१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख ३० आइतबार
  • Sunday, 12 May, 2024
२o८१ बैशाख ३० आइतबार १o:३८:oo
Read Time : > 2 मिनेट
ad
ad
सप्तरंग प्रिन्ट संस्करण

अधबैँसेको ‘प्रवास’अनुभव

पुस्तक समीक्षा

Read Time : > 2 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख ३० आइतबार १o:३८:oo

अर्थशास्त्रले भन्छ– मानिसका इच्छा चाहनाहरू असीमित हुन्छन्, तर स्रोत सीमित हुन्छ । सीमित स्रोतले आफ्ना चाहना पूर्ति गर्न नसकेपछि मानिसलाई अभाव हुन्छ । यस्तो अभाव पूर्तिका लागि मानिस विभिन्न ठाउँमा भौँतारिन्छ । आफ्नो समाजबाट त्यो पूर्ति हुन सकेन भने बाहिरको समाज, आफ्नो मुलुकबाट आवश्यकता पूर्ति भएन भने अर्को मुलुकसम्म यात्रा गर्न विवश हुन्छ । आफ्नो र परिवारको खुसीका लागि वित्तीय स्रोत जुटाउन विदेश भौँतारिएको विकासशील मुलुकको एक अधबैँसे पात्रको जीवन भोगाइको दस्ताबेज बनेको छ– सुमित शर्मा समीरले लेखेको उपन्यास ‘प्रवास’ ।

पाकिस्तानको एक मध्यमवर्गी इन्जिनियर अलिकथाको मूल पात्र हो । आफ्नो कमाइबाट परिवारको आवश्यकता पूर्ति हुन गाह्रो भएपछि ऊ कामको खोजीमा क्यानडा जान्छ, श्रीमती र छोरीलाई पाकिस्तानमै छाडेर । पाकिस्तानको ८ वर्षको बसाइमा उसको एक भारतीय युवतीसँग प्रेम र ‘लिभिङ टुगेदर’को सम्बन्ध हुन्छ । तर, पारिवारिक दायित्वबोधले ऊ पाकिस्तान फर्कन्छ । तर, उसकी श्रीमती उसलाई छाडेर आफ्नो लामो समयका प्रेमीसँगै अमेरिका जान्छिन् । उपन्यासको ‘स्टोरी लाइन’ यत्ति नै हो । तर, विभिन्न उतारचढाव, द्वन्द्व, उपकथाहरू जोडिँदा उपन्यास आकर्षक बनेको छ । 

कथामा मूलतः पाकिस्तान र क्यानडाको परिवेश प्रस्तुत गरिएको छ । खासगरी, पाकिस्तानको परिवेश, त्यहाँको मध्यमवर्गको जीवनशैली, रहनसहन र आवश्यकताहरू धेरै हदसम्म नेपालसँग मिल्छन् । कामको खोजीमा विदेश यात्रामा निस्कने शैली पनि नेपालीहरूसँग मिल्दोजुल्दो नै छ । त्यसैले उपन्यास पढ्दा नेपाली परिवेश नै अनुभूत हुन्छ । 
कथाको पात्र अलिको मनोवादबाट उपन्यासको सुरुवात हुन्छ । आधाआधी उपन्यास त संवाद होइन, मनोवादले नै भरिएको छ ।

१५ वर्ष कान्छी श्रीमतीसँग उसको सम्बन्ध खासै राम्रो छैन, वादविवाद भइरहन्छ । ऊ श्रीमतीसँग पनि संवाद गरी समस्या समाधानमा अग्रसर हुँदैन, मनोवादमै रमाएर द्वन्द्व बढाउन उद्यत छ । खासगरी, आर्थिक रूपमा समस्या भएपछि श्रीमती जाराले अचानक उसलाई एक्लै क्यानडा जान प्रस्ताव गर्छिन् । क्यानडा जाने कि नजाने भन्ने विषयमा श्रीमान्–श्रीमतीबीच बहस हुन्छ– पाकिस्तान र क्यानडाको समाजबीचको तुलना, धर्म–संस्कृतिका बारेमा दार्शनिक बहस गर्छन् । एक ठाउँमा अलि भन्छन्, ‘कस्तो विवश र लाचार छ वर्तमान सभ्यता, ऊ आफैँले बनाएको मापदण्डलाई भेट्न सक्दैन ।’ 

क्यानडामा अलिलाई साथी अहिलले केही दिनको आतिथ्य प्रदान गर्छन् । त्यसबीचमा अहिल र अलिबीचमा पुनःदार्शनिक बातचित हुन्छन् । क्यानडामा पुगेपछि अलि र उसका साथीहरूको माध्यमबाट क्यानडामा जसोतजो जीवन चलाइरहेका एसियाली आप्रवासीहरूको अवस्था र मनोदशा पनि लेखकले चित्रण गरेका छन् । क्यानडाको परिवार र समाजसँग एकाकार हुन नसकेको एकांकी जीवन, वृद्धवृद्धाको कमजोर अवस्थालगायत विषयलाई उनले देखाएका छन् । 

