मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
कृष्ण रिजाल काठमाडौं
२०७७ फाल्गुण १२ बुधबार ११:५०:००
Read Time : > 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

सार्वजनिक ऋण १५ खर्ब ६ अर्ब पुग्यो

६ महिनामा सरकारले ७८ अर्ब ४ करोड ऋण थप्यो, ३० अर्ब ७० करोड ऋण तिर्‍यो

Read Time : > 1 मिनेट
कृष्ण रिजाल, काठमाडौं
२०७७ फाल्गुण १२ बुधबार ११:५०:००

नेपालको सार्वजनिक ऋणको आकार १५ खर्ब रुपैयाँ नाघेको छ । पुस मसान्तसम्ममा सरकारले भुक्तानी गर्न बाँकी ऋण १५ खर्ब ६ अर्ब ८१ करोड रुपैयाँ पुगेको हो । यो नेपालको कुल गार्हस्थ्य उत्पादन (जिडिपी)को ४० प्रतिशतबराबर हुन आउँछ । नेपालको जिडिपीको आकार ३७ खर्ब ६७ अर्बबराबर रहेको केन्द्रीय तथ्यांक विभागको अनुमान छ । 

अर्थ मन्त्रालयका अनुसार संघीय सरकारको कुल तिर्न बाँकी आन्तरिक ऋण ६ खर्ब ६४ अर्ब २१ करोड र वैदेशिक ऋण ८ खर्ब ४२ अर्ब ५९ करोड रहेको छ । यस अवधिमा कुल तिर्न बाँकी वैदेशिक ऋणको दायित्वमध्ये बहुपक्षीय ऋणको अंश ८८.१ प्रतिशत र द्विपक्षीय ऋणको अंश ११.९ प्रतिशत रहेको छ । त्यस्तै, तिर्न बाँकी आन्तरिक ऋणको दायित्वमध्ये विकास ऋणपत्रको अंश ६५.३ प्रतिशत, ट्रेजरी  बिलको ३३.५ प्रतिशत, नागरिक बचतपत्रको १.२ प्रतिशत र वैदेशिक रोजगार बचतपत्रको अंश ०.१ प्रतिशत रहेको छ । 

 ६ महिनामा ७८ अर्ब ऋण थपियो
सरकारले चालू आर्थिक वर्षको ६ महिनामा ७८ अर्ब ४ करोड रुपैयाँ ऋण लिएको छ । यसध्ये ३० अर्ब ४ करोड वैदेशिक ऋण र ५७ अर्ब आन्तरिक ऋण हो । चालू आवमा सरकारले कुल २ खर्ब ९९ अर्ब ५० करोड वैदेशिक ऋण र २ खर्ब २५ करोड रुपैयाँ आन्तरिक ऋण परिचालन गर्ने लक्ष्य लिएको छ ।

पुस मसान्तसम्ममा सरकारले कुल ३७ अर्ब ५० करोडबराबरको वैदेशिक सहायता परिचालन गरेको छ । जसमध्ये ७ अर्ब ४६ करोडबराबरको वैदेशिक अनुदान र ३० अर्ब ४ करोडबराबरको वैदेशिक ऋण रहेको छ । गत आर्थिक वर्षको पहिलो ६ महिनामा अनुदान १३ अर्ब ७३ करोड र ऋण ३२ अर्ब ४४ करोड गरी जम्मा ४६ अर्ब १७ करोडको वैदेशिक सहायता प्राप्त भएको थियो । 

वैदेशिक ऋणको १० खर्ब ७४ करोड साँवा भुक्तानी भएको छ

 ३० अर्ब ७० करोड भुक्तानी 
सरकारले पुस मसान्तसम्ममा ऋणको साँवा र ब्याजसमेत गरी कुल ३० अर्ब ७० करोड रुपैयाँ भुक्तानी गरेको छ । अर्थ मन्त्रालयका अनुसार आन्तरिकतर्फ ६ अर्ब साँवा भुक्तानी र १३ अर्ब ९६ करोड ब्याज भुक्तानी भएको छ । त्यसैगरी, यस अवधिमा वैदेशिक ऋणको १० खर्ब ७४ करोड साँवा भुक्तानी भएको छ । गत आर्थिक वर्षको सोही अवधिमा आन्तरिक ऋणको साँवातर्फ २ अर्ब ४० करोड र ब्याजतर्फ १० अर्ब ३१ करोड भुक्तानी गरिएको थियो । 

वैदेशिक सहायता प्रतिबद्धता पौने २ खर्ब पुग्यो
पुस मसान्तसम्ममा वैदेशिक सहायता प्रतिबद्धता १ खर्ब ८७ अर्ब ४४ करोड रुपैयाँ पुगेको छ । यो गत आवको सोही अवधिको तुलनामा १५६.९ प्रतिशतले बढी हो । गत आवको ६ महिनामा ७२ अर्ब ९५ करोडको वैदेशिक सहायता प्रतिबद्धता प्राप्त भएको अर्थ मन्त्रालयको तथ्यांक छ ।

चालू आवको ६ महिनामा सरकारले प्राप्त गरेको वैदेशिक सहायताको प्रतिबद्धतामध्ये अनुदान सहायता १८ अर्ब १३ करोड र ऋण सहायता १ खर्ब ६९ अर्ब ३१ करोड रुपैयाँ रहेको छ । कुल वैदेशिक सहायता प्रतिबद्धतामध्ये सडक तथा सुशासन क्षेत्रमा ५७ प्रतिशत, ऊर्जा क्षेत्रमा २९ प्रतिशत, शिक्षामा ५ प्रतिशत, स्वास्थ्य तथा कोभिड क्षेत्रमा ५ प्रतिशत, वातावरण क्षेत्रमा ३ प्रतिशत र पुनर्निर्माण क्षेत्रमा १ प्रतिशत रहेको अर्थ मन्त्रालयले जनाएको छ ।