मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o७७ फाल्गुण १२ बुधबार
  • Saturday, 12 July, 2025
नयाँ पत्रिका काठमाडौं
२o७७ फाल्गुण १२ बुधबार १३:४२:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

अमेरिकी राष्ट्रपतिको सन्देश : नेपालसँग सम्बन्ध थप सुदृढ गर्न चाहन्छौँ 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७७ फाल्गुण १२ बुधबार १३:४२:oo

अमेरिकी राष्ट्रपति जोसेफ आर बाइडेनले नेपालसँग सम्बन्ध थप सुदृढ गर्न चाहेको बताएका छन् । अमेरिकाका लागि नेपाली राजदूत डा. युवराज खतिवडाको ओहोदाको पत्र बुझेपछि पठाएको प्रतिक्रियामा राष्ट्रपति बाइडेनले साझा मुद्दामा नेपाल र अमेरिकाले सहकार्य गर्नेसमेत उल्लेख गरेका छन् ।

कोभिड– १९ का कारण भौतिक भेटमार्फत नभएर अमेरिकी राष्ट्रपतिले विदेशी राजदूतहरूको ओहोदाको प्रमाणपत्र विदेश मन्त्रालयमार्फत बुझ्दै आएका छन् । ओहोदाको प्रमाणपत्र बुझेर राष्ट्रपतिले सम्बन्धित राजदूतलाई पनि कूटनीतिक च्यानलमार्फत जवाफ पठाउने गरेका छन् ।

‘राजदूतको ओहोदाको प्रमाणपत्र बुझेपछि राष्ट्रपति बाइडेनले राजदूत खतिवडालाई वासिङ्टन डिसीको कूटनीतिक समुदायमा स्वागत गर्दै साझा एजेन्डामा नेपालसँगको सम्बन्ध थप सुदृढ गर्ने इच्छा व्यक्त गरेको जवाफ पठाएका छन्,’ अमेरिकास्थित नेपाली दूतावासद्वारा मंगलबार जारी विज्ञप्तिमा भनिएको छ । 

राष्ट्रपति बाइडेनले एक साताअघि नेपाली राजदूत खतिवडाको ओहोदाको प्रमाणपत्रसँगै राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीले पठाएका सन्देश प्राप्त गरेका थिए ।

राष्ट्रपति भण्डारी र प्रधानमन्त्री ओलीले पठाएको सन्देशमा राष्ट्रपति बाइडेनको सफल कार्यकाल, सुस्वास्थ्यका लागि कामना गरिएको छ । सन्देशमा अमेरिका र जनताको निरन्तर प्रगति थप प्रवर्द्धन हुने विश्वास व्यक्त गरिएको छ । नेपालको समग्र विकासमा अमेरिकाले पुर्‍याउँदै आएको सहयोगप्रति पनि नेपाल सरकारले अमेरिकालाई आभार व्यक्त गरेको दूतावासद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।