१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७७ फाल्गुण १२ बुधबार १८:३५:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

प्रधानमन्त्री ओलीको व्यंग्य- केही भाइले लड्डु खाएछन्, मुख मिठ्याएछन् (भिडियोसहित)

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७७ फाल्गुण १२ बुधबार १८:३५:००

प्रतिनिधिसभा पुनर्स्थापना गर्ने सर्वोच्चको निर्णयपछि नेकपा अध्यक्ष प्रचण्ड र माधवकुमार नेपालले मिठाई खाएर खुसी साटासाट गरेको विषयलाई प्रधानमन्त्री केपी ओलीले व्यंग्य गरेका छन् । बुधबार दिउँसो कृषि तथा पशुपक्षी विकास मन्त्रालयले याक एन्ड यती होटेलमा आयोजना गरेको ‘डिजिटल सोयल म्यापिङ’ उदघाटन कार्यक्रममा उनले भने, ‘केही मेरा भाइहरूले लड्डु खाएछन्, मुख मिठ्याएछन् । के पाउँछन् त्यसो गरेर ? ’

उनले अबको केही दिनपछि नै आफ्नो राजीनामा माग्नसमेत सुरु हुने बताए । ‘अब राजीनामाको कुरा हुन्छ । राजीनामा देऊ, राजीनामा देऊ भन्छन्,’ उनले भने । उनले तत्काल सरकार नछाड्ने संकेत पनि दिएका छन् । विकास निर्माणका क्षेत्रमा सरकारले गरेका कामको फेहरिस्त प्रस्तुत गर्दै प्रधानमन्त्री ओलीले भने, ‘यो देश समृद्ध बनाइछाड्छौँ भन्ने संकल्प छ । यो संकल्प निरन्तर अगाडि बढ्छ । विकासको क्रम अगाडि बढिरहन्छ । विकासको मार्गमा तपाईंहरू (कर्मचारी) निश्चिन्त भएर लाग्नुस् ।’

कार्यक्रममा कृषि मन्त्रालयले प्रत्येक किसानको माटोको उर्वराशक्ति नाप्न मिल्ने डिजिटल सोयर म्यापिङ सार्वजनिक गरेको थियो । किसानले घर बसेरै आफ्नो खेतको उर्वराशक्ति, मल राख्नुपर्ने मात्रा, कुन माटोमा कस्ता बाली लगाउन उपयुक्त हुन्छ भन्नेलगायतका विषयमा जानकारी लिन सक्ने प्रविधि विकास गरेको कृषिमन्त्री पद्मा अर्यालले जानकारी दिइन् ।

कृषि अनुसन्धान परिषद् (नार्क)को वेबसाइटमा यससम्बन्धी जानकारी राखिएको छ । किसानले नार्कको वेबसाइट खोलेर दिइएको निर्देशन पछ्याउने हो भने आफ्नो माटोको उर्वराशक्तिबारे जानकारी लिन सक्ने मन्त्रालयका सचिव योगेन्द्रकुमार कार्कीले बताए ।