा फेला परे । मराउमा गएका प्रवीण साथीहरूमध्ये कसैको फोन आएपछि खानपानको भेटघाटमा गएका थिए । उनले धेरै मिल्ने साथी राजेश रणपहेलीको आग्रहमा उर्लाबारी–६ कै सौरभ होटेलमा बसेर खानपान गरेका थिए । भोलिपल्ट प्रवीण रणपहेलीकै कोठामा मृत फेला परेका थिए । जसको जानकारी उनको परिवारले १२ घन्टापछि पाएको थियो । प्रहरीले परिवारलाई जानकारी नै नदिई शव अस्पताल लगेपछि प्रहरीप्रति परिवार सशंकित बनेका थिए । परिवारले प्रवीणको मृत्यु नभई हत्या भएको दाबी गर्दै चुस्त अनुसन्धान गर्न आग्रह गरेको थियो । सोही दिन राति प्रवीणसँगै सुतेका साथीहरू रतुवामाई नगरपलिका–१० का निकेश शिवा भनिने २९ वर्षे मेहरमान दर्जी, उर्लाबारी–६ का १९ वर्षीय सुदीप परियार, झापा गौरादह–९ का दीपेश पौडेल, पप्पु भनिने ३२ वर्षीय राजेश रणपहेली, उर्लाबारी–६ का घरधनी ६० वर्षीय रमेश गिरी र उर्लाबारी–९ का होटेल सञ्चालक कुमार राईलाई अनुसन्धानका लागि प्रहरीले  पक्राउ ग¥यो । 

प्रवीणका बाबु प्रेमप्रसाद बास्तोलाले छोराको हत्या भएको भन्दै कर्तव्य ज्यान कसुरमा राजेश रणपहेलीसमेत ६ लाई आरोपी बनाएर २२ पुसमा किटानी जाहेरी दर्ता गराए । प्रहरीले पक्राउ परेका प्रतिवादीहरूलाई अभद्र व्यवहारको कसुर लगाएर २५ दिन थुनामा राख्दा पनि शव भिसेरा परीक्षण प्रतिवेदन प्राप्त नभएपछि सरकारी वकिल कार्यालयको निर्देशनमा २ माघमा हाजिर जमानीमा छाडेको थियो । पक्राउ परेका व्यक्तिहरू छाडिएपछि परिवार र आफन्तहरू आक्रोशित बने । उनीहरूले इप्रका उर्लाबारीका इन्स्पेक्टर उद्धव पोखरेलले मिलेमतो गरेर गलत अनुसन्धान गराएको आरोप लगाउँदै प्रहरी कार्यालय घेराउ गरे । प्रवीणका भाइ दीपक बास्तोलाका अनुसार बहिनी सदीक्षा बास्तोलाको अगुवाइमा प्रशासन कार्यालय र सरकारी वकिलको कार्यालयमा पनि डेलिगेसन गएका थिए । तर, प्रहरी अझै गम्भीर भएन ।

इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक उद्धव पोखरेलको अनुसन्धानअनुसार प्रवीणले ४ पुसमा स्थानीय सौरभी होटेलमा साथीहरूसँग बसेर मदिरा सेवन गरेका थिए । राति घर जान निस्किएका प्रवीण साथी राजेश रणपहेलीको कोठामा चार–पाँचजना साथीहरूसँग सुतेका थिए । बिहान अरु सबै साथीहरू उठे पनि प्रवीण भने सुतेको ओछयानमै अचेत अवस्थामा फेला परेका थिए । उनलाई उर्लाबारीकै गोदावरी अस्पतालमा उपचारका लागि लगियो । अनुसन्धानमा संलग्न इन्स्पेक्टर पोखरेलले परिवारलाई भन्दै आएका थिए– ‘अनुसन्धानमा कुनै कमजोरी भएको छैन, मृतको शवमा कुनै निलडाम पनि छैन, फोटो पनि किर्ते टाँसेको होइन, जोकोहीले मिसिल अदालतमा गएर हेर्न सक्नुहुन्छ ।’  

