१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७७ फाल्गुण १० सोमबार
  • Friday, 06 June, 2025
राजकुमार दिक्पाल
२o७७ फाल्गुण १० सोमबार o८:३१:oo
Read Time : > 4 मिनेट
दृष्टिकोण प्रिन्ट संस्करण

इमानसिंह चेम्जोङले लेखेको इतिहास

उनले किरातीहरूको इतिहासमा जोड दिएका छन् । किरातीहरू नेपाली होइनन् ? उनले लेखेको इतिहास नेपाली इतिहास होइन ?

Read Time : > 4 मिनेट
राजकुमार दिक्पाल
नयाँ पत्रिका
२o७७ फाल्गुण १० सोमबार o८:३१:oo

घटनालाई इमानदारितापूर्वक जस्ताको तस्तै लेख्नु इतिहासकारको धर्म हो । इति–ह–आस शब्दको संश्लेषणबाट इतिहास शब्द बनेको छ । इति भनेको ‘यस्तो’, हा भनेको ‘पक्का’ र आस भनेको ‘थियो’ भन्ने अर्थ लाग्छ । यस अर्थमा जो जस्तो पक्का छ, त्यसैलाई लेख्नु इतिहास हो भन्ने बुझ्नुपर्छ । इतिहास लेखनमा भूलवश कतिपय सत्य कुरा छुट्न सक्छन् । तर, छुट्नै नहुने कुरा छुट्यो भने त्यो अपूरो हुन जान्छ । यतिखेर यो लेखकको हातमा एउटा पुस्तक छ, ४१८ पृष्ठको मोटो, डा. राजेश गौतमले लेखेको ‘इतिहास लेखनको इतिहास’ (२०५१) ।

यस पुस्तकभित्र एउटा खण्ड छ, ‘२०औँ शताब्दीमा नेपालमा इतिहास लेखन’ (पृ. ३४९–३७७) । चीन–नेपाल युद्धताका बहादुर शाहले सन् १७९२ मार्च १ मा इस्ट इन्डिया कम्पनीसँग सन्धि गरेका थिए । कम्पनी सरकारका तर्फबाट प्रतिनिधिमण्डलको नेतृत्व गर्दै चीन र नेपालबीच मध्यस्थता गर्न सन् १७९३ को मार्च ३ मा आएका मेजर कर्कप्याट्रिकले नेपाल बस्दा पाएको विभिन्न सूचनाका आधारमा लेखेको ‘एन एकाउन्ट अफ किङ्डम अफ नेपउल’ (सन् १८११) लाई नेपालसम्बन्धी लेखिएको पहिलो इतिहास मानिएको छ, यो पुस्तकमा । डा. स्वामी प्रपन्नाचार्यको ‘प्राचीन किरात इतिहास (२०५१)’ लाई नेपालको इतिहाससम्बन्धी अन्तिम पुस्तकका रूपमा प्रस्तुत गरिएको छ, यसमा । पुस्तकको प्रकाशन वर्ष २०५१ साल भएकाले सोही साल प्रकाशित पुस्तकलाई सबैभन्दा पछिल्लो पुस्तक मान्नु स्वाभाविकै हो ।

नेपाली भाषामा लेखिएका इतिहाससम्बन्धी पुस्तकको इतिहास उतार्ने क्रममा वनारसबाट अम्बिकाप्रसाद उपाध्यायले वि.सं. १९७९ मा छापेको ‘नेपालको इतिहास’ नेपालको इतिहास लेख्ने विदेशी इतिहासकारहरू राइट र ओल्डफिल्डहरूमा आधारित भएको डा. गौतमको धारणा छ । अम्बिकाप्रसाद उपाध्यायको ‘नेपालको इतिहास’ र डा. स्वामी प्रपन्नाचार्यको ‘प्राचीन किरात इतिहास’ लेखनको कालखण्डको गणना गर्दा ७४ वर्षमा नेपालसम्बन्धी लेखिएका इतिहासका पुस्तकहरूको फेहरिस्त पस्कने कोसिस लेखकले गरेको देखिन्छ ।