लेखकले अधबैँसे उमेरका पात्रहरू खडा गरेर परिवार, प्रेम, विवाह एवं विवाहेत्तर सम्बन्धका विभिन्न आयामहरू प्रस्फुटित गरेका छन् । तर, ‘ब्याकग्राउन्ड, राइजिङ एक्सन, क्लाइमेक्स, फलिङ एक्सन एवं रिजोलुसनजस्ता कथानकमा हुनुपर्ने तत्वहरूमा अझै थप काम गर्न सकिने ठाउँ छाडेका छन् । 

पाकिस्तानमा परिवारका साथ हुँदा पनि एक्लो महसुस गरिरहेको अलि क्यानडा गएपछि स्वाभाविक भौतिक रूपमा नै एक्लिन्छ । त्यो एक्लोपनले उसलाई रियासँग नजिक बनाउँछ– रिया एक विवाहित भारतीय युवती, जो भारतमा रहेका परिवारको आवश्यकता पूर्ति गर्न एक्लै क्यानडामा संघर्ष गरिरहेकी छिन् ।

नितान्त एक्ला उनीहरू नजिकिँदै गएर लिभिङ टुगेदरसम्मको सम्बन्धमा प्रवेश गर्छन् । तर, त्यसबारे साथीभाइबीच चर्चाको विषय बन्दै गएपछि अलिले सम्बन्धलाई टुंग्याउन खोज्छ र अन्तिममा सहमतिमै उनीहरू छुट्टिन्छन् । तर, त्यसबीचमा उनीहरूबीच प्रेम, विवाह र विवाहेत्तर सम्बन्धमा गम्भीर र लामालामा कुराकानी पनि रोचक नै छन् । 

केही वर्ष क्यानडा बसेर अलि पाकिस्तान फर्कन्छ । आफूलाई चाहिने पैसा कमाएको ऊ अब शान्तिसँग परिवारसँग बस्न चाहन्छ । तर, पैसाले मात्रै चाहना पूरा गर्न कहाँ सकिँदो रहेछ र ? ऊ फर्किएको केही दिनमै श्रीमती जारा उनको विद्यालयदेखिको प्रेमी सबिरसँग अमेरिका प्रस्थान गर्छिन्– उसलाई विछोडपत्र छाडेर । त्यसपछि ऊ भाँचिन्छ– परिवारबारे ऊभित्र गडेको बुझाइ तोडिन्छ । त्यसपछि ऊ आफ्नो अपांग भाइलाई स्याहारेर बस्छ । 

कथा यतिमै सिद्धिनुपर्ने हो । तर, लेखकले उपन्यासलाई वियोगान्त हुन दिएका छैनन् । छोरीको विवाहमा भन्दै अलिलाई फेरि पनि अमेरिका पठाएका छन्, जहाँ पूर्वश्रीमती जारालाई उसको प्रेमी सबिरले पनि छाडेको उसले थाहा पाउँछ । जारालाई अमेरिकामै छाडेर अलि पाकिस्तान फर्कन्छ– उनीहरूबीच पुनःमिलनको संकेत पनि छाड्छ । 

लेखकले अधबैँसे उमेरका पात्रहरू खडा गरेर परिवार, प्रेम, विवाह एवं विवाहेत्तर सम्बन्धका विभिन्न आयामहरू प्रस्फुटित गरेका छन् । तर, ‘ब्याकग्राउन्ड, राइजिङ एक्सन, क्लाइमेक्स, फलिङ एक्सन एवं रिजोलुसनजस्ता कथानकमा हुनुपर्ने तत्वहरूमा अझै थप काम गर्न सकिने ठाउँ उपन्यासकारले छाडेका छन् । आरोह, अवरोह तथा ‘टर्न एन्ड ट्विस्ट’मा थप काम गर्न सकेको भए उपान्यास अझै सशक्त हुन सक्थ्यो । मनोवाद एवम् लामालामा संवादका ठाउँमा घटनाक्रम र छोटा संवादको प्रयोग गरेको भए शैली चुस्त बन्ने थियो ।

तर, ५०–६० वर्ष उमेरको पात्रलाई केन्द्रबिन्दुमा राखेर सामाजिक उपन्यास कमै लेखिएका छन् । त्यो उमेरका मानिसको समस्या, मनोदशा, जीवन र जगत्प्रतिको बुझाइलाई उपन्यासले सशक्त ढंगले प्रस्तुत गरेको छ । उपन्यासको अन्त्यतिर यस्तो कविता प्रस्तुत गरेका छन् लेखकले– 
आजको खण्डित मानिस आफ्नो सम्पूर्ण अस्तित्व खोज्दै छ
आफ्नो नियति खोज्दै छ 
आफ्नो भाग्य खोज्दै छ 
आफ्नो परिचय खोज्दै छ 
आफ्नो गन्तव्य खोज्दै छ 
अनि आफ्नो सम्पूर्ण पुनरुत्थान खोज्दै छ 

ad
ad