जिल्ला सरकारी वकिलको कार्यालय मोरङका न्यायाधिवक्ता प्रेमप्रसाद आचार्यका अनुसार  पोस्टमार्टम रिपोर्टमा ‘नो अल्कोहल नो ओभर डोज’ भन्ने लेखिएको थिएन । मात्रै ‘कज अफ डेथ नट फाउन्ड नाउ’ भनेर भनिएको थियो । यसैले पक्राउ परेकालाई अभियोग लगाउन पर्याप्त प्रमाण नपुगेपछि कानुनअनुसार हिरासतमा लिएकालाई छाड्न निर्देशन भयो । पक्राउ परेकाहरू सबै २ माघमा हाजिरी जमानीमा छाडिए । पक्राउ गरेकाहरू छाडिएपछि आफन्तहरू आक्रोशित भएर प्रहरीविरुद्ध आन्दोलन थाले । लगत्तै भिसेरा रिपोर्ट पनि प्राप्त भयो । रिपोर्टमा प्रवीणको मृत्यु श्वासप्रश्वास अवरुद्ध भएर भएको भन्ने आयो । ‘पुरानो रिसइबीका कारण प्रवीणसँग झगडा भएको, घाँटीमा भित्री चोट देखिएको र कपडा पनि च्यातिएकाले भवितव्य मृत्यु नभई प्रवीणको कर्तव्य ज्यान अपराध नै भएको निष्कर्षमा पुग्यौँ र सोहीअनुसार अभियोग तयार गराएर अदालतमा दर्ता गराएका हौँ र त्यसबारे अदालतबाट आदेश पनि भइसकेको छ,’ न्यायाधिवक्ता आचार्यले भने । उनका अनुसार प्रहरीलाई पटकपटक मृत्युको कारण प्रस्ट खुलाएर रिपोर्ट ल्याउन र भिसेरा पनि जाँच गराउन निर्देशन नगरेको भए भवितव्य ज्यान भनिएको घटना कर्तव्य ज्यान अभियोगमा परिणत नै हुने थिएन । 

प्रहरीकै अनुसन्धानअनुसार अभियोग दर्ता भएको दाबी 
उर्लाबारी घटनामा अनुसन्धानका संयोजक डिएसपी मानबहादुर राईका अनुसार अझै विस्तृत छानबिन सकिएको छैन । छानबिन सकाएर प्रतिवेदन तयार गरेपछि प्रहरीले सार्वजनिक गर्ने उनले बताए । प्रारम्भिक छानबिनअनुसार अनुसन्धानमा उर्लाबारी इलाकाले त्रुटि नगरेको उनको दाबी छ । प्रहरीले नै किटानी जाहेरी दर्ता गरेको अभियोग अदालतमा दर्ता भएर आदेश पनि भइसकेको उनले बताए । डिएसपी राई भन्छन्, ‘अझै छानबिन बाँकी छ, गलत मनसाय राखेर अनुसन्धान गरेको पाइएको छैन, मात्र केही प्राविधिक त्रुटि र वादी पक्षलाई काउन्सिलिङ गर्नचाहिँ गल्ती भएकै देखिएको छ । अभियोग प्रहरीकै अनुसन्धानका आधारमा भएको हो, तर प्रवीणको मृत्यु अझै बहसमै छ ।’  

रणपहेली रहस्यमय व्यक्ति  
प्रवीणका सबैभन्दा मिल्ने साथी पप्पु भनिने ३२ वर्षीय राजेश रणपहेली हुन् । उनी वैदेशिक रोजगारमा गएर प्रशस्त पैसा कमाइसकेका व्यक्ति हुन् । उनले केही अवैध धन्दा पनि गर्ने गरेको र उनकै कारण एकजना नेपाली खाडी मुलुकमा जेलमा रहेको बताइन्छ । उनीमाथि हत्या आरोप लागेको छ । उनी ब्लडमनी तिर्न नसकेर छुटेका छैनन् । ट्राभल नेपाल नामको कम्पनी खोलेर पर्यटक बस सञ्चालन गर्दै आएका प्रवीणको रणपहेलीसँग धेरै पहिलेदेखि राम्रो सम्बन्ध थियो । हत्या हुनु अघिल्लो दिन पनि उनी रणपहेलीकै कोठामा गएको भनिएकाले आफन्तले घटना ढाकछोप गराउने मुख्य योजनाकार रणपहेली नै भएको शंका गरेका छन् । पहुँच र दबाबका कारण प्रहरी रणपहेलीबाट प्रभावित भएको आशंका परिवारको छ  ।

