१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८२ जेठ १० शनिबार
  • Saturday, 24 May, 2025
नयाँ पत्रिका काठमाडाैं
२o८२ जेठ १० शनिबार ११:४१:oo
Read Time : > 2 मिनेट
साहित्य प्रिन्ट संस्करण

लेखक तथा अनुसन्धाता राजकुमार दिक्पाललाई मन परेका सात पुस्तक

Read Time : > 2 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८२ जेठ १० शनिबार ११:४१:oo

अक्षर चिन्न थालेदेखि नै बुझे पनि नबुझे पनि अक्षर देख्यो कि पढिहाल्थेँ । पञ्चायतकालमा व्यवस्था परिवर्तनका लागि लागेका दाइहरूले धनकुटा नगरको हाम्रो घरलाई सांस्कृतिक अभ्यासको केन्द्र बनाएकाले घरैमा प्रशस्तै पुस्तक र पत्रपत्रिका जम्मा हुने गर्थ्यो । यसको प्रभावस्वरूप सानैदेखि ममा पढ्ने बानी बस्यो । अंग्रेजी निबन्धका पिता फ्रान्सिस बेकन भन्छन्, ‘ज्ञान नै शक्ति हो ।’ म समय कटानीका लागि नभई ज्ञान प्राप्तिका खातिर पढ्ने गर्छु । पछिल्लो समय सीमान्तकृतको इतिहास अध्ययन मेरो अभीष्ट बनेको छ । त्यसैले सीमान्तकृतको इतिहास अन्वेषणका लागि उपयुक्त सन्दर्भ सामग्री पढ्न मरिहत्ते गरिरहेको छु ।

मुजिङ्ना खेयङ्ना मुन्धुम : बैरागी काइँला नजन्मिएको भए लिम्बू मुन्धुमको अवस्था के हुन्थ्यो होला ? कल्पना गर्न गाह्रो छ । मुन्धुम आफैँ लोक काव्य हो, त्यसमा पनि एक सिद्धहस्त कविको हातले मुन्धुम लेखेपछि पढ्नमा पनि सरस हुँदो रहेछ । पाँच दशकदेखि काइँलाले समग्र मुन्धुममा आफूलाई समर्पण गरेर विषयगत केस्रा केलाएकाले मुन्धुम बुझ्न साधारण पाठकलाई साह्रै सजिलो भइको छ । उनका मुन्धुममध्ये ‘मुजिङ्ना खेयङ्ना मुन्धुम’ मैले स्वाद मानेर पढेको पुस्तक हो । मुजिङ्ना खेयङ्नालाई लिम्बूहरू आदिमाता मान्छन् । उमेर पुगेपछि उनले अज्ञात पुरुषको गर्भधारण गर्छिन् । मुन्धुमअनुसार वायु वा वर्षाबाट उनले गर्भधारण गरेपछि मानव सृष्टि सुरु हुन्छ । नारीवादी दृष्टिकोणबाट पनि यो मुन्धुमबाट प्रशस्तै दार्शनिक विमर्श चलाउन सकिन्छ ।

धुपी, सल्ला र लालीगुराँसको फेदमा : किशोरवय पार गर्दै गरेका वेला एकै श्वासमा यो पुस्तक पढिसिध्याएको थिएँ । पारिजातको बाल्यकालबारे जान्न मात्रै होइन, उनले भोगेको तत्कालीन समाज र चेतना जागरणको आधार थाहा पाउन पनि यो पुस्तक पढ्नैपर्छ । परिजातमाथि विद्यावारिधि गर्ने प्राडा. बद्रीविशाल पोखरेलले पारिजात पढेको दार्जिलिङको नेपाली गल्र्स सेकेन्डरी स्कुलमा पुगी पत्ता लगाएअनुसार उनी ३० फागुन १९९० मा जन्मेकी हुन् । यसअनुसार उनी १७ वर्षको हुँदा मात्रै नेपालबाट निरंकुश राणातन्त्र हट्यो । पारिजातको जन्म दार्जिलिङमा भएकैले नेपालमा नेपाली साहित्यले एउटा अमर रत्न पायो । नेपालमा जन्मेकी भए त उनी राणाको दरबारमा सुसारे बन्न बाध्य हुने थिइन् कि !

नेपालको महाभारत : इतिहास दर्शनले भन्छ, ‘तीरलाई जति टाढा पुर्‍याउने हो, उतिनै बढी पछाडि खिच्नुपर्छ ।’ वर्तमानको लेखाजोखा गर्दै भविष्य देख्ने दूरदृष्टिका लागि इतिहास अध्ययन गर्नैपर्छ । मैले इतिहासकार ज्ञानमणि नेपालको यस पुस्तकको कुनाकाप्चा चाहारेको छु । नेपालको राजनीतिमा दुर्गन्ध आजदेखि चलेको होइन । पुस्तकमा राजा प्रतापसिंह शाहको समयदेखि भएको दरबारिया षड्यन्त्रको प्रत्येक घटनालाई इतिहासकार नेपालले प्रामाणिक रूपमा दृश्यांकन गरेका छन् । नेपालको रक्तरञ्जित राजनीतिक इतिहासबाट पाठ सिक्न नचाहने नेतृत्वले देश हाँक्ने जिम्मेवारी पाउँदा त्यसको कष्टको भार भने सर्वसाधारण नेपालीले उठाउनुपरेको छ । नेतृत्वलाई खबरदारी गर्न पनि यो पुस्तक पढ्नैपर्छ ।

