१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख ३० आइतबार
  • Sunday, 12 May, 2024
२o८१ बैशाख ३० आइतबार १o:१२:oo
Read Time : > 1 मिनेट
ad
ad
खेलकुद प्रिन्ट संस्करण

जोकोभिकले जिते नवौँपटक अस्ट्रेलियन ओपन

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख ३० आइतबार १o:१२:oo

नोभाक जोकोभिकले कीर्तिमानी रूपमा अस्ट्रेलियन ओपन नवौैँपटक जितेका छन् । यससँगै जोकोभिकले ग्रान्डस्लाम उपाधि संख्या १८ पुर्‍याएका छन् । स्विट्जरल्यान्डका रोजर फेडेरर र स्पेनिस खेलाडी राफेल नाडालले संयुक्त रूपमा २० ग्रान्डस्लामको रेकर्ड राखेका छन् । यी दुई खेलाडीभन्दा जोकोभिक दुई ग्रान्डस्लामले पछि छन् । मेलबर्न पार्कमा आइतबार सम्पन्न पुरुषतर्फको फाइनलमा जोकोभिकले रसियन खेलाडी डानिल मेदभेदलाई ७–५, ६–२ र ६–२ को सीधा सेटमा हराएका हुन् । 

मेलबर्न पार्कमा जोकोभिकले उपाधि उचाल्न एक घन्टा ५३ मिनेट समय खर्चिएका थिए । उत्कृष्ट फर्ममा रहेका जोकोभिकले ६ फिट ६ इन्च अग्ला मेदभेदलाई यसअघि पनि अस्ट्रेलियन ओपनको फाइनलमा हराएका थिए । मेदभेदले पहिलो सेटमा जोकोभिकलाई चुनौती दिएका थिए । त्यसपछिका सेटमा रसियन खेलाडी खेलमा फर्कन सकेनन् ।

सुरुदेखि नै आक्रामक रूपमा देखिएका जोकोभिकले पहिलो सेटमा ३–० को अग्रता लिएका थिए । मेदभेदले पहिलो सेट सहजै विपक्षीलाई जित्न दिएनन् । पहिलो सेटमा ५–५ को अवस्थामा जोकोभिकले ब्रेक प्वाइन्ट हात पारे । मेदभेदले प्रहार गरेको बल नेटमा लागेपछि जोकोभिकले पहिलो सेट ७–५ ले जिते । 

१४ दिनको क्वारेन्टिन बसाइपछि पेट दुखाइको समस्या व्यहोरिरहेका जोकोभिकले फाइनलसम्म उत्कृष्ट प्रदर्शन गर्न सफल भए । अस्ट्रेलियन ओपनमा जोकोभिकको यो लगातार २०औँ जित हो । सर्वियन खेलाडी जोकोभिकले मेलबर्न पार्कमा प्रत्येक वर्ष उपाधि जित्दा फरक किसिमको अनुभव हुने बताएका छन् । भन्छन्, ‘यहाँ प्रत्येक वर्ष खेल र उपाधि जित्दा फरक किसिमको महसुस गरेको छु ।’

मेदभेद दोस्रोपटक पनि उपविजेता
दोस्रोपटक पनि उपविजेतामा सीमित रहेका मेदभेदले आगामी दिनमा उपाधि जित्न थप मिहिनेत गर्ने बताएका छन् । ‘ग्रान्डस्लाम उपाधि ट्रफी चुम्न थप मिहिनेत गर्नुपर्ने महसुस गरेको छु,’ मेदभेदले भने, ‘म यहाँ कुनै दिन उपाधि जित्नेछु ।’ तेस्रो सेटमा निकै खराब प्रदर्शन गरेका मेदभेदले र्‍याकेट भुइँमा बजारेका थिए । 

जोकोभिकले सन् २००८ मा पहिलोपटक उपाधि जितेका थिए । सन् २०११ देखि ०१३ र ०१९ देखि ०२१ सम्म उनले लगातार तीनपटक उपाधि हात पारे । उनी सन् २०१५ मा पनि विजेता बने । उनले विम्बल्डन पाँच, युएस ओपन तीन तथा फ्रेन्च ओपन एकपटक हात पारेका छन् ।

ad
ad