दार्जिलिङबाट सूर्यविक्रम ज्ञवालीले लेखेको ‘भानुभक्तको जीवनी’ (सन् १९२७), ‘द्रव्य शाह’ (सन् १९३३), ‘वीर बलभद्र’ (सन् १९४०), ‘अमरसिंह थापा’ (सन् १९४३), ‘नेपाली वीरहरू’ (सन् १९४९) हुँदै लेखक सन् १९५०–५१ तिर इतिहासका पुस्तक लेख्ने डिल्लीरमण रेग्मी, रामजीप्रसाद उपाध्याय, बालचन्द्र शर्मा आदिको योगदानको चर्चा गर्न पुग्छन् । बीचमा काशी हिन्दू विश्वविद्यालयबाट प्रा. तोत्रराज पाण्डे र पं. नयराज पन्तले लेखेको ‘नेपालको संक्षिप्त इतिहास’ (२००४) को चर्चा गर्न पनि भुल्दैनन् । त्यसपछि उनी २००९ सालमा स्थापित ‘संशोधन मण्डल’को चर्चा गर्न पुगेका छन् । सन् १९४९ भन्दा अगाडि नेपालभित्र कुनै पनि नेपालीले नेपालको इतिहास लेखी राणाहरूको विरोध गर्ने हिम्मत गर्न सकेनन् (पृ. ३५४) भन्ने डा. गौतमले नेपालबाहिर सिक्किमको गान्तोकमा रहेर इमानसिंह चेम्जोङ (सन् १९०४–१९७६) ले प्रकाशित गरेको ‘किरात इतिहास’ (सन् १९४८) मा किन आँखा नपारेका होलान् ?

त्यो समयको सीमित स्रोत र साधनका भरमा नेपाल र सिक्किममा उपलब्ध मौलिक ऐतिहासिक सामग्री भेला गरेर, यसअघि नै नेपालसम्बन्धी इतिहास लेख्ने कर्कप्याट्रिक तथा ह्यामिल्टनहरूको पुस्तकलाई सन्दर्भ सामग्री बनाई त्यसलाई निफनेर लेखिएको यो पुस्तक न नेपालका इतिहासकारको नजरमा परेको देखियो, न चेम्जोङलाई उनीहरूबाट इतिहासकारको दर्जा मिलेको देखियो ।

राणाकालीन त्यो कठिन समयमा नेपाली इतिहास लेख्नु चुनौतीपूर्ण त छँदै थियो, तर किरात जाति वा समुदाय भनेर नेपालको जातीय विविधताको समेत झल्को आउने इतिहाससम्बन्धी छुट्टै अवधारणाको पुस्तक निकाल्ने काम झन् कष्टसाध्य थियो । यसैगरी, यो लेखकको आँखा अर्को पुस्तकमा पनि पर्‍यो । नेपाल प्रज्ञा प्रतिष्ठानले ‘इतिहास शिरोमणि बाबुराम आचार्य’ (२०७३) प्रकाशित गरेको छ ।

प्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेती स्वयं सम्पादक रहेको पुस्तकमा बाबुराम आचार्यको चर्चा गर्दा नेपालको इतिहास लेखनको क्रम र परम्पराबारे पनि केही चर्चा गरिएको छ । त्यहाँ सूर्यविक्रम ज्ञवालीहरूको चर्चा छ, तर इमानसिंह चेम्जोङको कहीँ कतै नाम उल्लेख छैन । यो पुस्तकमा इतिहास अन्वेषणमा नेपालका नाम कमाएका सातजना विद्वान्सहित अरू दुईजनाको लेख प्रकाशित गरी इतिहास शिरोमणि बाबुराम आचार्यको सम्झना र सम्मान गरिएको छ ।

चेम्जोङले मुन्धुम, दर्शन, लोकवार्ता, व्याकरण, शब्दकोशलगायतका पुस्तक त लेखे नै, चारवटा इतिहासका पुस्तक पनि नेपाली समाजलाई पस्केका छन् । उनले अरू जेजति महत्वपूर्ण ग्रन्थ लेखे पनि उनको मूल प्राज्ञिक पहिचान भने इतिहास अन्वेषणमै रहेको छ । उनको किरात इतिहास (सन् १९४८) छापिएको चार वर्षपछि नै दोस्रो संस्करण छापिएको देखिन्छ । यसबाट पनि त्यो वेला यो पुस्तकको लोकप्रियताबारे अनुमान गर्न सकिन्छ । 