लिम्बूवानको ऐतिहासिक दस्तावेज सङ्ग्रह : यो पुस्तक मैले पाण्डुलिपिमै पढ्ने अवसर पाएँ । लेखक भगिराज इङ्नामबाट मैले यस्तो अवसर पाएको हुँ । पूर्वको सीमान्तमा रहेका लिम्बूहरू ऐतिहासिक स्रोतमा आत्मनिर्भर छन् भन्ने प्रमाण हो, यो पुस्तक । लिम्बूहरूसम्बन्धी यति मोटो पुस्तक लेखिसकेका इङ्नामको यत्तिकै मोटो ‘लिम्बूवानको अभिलेख सङ्ग्रह’ पनि आइसकेको छ । मिति लेखिएको तत्कालीन कागजातलाई इतिहासको प्रामाणिक स्रोत मानिन्छ । इतिहासको सिद्धान्तलाई इमानदारितापूर्वक आत्मसात् गरेर इतिहास खोज्नेहरूका लागि यो पुस्तक अत्यन्तै उपयोगी छ । इतिहास केवल राजा महाराजाको गाथा हो भन्ने बुझाइलाई खण्डन गरेर लिम्बूजस्ता सीमान्तकृत समुदायको इतिहास लेखनका लागि मैले पुस्तकको प्रत्येक पानामा आँखा दौडाएको छु ।

जङ्क्सन पिपलबोट : कुनै पनि विषयलाई केवल चर्मचक्षुले हेर्‍यौँ भने त्यो महत्वहीन हुन सक्छ । त्यही महत्वहीन ठानिएको विषयलाई आत्मचुक्षुले हेर्‍यौँ भने त्यहाँ अथाह दूरगामी महत्वका पाटा पाउन सकिन्छ । कविता र कथा विधामा रत्तिएका र पेसाले सञ्चारकर्मी प्रकाश गुरागाईँको आत्मचक्षुले नयाँ सडकको पीपलबोटलाई केवल एउटा रुख मात्रै देखेन, त्यस परिसरभित्र अनेकौँ राजनीतिक र साहित्यिक आयाम पनि देख्यो । त्यही पीपलबोट परिसरले देशमा चेतनाको बीजारोपणका लागि उहापोह मच्चाउने ठुलो डबलीको काम पनि गर्‍यो । यस पुस्तकमा पढ्न पाइन्छ, नेपाली साहित्यको बेग्लै पाटो । यो पुस्तक पढेपछि पो आफ्नै छिमेकी दिदी डा. दुर्गा पोखरेलले पनि बुटपालिस गरेर पञ्चायती व्यवस्थाको जग हल्लाएको थाहा पाएँ ।

पानी पतिया : म आफू भयानक युद्ध लड्ने लाहुरेको छोरा हुँ । बुबाबाट सानै उमेरमा मैले युद्धका आङै सिरिंग हुने एकादेशको कथाजस्ता लाग्ने तर सत्य घटना सुन्ने अवसर पाएँ । मैले किशोर वयका काङमाङ नरेशलाई धरानमा भेट्दा उनी गोलीका पर्राहरूजस्तै लाग्ने कविता वाचन गर्दै गरेको भेटिन्थे । तर, पछि उनी आफैँ कलम होइन, रहर वा बाध्यताले बन्दुकै बोक्न लाहुर गएछन् । लाहुरमा खाएको गोताले माझिएका उनी अहिले युद्धकविको रूपमा परिचित छन् । उनको कृति ‘पानी पतिया’ले म आफैँ लाहुरेको छोरालाई छुनसम्म छोयो । लाहुर पुगेपछि सांस्कृतिक अतिक्रमणको चपेटामा पर्न बाध्य नेपाली आदिवासीको व्यथा यस पुस्तकमा पढ्न पाइन्छ ।

दर्ज्यु संलाप : पत्रकारितामा सक्रिय रहदाँसम्म म आवाजविहीनहरूको आवाज प्रकाशमा ल्याउने प्रयास गर्थें । मलाई कसैको बुई चढेर अग्लिएको मान्छेभन्दा आफ्नै गोडाको भरले उभिएकाहरू महान् लाग्छन् । गौतम बुद्ध भन्छन्, ‘अप्पो दिपो भवः ।’ भुइँमान्छेको विषय निबन्धकार तथा समालोचक कुमारी लामाको लेखकीय समर्पण हो । यस्तो विषय लेख्ने भएकाले उनी मनपर्ने लेखक हुन् । ‘उज्यालो अन्धकार’पछि उनको निबन्ध पढ्न पल्केको हुँ । घटना वा विषयको बेलिविस्तार लगाउने शब्दभण्डार मात्रै होइन निबन्ध, यो त कला र विचारको सिर्जनाको सिलसिला पनि हो । यस्तो सिलसिला मिलाउँदै लेखिएको उनको निबन्ध कृति मैले मन पराएर पढेको सबैभन्दा पछिल्लो पुस्तक हो ।