दाजुको न्यायका लागि बहिनी सदीक्षाको संघर्ष    

प्रवीण बास्तोलाका आफन्तहरू प्रहरीले भनेझैं भवितव्य मृत्यु नै होला त भनेर चुपचाप बसेका थिए । तर, अमेरिकामा पाइलट पढ्दै गरेकी कान्छी बहिनी सदीक्षा (दुर्गा) बास्तोला नेपाल आएर प्रहरीको अनुसन्धानमा शंका गर्दै आवाज उठाउन थालिन । दाजुको रहस्यमय मृत्युको खबर सुनेर पढाइ थाती राखेर नेपाली आएकी सदीक्षाले सुरुमा प्रहरीको कानुनी आधारलाई पर्खिन् । धेरै दिनसम्म शवको परीक्षण रिपोर्ट आएन । आए पनि प्रहरीले झुटो बतायो । भिसेरा रिपोर्ट पनि प्राप्त भएन । तर सदीक्षा चुपचाप बसिनन् । अनुसन्धानका लागि पक्राउ गरिएका व्यक्तिहरू छाडिएपछि भने उनको धैर्य टुट्यो । उनले निरन्तर प्रहरी, सरकारी वकिल, कानुन व्यवसायीलाई थालिन् । तर, प्रहरीको व्यवहार देखेर उनी आक्रोशित बनिन् । 

उनले साथीभाइ, आफन्त र मिडियाकर्मीहरूको सहयोगमा प्रहरीले आफ्ना दाजुको मृत्युबारे प्रहरीले गरेको अनुसन्धान प्रगति सार्वजनिक गराउन माग गर्न थालिन् । हरेक कार्यालयमा जाँदा आफैँले फेसबुकमा मोबाइलबाट लाइभ गर्ने गरेकी थिइन् । जसले गर्दा प्रहरीको अनुसन्धान शंकाको घेरामा परेको थियो । र, मोरङ प्रहरीले बाध्य भएर १० फागुनमा डिएसपी मानबहादुर राईको नेतृत्वमा छानबिन समिति बनाउनुप¥यो । यद्यपि प्रहरीले अनुसन्धानमा त्रुटि नभएको दाबी गरेको छ । तर घटनाक्रमले भने प्रहरीले कुनै पनि घटनालाई गम्भीर र संवेदनशील मानेर अनुसन्धान गर्नुपर्नेमा पर्याप्त शंका कारण हुँदा पनि गम्भीरतापूर्वक नलिई हचुवामा अनुसन्धान गर्ने गरेको पुष्टि भएको छ । 

प्रहरीले पोस्टमार्टम रिपोर्टमा अलि गम्भीरतापूर्वक चासो दिएको भए पनि प्रवीणको मृत्यु भवितव्य नभएर कर्तव्य हो भन्ने प्रमाण सहजै जुटाउन सक्दथ्यो । किनभने पोस्टमार्टम रिपोर्टमा घाँटीको भित्री भागमा दबाएको जस्तो दाग भएको, लुगा च्यातिएकाले कुनै सघर्ष भएको भन्नै आधार खुलेको थियो । तर, प्रहरीले त्यसतर्फ अनुसन्धान गर्न चासै दिएन । पक्राउ गरिएकाको कागजी बयान गराएर सरकारी वलिकमा मुद्दा बुझायो । प्रवीणसँग मेहरमान र उनका साथीहरूको पहिले पनि झगडा भएको र उनीहरू प्रवीणको कुटाइबाट सिकिस्त घाइते भएर अस्पताल भर्ना हुनुपरेको र उपचार खर्च प्रवीणले तिर्नुपरेको, साँझ सौरभी होटलमा बसेर रक्सी खाँदा पुराना कुराको निहुँमा झगडा भएको कुरा पनि प्रहरीले खुलाउन चाहेन । बरु सँगै सुतेका प्रवीणलाई उपचारका लागि अस्पताल लाँदा मृत्यु भएको भनेर भनियो । जब कि गोदावारी अस्पतालले मृत्यु भइसकेको भन्दै उपचारका लागि भर्ना लिनै मानेन । 