यो पुस्तकपछि पनि नेपाली इतिहास लेखनमा उनले आफ्नो कलम चलाइरहे । चेम्जोङकै साधनाबाट नेपाली समाजले प्राप्त गरेको ‘किरात साहित्यको इतिहास’ (सन् १९५६), ‘हिस्ट्री एन्ड कल्चर अफ किरात पिपल’ (सन् १९६७), ‘किरातकालीन विजयपुरको संक्षिप्त इतिहास’ (सन् १९७४) के नेपालको प्राज्ञिक सम्पत्ति होइनन् ? उनले किरातीहरूको इतिहासमा जोड दिएका छन् । किरातीहरू नेपाली होइनन् ? उनले लेखेको इतिहास नेपाली इतिहास होइन ? उनले लेखेको इतिहास डा. गौतमको ‘इतिहास लेखनको इतिहास’ (२०५१) मा चर्चा नहुनुको कारण के हुन सक्छ ?


चिने पनि नचिनेजस्तो : चेम्जोङको इतिहास लेखनको आधार नेपालका राजा महाराजाहरूको जयगान होइन । उनले जित्नेहरूको भन्दा हार्नेहरूको इतिहास लेखनलाई जोड दिएका छन् । यदि उनले आफ्नो प्राज्ञिक साधनामा ज्ञान र पसिना नबगाएको भए, खासगरी पूर्वी नेपालमा रहेका आदिवासीहरू खम्बू, लिम्बू, लेप्चा, कोेचे, मेचेलगायतको इतिहास यतिखेर माटोमा मिलिसक्थ्यो ।

उनले आफ्नो इतिहास लेखनमा तामाङ र मगरहरूलाई समेत समेट्ने प्रयास गरेका छन् । भोल्तेयरको इतिहास दर्शनमा आधारित एउटा भनाइ महत्वपूर्ण छ । उनी भन्छन्, ‘विगतका कुराहरूलाई जम्मा पारेर रोचक पाराले प्रस्तुत गर्नु मात्र इतिहास होइन, इतिहास लेखन त भविष्य हेर्ने आँखा निर्माण गर्नु हो ।’ इमानसिंह चेम्जोङजस्ता विद्वान् नजन्मेको भए यहाँका आदिवासीहरू आज दृष्टिविहिन हुन्थे ।

पहिचान र स्वयंको खोजी गर्दा इतिहास हराउनुजस्तो थकथकी अरू हुन केही सक्दैन । दार्जिलिङ तथा सिक्किममा रहेर इतिहासको खोजी गरिरहेका उनी नेपालका लिम्बू अगुवाहरूको आह्वानमा नेपाल आए, ००८ सालतिर । लिम्बुवानका कुनाकाप्चामा पुगेर ऐतिहासिक सामग्रीहरूको जोहो गरेर उनले नेपाली इतिहासको भण्डार भरे । नेपालका प्राज्ञिक जगत्का लागि इमानसिंह चेम्जोङ अपरिचित नाम नहुनुपर्ने हो ।

चेम्जोङकै साधनाबाट नेपाली समाजले प्राप्त गरेको ‘किरात साहित्यको इतिहास’ (सन् १९५६), ‘हिस्ट्री एन्ड कल्चर अफ किरात पिपल’ (सन् १९६७), ‘किरातकालीन विजयपुरको संक्षिप्त इतिहास’ (सन् १९७४) के नेपालको प्राज्ञिक सम्पत्ति होइनन् ? 
 

चेम्जोङले लन्डनको इन्डिया अफिस लाइब्रेरी पुगी त्यहाँ ब्राइन हड्सनले नेपालबाट संकलन गरी लगेको कागजको गहन अध्ययन गरे, र नउघ्रिएका कैयौँ नेपाली इतिहासका पाटाहरूलाई जनसमक्ष ल्याए । उनले ०१८ देखि ०३२ सालसम्म त्रिभुवन विश्वविद्यालयको हालको ‘सिनास’को पूर्वरूप ‘दी इन्स्टिच्युट अफ नेपाल एन्ड एसियन स्टडिज’ (इनास)मा किरात भाषा तथा संस्कृति विशेषज्ञका रूपमा अध्ययन अनुसन्धान गरेका थिए ।

