१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७७ फाल्गुण १४ शुक्रबार
  • Monday, 30 June, 2025
२o७७ फाल्गुण १४ शुक्रबार o९:३६:oo
Read Time : > 1 मिनेट
समाचार प्रिन्ट संस्करण

मुहान जोगाउन  रिचार्ज पोखरी निर्माण 

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o७७ फाल्गुण १४ शुक्रबार o९:३६:oo

पानीको मुहान सुक्न थालेपछि जिल्लामा मुहान संरक्षण गर्न रिचार्ज पोखरी निर्माण गर्न थालिएको छ । पर्यावरण तथा पोखरीको स्रोत संरक्षणका लागि रिचार्ज पोखरी निर्माण कार्य सुरु भएको हो । विशेष गरेर वन्यजन्तुलाई पानीको आपूर्ति गर्ने उद्देश्यले वनभित्र विभिन्न स्थानमा रिचार्ज पोखरी निर्माण भइरहेको डिभिजन वन कार्यालय सल्यानका प्रमुख रमेशकुमार गिरीले जानकारी दिए ।

डढेलोको उच्च जोखिममा रहेको यस जिल्लामा रिचार्ज पोखरीको अत्यन्तै महत्व रहेको उनले बताए । ‘ठाउँ–ठाउँमा रिचार्ज पोखरी भए एकातिर पर्यावरण संरक्षणमा मद्दत पुग्छ भने अर्कोतिर डढेलोको उच्च जोखिम रहेको जिल्लामा डढेलो नियन्त्रणमा पनि उत्तिकै भूमिका खेल्छ,’ गिरीले नयाँ पत्रिकासँग भने । 

बागचौर नगरपालिकामा २० रिचार्ज पोखरी
जिल्लाको बागचौर नगरपालिकामा मात्रै विभिन्न स्थानमा २० वटा रिचार्ज पोखरी निर्माण गरिएको बागचौर नगरपालिका–३ का वडाध्यक्ष टीकाराम केसीले बताए । गत आर्थिक वर्षमा २० वटा र यो वर्ष प्रधानमन्त्री रोजगार कार्यक्रमबाट थप २० वटा पोखरी खन्ने कार्यक्रम रहेको उनले बताए । पानीका मुहान र पर्यावरण संरक्षणमा रिचार्ज पोखरी निकै प्रभावकारी देखिएको केसीको भनाइ छ । उनले भने, ‘विगतमा भएका पानीका मुहान र पोखरी सुक्दै गएकाले वनजंगलमा रिचार्ज पोखरी निर्माण गरिएको हो ।’ 

मुहान संरक्षणमा सहयोग पुग्ने
पोखरी निर्माणबाट तल्लो भागमा रहेका पानीको मुहानको संरक्षणमा मद्दत पुग्नुका साथै जंगली जनावरलाई पिउने पानीको आपूर्तिसमेत भइरहेको स्थानीय चन्द्रप्रकाश शर्माले बताए । पोखरी निर्माणले पोखरीआसपासमा चिस्यान कायम भई बोटबिरुवा हुर्कन मद्दत पुगी पर्यावरण संरक्षणमा सकारात्मक प्रभाव परेको उनको भनाइ छ । उनले भने, ‘पोखरीमा जम्मा भएको पानीबाट सुक्खायाममा पोखरीआसपासमा वनजन्य खेती गरी सिँचाइ गर्न र जंगलमा आगलागी भइहाले आगो नियन्त्रण गर्न पनि यसले सहयोग पुग्ने आशा लिएका छौँ ।’ 

रिचार्ज पोखरी प्रभावकारी बन्दै गएपछि जिल्लाका अन्य स्थानबाट पनि माग आउन थालेपछि आशा परियोजनाले पनि बनगाड नगरपालिका र बागचौर नगरपालिकामा रिचार्ज पोखरी निर्माण गरिदिने भएको छ । ‘हामीले कतिपय स्थानमा काम सुरु पनि गरिसकेका छौँ,’ आशा परियोजनाका जिल्ला कार्यक्रम संयोजक चूडामणि खतिवडाले भने, ‘अहिले १० वटा रिचार्ज पोखरी निर्माण गर्ने तयारीमा छौँ ।’