प्रहरीले समयमै अनुसन्धानमा चासो दिएको भए र कुनै पनि अपराधलाई समान्य ठान्नु हँुदैन र हरेक आधारलाई सूक्ष्म रूपले अनुसन्धान गर्नुपर्छ भन्नेमा पनि प्रहरी चुक्यो । जसले गर्दा प्रमाण अभाव भएपछि पक्राउ परेका चारजना हिरासतमुक्त भएका थिए । अनुसन्धानमा अनुभवी एक प्रहरी अधिकारी भन्छन्, ‘प्रवीण हत्या घटनाका आरोपीहरू सबै सामान्य परिवारका गाडीमा श्रम गरेर खानेहरू हुन् । उनीहरूले पैसा दिएर प्रहरी प्रभावित बनाउन सक्ने हैसियतका पनि थिएनन् । प्रहरी आफैँले हत्या घटना भवितव्य हो भन्ने पुरानै शैलीले दृष्टिकोण बनाउँदा अनुसन्धानमा गम्भीर त्रुटि हुन पुगेको हो । 

प्रहरी अनुसन्धानमा शंका गरेर प्रवीणकी बहिनी सदीक्षा, उनको परिवार र स्थानीयले संघर्ष थालेपछि सरकारी वकिलको कार्यालयले पटकपटक थप अनुसन्धान गर्न निर्देशन दिँदै गएपछि मात्र बल्ल प्रहरीले अनुसन्धानलाई अगाडि बढाउँदै लग्यो । भिसेरा रिपोर्टबाट प्रवीणको मृत्यु श्वासप्रश्वास अवरुद्ध हुँदा भएको यकिन भयो । भिसेरा रिपोर्टमा, ‘कज अफ डेथ भ्वाइलेसन्स अफ एक्सपिरेन्स’ भन्ने उल्लेख छ ।

भिसेरा रिपोर्ट आएपछि बल्ल सरकारी वकिलको कार्यालयले आरोपीहरूविरुद्ध अभियोग पत्र बनाएर अदालतमा कर्तव्य ज्यानमा मुद्दा दर्ता गरायो । अदालतका न्यायाधीश सुदर्शन लामिछानेको इजलासले रतुवामाईका मेहरमान दर्जीलाई पुर्पक्षका लागि थुनामा राख्न र उर्लाबारीका कुमार राईलाई अपराध ढाकछोप गर्न सघाएको आरोपमा तीन लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दियो । उर्लाबारीका सुदीप परियार, झापा गौरादहका दीपेश पौडेल, राजेश रणपहेली र उर्लाबारीका रमेश गिरी फरार छन् ।   

कतिसम्म भने प्रहरीले हत्या गरिएका प्रवीणको फोटोसमेत फोटोसप प्रयोग गरेर हल्का ढंगले मिसिलमा राख्यो । जसले सबै अपराधका घटनालाई संवेदनशील मानेर घटनास्थलमा वस्तुस्थिति मुचुल्का पनि अझै गर्ने नगरेको शंकालाई बल मिलेको छ । यदि सदीक्षा अमेरिकाबाट आएर अनुसन्धान प्रगतिबारे चासो नदिएको भए प्रवीणको मृत्यु कर्तव्य ज्यान नभएर भवितव्यमै सीमित हुने थियो ।