उनी र उनको प्राज्ञिक कर्मप्रति इतिहासकार डा. राजेश गौतमहरू पक्कै पनि अपरिचित नहुनुपर्ने हो । तर, त्रिभुवन विश्वविद्यालयकै प्राध्यापक डा. गौतमको ‘इतिहास लेखनको इतिहास’ हेर्दा उनले चेम्जोङलाई चिने पनि नचिनेको, देखे पनि नदेखेको जस्तो गरिटोपलेझैँ लाग्छ । यो कि उनमा चेम्जोङका इतिहासका पुस्तकको अध्ययनको कमजोरी हो वा उनीप्रतिको प्राज्ञिक पूर्वाग्रह ।

शिर उठाउनी : नेपालका आदिवासीहरू यहाँको प्राज्ञिक क्षेत्रमा अल्पसंख्यामा छन्, त्यसैले उनीहरू अल्पमतमा छन् । बहुमत पक्ष उनीहरूको विचार सुन्न हत्तपत्त चाहँदैनन् । त्यसैले चेम्जोङजस्तै उनीहरू प्राज्ञिक कोपभाजनमा पर्दै आएका छन् । प्राज्ञिक क्षेत्र विचार निर्माणको थलो पनि हो । त्यही थलोमा मूल नै सुकाइदिएपछि विचारको प्रवाह कसरी बग्न सक्छ ? लिम्बू मुन्धुमी परम्परामा एउटा अनुष्ठान विधि छ । त्यसलाई ‘चोत्लुङ’ भनिन्छ ।

यो भनेको कहीँ कतै उनीहरूको शिर ढलेको छ भने त्यो शिरको उठान गर्नु । वर्षौंदेखि नेपालको बहुमत पक्ष वा कथित मूलधारको प्राज्ञिक जगत्बाट इतिहासकार चेम्जोङको शिर ढालिएकोढालिएकै छ । तर, अहिलेका सचेत लिम्बूहरूले उनको चोत्लुङ गरेकोगर्‍यै छन् ।

पूर्वी नेपाल र उपत्यकामा मात्र होइन, लिम्बू पुगेका विभिन्न देशमा हरेक वर्षको जनवरी १ मा उनको जन्मजयन्ती मनाइनु यसको प्रमाण हो । लिम्बूहरूकै पहलमा उनको स्मृतिमा प्रतिष्ठानको निर्माण र पुरस्कारहरूको स्थापना भएका छन् । ललितपुरको चुम्लुङ हिम, पूर्वको प्रसिद्ध पर्यटकीय स्थल भेडेटार, मोरङको पथरी, पाँचथरको फाक्तेप, इलामको हात्तीलेदालगायतका ठाउँमा ठडिएको चेम्जोङको सालिकले त्यही चोत्लुङ प्रतिबिम्बित गर्छ ।

यद्यपि, चेम्जोङको प्राज्ञिक कर्मका कमीकमजोरीहरू निफनेर फ्याँक्नु पनि उत्तिकै जरुरी हुन्छ । उनी लिम्बूहरूको विभूति पक्कै हुन् । विभूतिका कमीकमजोरी केलाउनुले उनीप्रतिको सच्चा सम्मान ठहर्छ । बौद्धिक क्षेत्रमा विभूतिलाई चलाउनै हुन्न भन्नुजस्तो उपद्रो अरू केही हुन सक्दैन । सत्य बोल्ने हो भने शत्रुको गुण पनि भन्न सक्नुपर्छ, गुरुको दोष पनि औँल्याउन सक्नुपर्छ ।

प्रसिद्ध विद्वान् प्लेटो जहिल्यै आफ्ना चेलाहरूलाई भन्ने गर्थे, ‘इतिहासलाई हेर, इतिहासलाई हेर !’ उनका चेलामध्ये कारणवादी दर्शनका व्याख्याता एरिस्टोटलले आफ्नै गुरु प्लेटोमाथि प्रश्न गरे, ‘गुरु, तपाईं इतिहासलाई जोड दिनुहुन्छ, भविष्यलाई चाहिँ के गर्ने नि ? भविष्य निर्धारणको पाटो पनि उत्तिकै महत्वपूर्ण छ ।’ इमानसिंह चेम्जोङका कमीकमजोरी भए त्यसमाथि प्रश्न उठाएर उत्तरहरूको खोजी गर्नेजस्तो महत्वपूर्ण कार्य उनीप्रति समर्पित ज्ञान–यात्राका लागि अरू केही हुन सक्दैन ।

छुटाउनुभयो की ?